शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय

टीका र जमरा थाप्दा पर्यटक दङ्ग

शनिबार, २६ असोज २०८१, १५ : २४
शनिबार, २६ असोज २०८१

चितवन । चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका बाह्य पर्यटकहरूले दसैँ मनाएका छन् । नेपालीहरूको महान् चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै बाह्य पर्यटकहरूले सौराहाका विभिन्न होटलमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन् ।

सौराहास्थित सपना भिलेजका प्रबन्ध निर्देशक ध्रुव गिरीले बाह्य पर्यटकहरूलाई टीका र जमरा लगाइदिए । साथै उनले पर्यटकको सेवाका लागि दसैँका दिन पनि होटल खुला राखेको बताए । पालैपालो टीका र जमरा लगाउँदा बाह्य पर्यटकहरू दङ्ग भएका छन् । फ्रान्स, जर्मन र नेदरल्याण्डका गरी २६ जनाले यहाँ दसैँको टीका र जमरा लगाए । 

मोटरसाइकलमा नेपालका विभिन्न ठाउँमा घुम्दै बाह्य पर्यटक दुई दिन अघि मात्र यहाँ आएका थिए । “नेपाली नागरिक आत्मीय, मित्रवत् छन्, नेपाल सुन्दर छ”, फ्रान्सेली नागरिक ह्यारी टोमाले भने, “नेपालीहरूका साथमा दसैँ मनाउन पाउँदा खुसी छु ।”

नेदरल्याण्डस्देखि सौराहा घुम्न आउनुभएका ३६ वर्षीय पर्यटक जोनी राइट यस पटक टीका र जमरासँगै नेपालीहरूको पर्व दसैँ मनाउन पाउँदा औधी खुसी देखिन्थे । “मैले अरू साथी नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दसैँ  मनाउन पाएँ”, उनले भने ।

अर्की बाह्य पर्यटक २४ वर्षीया एरिका पनि निकै हर्षित देखिइन् । “विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु”, उनले भनिन् । 

चितवनको सौराहामा यतिबेला पर्यटकीय याम सुरु भइसकेको छ । यहाँ आउने बाह्य पर्यटकलाई हरेक होटलले दसैँ मनाउने परम्परा बनाएका छन् । “हामीले विगतमा पनि यसरी पर्यटकहरूलाई दसैँमा सँगै राखेर मनाएका थियौँ”, होटल सञ्चालक गिरीले भने । 

पछिल्लो दुई दिनयता यहाँ तेस्रो मुलुकका झण्डै ३५ प्रतिशत पर्यटक सौराहा घुम्न आएका क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले भने । पर्यटकलाई यहाँका वन्यजन्तुले मात्र तान्दैन, दसैँ, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप