शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय
ऊर्जा

लघु जलविद्युत‍्बाट उत्पादित विद्युत् धमाधम राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै

शनिबार, २६ असोज २०८१, १३ : ४५
शनिबार, २६ असोज २०८१

बुटवल । पाल्पाको माथागढी गाउँपालिका–५, हात्तीलुङ्गमा २०६४ सालमा स्थापना भएको भुस्सा तेस्रो लघु जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै छ । भुस्सा तेस्रो लघु जलविद्युत आयोजनाले माथागढी गाउँपालिका–५ मा रहेका ५२० घरधुरीमा खपत भएर बाँकी रहेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरेको हो ।

उक्त आयोजनाको खल्लाघाटमा रहेको पावर हाउसबाट ६८ किलोवाट विद्युत् उत्पादन भएको छ । भुस्सा लघु जलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर बाह्रघरेले उपभोक्ताले प्रयोग गरेर बाँकी रहेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने अन्तिम तयारी भएको रातोपाटीलाई बताए ।

उनले पाल्पाको माथागढी– ५ रहेका उपभोक्ताले ३०/३५ किलोवाट विद्युत् प्रयोग गर्ने र बाँकी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुने जानकारी दिए ।

गुल्मीको मुसिकोट नगरपालिका– ७ स्थित दराम खोला लघु जलविद्युत आयोजना पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै छ । दराम खोलाको पानीबाट ८५ किलोवाट विद्युत् उत्पादन भएको छ ।

मुसिकोटका ८ सय घरधुरीले प्रयोग गरेर बाँकी रहेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी रहेको दराम खोला जलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष भुवन केसीले बताए ।

गुल्मीको मुसिकोट नगरपालिका कै परोपकार सहकारीबाट सञ्चालन भएको परोपकार लघु जलविद्युत आयोजना पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै छ ।

लुम्बिनी प्रदेश ऊर्जा शाखाका वरिष्ठ इन्जिनियर झनक थापाले भुस्सा, परोपकार, दराम खोलाजस्तै लुम्बिनी प्रदेशका १७ वटा लघु जलविद्युत आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकिने अध्ययनबाट देखिएको रातोपाटीलाई बताए ।

उनले मन्त्रालयले केही समय अगाडि गरेको अध्ययन अनुसार राष्ट्रिय प्रसारण लाइनबाट नजिक, कम्तीमा १० किलोवाटभन्दा धेरै उत्पादन क्षमता, उपभोक्ता समितिको रुचि आदि हेरेर १७ वटा लघु जलविद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकिने निष्कर्ष आएको बताए । त्यसमध्ये पाल्पाको भुस्सा तेस्रो आयोजना जडानको अन्तिम चरणमा रहेको र अन्य पनि छिटै जोडिने उनले खुलाए ।

  • विद्युत् उपभोक्ता समितिलाई के फाइदा ?

लुम्बिनी प्रदेशमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत्को सेवा पाउन नसकेका उपभोक्ताहरूले विभिन्न खोलाबाट लघु जलविद्युत निकालेका छन् । प्रदेशका पहाडी जिल्लामा ६६ वटा लघु जलविद्युत आयोजना सञ्चालनमा छन् । ती आयोजना उपभोक्ता समिति र केही सहकारीबाट सञ्चालन भएका हुन् ।

६६ वटा लघु जलविद्युत आयोजनाबाट २२६८ किलोवाट विद्युत् उत्पादन भएको नेपाल नविकरणीय ऊर्जा परियोजनाका इन्जिनियर रविन शर्माले रातोपाटीलाई बताए ।

राष्ट्रिय प्रसारण लाइनमा जडान गरेपछि विद्युत् प्राधिकरणले उपभोक्ता समितिलाई खपत भएको विद्युत्को रकम दिने गर्दछ । जसबाट सहकारी र उपभोक्ता समितिको पनि आम्दानी वृद्धि गर्ने उद्देश्यले राष्ट्रिय प्रसारण लाइनमा जोड्न थालिएको इन्जिनियर शर्माले बताए ।

अर्कोतिर यहाँ सबै लघु विद्युत् आयोजना पहाडी जिल्लामा छन्, जहाँ प्रायः साँझमा मात्रै बत्ती बाल्न खपत हुन्छ । अन्य समयको विद्युत् त्यतिकै खेर भएको हुन्छ । यो अभियानले चौबीसै घण्टा उत्पादन भएको ऊर्जालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने काम हुन्छ ।

राष्ट्रिय प्रसारण लाइनमा जोडिन लागेको भुस्सा तेस्रो जलविद्युत आयोजनाको क्षमता ६८ किलोवाट भए पनि अहिले ३०/३५ किलोवाट मात्रै स्थानीय उपभोक्ताले प्रयोग गरेका छन् । बाँकी ऊर्जा विद्युत् प्राधिकरणलाई बिक्री गरेर मासिक २ लाख रुपैयाँसम्म थप आम्दानी हुने अनुमान गरिएको उपभोक्ता समितिका अध्यक्ष वीरबहादुरले बताए ।

  • कुन जिल्लामा के छ अवस्था ?

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा प्रदेशको विद्युत् अवस्था अध्ययन गरेको थियो । त्यो बेलाभन्दा आर्थिक वर्ष २०८०/८१ मा नागरिकको विद्युत् उपभोग गर्ने पहुँच वृद्धि भएको देखाएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा गुल्मी जिल्लामा ८७.४० प्रतिशत नागरिकमा विद्युत्को पहुँच रहेकोका आर्थिक वर्ष २०८०/८१ मा ९९.४२ प्रतिशत पुगेको छ । अर्घाखाँची जिल्लामा ९०.१८ रहेको विद्युत् पहुँच बढेर ९९.७५ प्रतिशत पुगेको छ ।

प्युठान जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा ८६.३२ प्रतिशत नागरिकमा विद्युत्को पहुँच पुगेकोमा २०८०/८१ मा ९५.७५ प्रतिशत पुगेको छ ।

यस्तै, रोल्पा जिल्लामा ३९.४० प्रतिशत रहेकोमा पछिल्लो समय ७२.८२ प्रतिशत पुगेको छ । रुकुम जिल्लामा २०७६/७७ मा १०.९१ प्रतिशतमा विद्युत्को पहुँच रहेकोमा २०८०/८१ मा २५.५७ प्रतिशत पुगेको छ । प्रदेशमा सबैभन्दा कम विद्युत् पुगेको जिल्ला रुकुम हो । त्यसपछि रोल्पा हो ।

रुपन्देही र नवलपरासीमा शत प्रतिशत जनसङ्ख्यामा विद्युत् पुगेको छ । पाल्पा जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा ८९.९० प्रतिशतमा विद्युत्को पहुँच रहेकोमा २०८०/८१ मा ९३.४९ प्रतिशत पुगेको छ । बाँके जिल्लामा ७७.२४ प्रतिशत रहेकामा अहिले ९९.४२ प्रतिशत पुगेको छ । बर्दिया जिल्लामा ९४.४० प्रतिशतबाट वृद्धि भएर ९९.९५ प्रतिशत विद्युत् पहुँच पुगेको छ ।

दाङ जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा ७९.८६ प्रतिशत रहेकोमा २०८०/८१ मा ९७.९८ प्रतिशतमा पहुँच पुगेको छ । कपिलवस्तु जिल्लामा ८१.१२ रहेकोमा ९७.९५ प्रतिशत पुगेको छ । यस्तै रुपन्देही जिल्लामा ७७ प्रतिशतबाट वृद्धि भएर १०० प्रतिशत विद्युत् पहुँच पुगेको छ । नवलपरासी जिल्लामा ८५.०८ प्रतिशतबाट वृद्धि भएर १०० प्रतिशत विद्युत् पहुँच पुगेको छ ।

  • सोलार घरबाट हट्न थाले, उद्योगमा जोडिँदै

कुनै समय गुल्मी, अर्घाखाँची, पाल्पा लगायतका जिल्लामा घरको छानोमा सोलार पावरको पाता राखेर साँझमा बत्ती बाल्ने गरिन्थ्यो । पछिल्लो समय विद्युत् घर घरमा पुगेपछि सोलार हट्न थालेका छन् ।

अहिले सोलार प्रयोग गरेर उद्योग सञ्चालन गर्न थालिएको छ । विद्युत् प्राधिकरणलाई प्रतियुनिट ८ रुपैयाँको दरले तिर्ने रकमभन्दा सोलार जडान गरेर उद्योग सञ्चालन गर्दा कम खर्च हुने भएपछि उद्योगीहरू यतातिर आकर्षित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप