शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय
दसैँ

अहिलेको दसैँमा अनुष्ठान पक्ष कमजोर

शनिबार, २६ असोज २०८१, १० : ३३
शनिबार, २६ असोज २०८१

दसैँको दुईवटा परम्परा छ– रामायणसँग सम्बन्धित परम्परा र देवीको परम्परा । यसलाई शारदीय नवरात्र पनि भनिन्छ । यसको सुरुवात आश्विन शुक्ल पक्षलाई लिने गरिएको छ । दसैँको अर्को पनि परम्परा छ, गोपी र श्रीकृष्ण भगवानसँगको सम्बन्धको परम्परा । त्यो चाहिँ एकादशीदेखि पूर्णिमासम्मको परम्परा हो । यो कहिलेदेखि मनाउन थालियो भन्ने कुनै प्रमाण छैन, आदिकालदेखि नै मनाउन थालिएको हुनुपर्छ । 

विजयादशमी उत्सव सर्वत्र प्रचलनमा छ । नेपालमा मात्रै होइन, भारतमा पनि विजयोत्सव मनाइन्छ । आज पनि भारतमा राज घरानाहरूमा नवरात्र उत्सव र विजयोत्सव हुन्छ । त्यसको प्रत्यक्ष प्रमाण मैले पनि देखेको छु । 

शरद ऋतु आफैैँमा पवित्र ऋतु हो । वसन्त, गृष्म, वर्षा, शरद, हेमन्त र शिशिरमध्ये शरद ऋतु बिचमा आएको हुनाले यसलाई राम्रो मानिन्छ । यो ऋतुमा वर्षायाम सकिएको हुन्छ, हिउँदको ठिक्क सुरुवातको सन्ध्याको बेला हुन्छ । 

पहिले–पहिले आठ महिना कर्म गर्ने, चार महिना बसेर खाने प्रचलन थियो । जसमा साउन, भदौ, असोज र कार्तिक बसेर खाने समय हो । यो समयमा चाहिँ वर्षाका कारण बाढी, पहिरो आदिक विपत् आउन सक्छन् । त्यसो हुँदा घरबाट बाहिर नजाने, तीर्थ नजाने, परदेश नजाने भन्ने खालको परम्परा हो । ऋषिमुनिहरू पनि चतुर्मास बस्दा यही समयमा बस्ने चलन थियो । 

वर्षायामबाट हिउँद याम लाग्न लागेपछि सबै जना भेला हुने, वर्षभरिका सुखदुःखलाई एकापसमा साटासाट गर्ने, केही यज्ञ अनुष्ठान गर्ने गरिन्छ । सबै एकै ठाउँमा जम्मा भएर गरेको अनुष्ठानले शक्ति दिन्छ । सबैजना एकत्रित भएर कार्य गर्दा मन पनि स्थिर हुन्छ र लक्ष्यका साथ साधना गर्दा कुनै विघ्न नभई सिद्ध हुन्छ भनिन्छ । यो अनुष्ठान गर्नुभन्दा अगाडि पितृहरूको सम्झना गरिन्छ । किनभने अनुष्ठानको मुख्य पक्ष भनेको शरीर हो, शरीर कहाँबाट आउँछ भन्दा पूर्वजहरूबाट । पूर्वजहरूसँग सम्बन्धित शरीर भएकाले उहाँहरूसँग आज्ञा लिइयो । हजुरको शरीरसँग सम्बन्ध भएको यो व्यक्ति अब यो शरीरका साथमा केही सत्कर्म गर्न गइरहेको छ । हजुरहरूले मलाई सद्बुद्धि र सामथ्र्य प्रदान गर्नुहोस् भनेर पितृहरूलाई स्मरण गरेर अनुष्ठान आरम्भ हुन्छ ।

यो अनुष्ठान घटस्थापनादेखि कार्तिक पूर्णिमासम्म हुन्छ र अनुष्ठान आश्विन शुक्लपक्ष पूर्णिमासम्म चल्छ । विजया दशमीपछि एकादशी, द्वादशी, त्रियोदशी, चतुदर्शी, पूर्णिमालाई शरद पूर्णिमा भनिन्छ । त्यहाँबाट कार्तिक दीपदान भनिन्छ । कार्तिक दीप सुरु हुन्छ । यो ४५ दिनको हुन्छ । ४० दिनलाई एक मण्डल भनिन्छ । कुनै पनि अनुष्ठान एक मण्डलमा गर्नुपर्छ । यो पाँच दिन बढी किन राखियो भने यसको पूर्वाङ्ग र उत्तराङ्गका लागि राखिएको हो ।

दही र अक्षताको टीका लगाउनु भन्ने शास्त्रमा छ । रातो वा सेतो भन्ने कहीँ छैन । सामान्यतयाः देवपूजाका लागि अक्षताहरू बनाउँदा त्यसमा घिउ र बेसारको मात्रा हुनुपर्छ । त्यसलाई पवित्र मानिन्छ । अर्को सेतो टीका प्रायः गरेर श्राद्धादिमा अति प्रचलित छ ।

इष्टदेवको स्मरणमा नवदुर्गाको शक्तिको उपासना गरिन्छ । कुनै पनि कार्य गर्नका लागि शरीरको साथमा शक्ति पनि चाहियो । यो समयमा गरेको उपसनाको बल र तेजले एक वर्षसम्म काम गर्ने मानिन्छ । 

हामीलाई बोल्न, सुन्न, हेर्न, सुँघ्न, हिँड्न, हात उठाउनदेखि केही समाउन पनि शक्ति चाहिन्छ । त्यही कारण शक्तिको उपासना गरिएको हो । तर, अहिलेको जस्तो उपासना होइन । उपासना भनेको सबै सम्बन्धलाई परित्याग गरेर केवल शक्तिसँग मात्रै केन्द्रित भएर उपसना गरियो भने हामीभित्र भएको सबै शक्ति प्रस्फुटन हुन्छ । नभए हामीभित्र रहेको शक्ति बिस्तारै लुप्त हुँदै जान्छ । वृक्ष पनि बुढो भयो भने फल लाग्न छाड्छ । हो, त्यस्तै हाम्रो शरीरमा भएको शक्ति पनि जति वृद्ध हुँदै जान्छ, त्यति शक्ति कम हुँदै जान्छ । त्यसैले त्यो शक्तिलाई पुनः जगाउनका लागि यो उपासना आवश्यक छ । 

अर्को पक्ष भनेको भगवान् राम लङ्का जानुभयो । युद्ध गर्नुपर्ने अवस्था आयो । भगवान् रामले म भगवान् हुँ भनेर कहिल्यै पनि भन्नुभएन । म राजकुमार हुँ भनेरै हिँड्नुभयो । सामान्य मनुष्यका रूपमा हिँड्नुभएको भगवानले लोकलाई शिक्षा दिनका लागि पनि युद्ध नगरी शक्तिको उपासना गर्नुभयो । भगवान् मनुष्यको रूपमा आउँदा शक्ति भित्र कतै छिपेको थियो, त्यसलाई जगाउनुभयो । जगाएर रावणको संहार गर्नुभयो । विजया दशमीका दिन उहाँले विजय हासिल गरेकाले नै विजया दशमी भयो । 

यस्तै, दुर्गा देवी यो जगतकी शक्ति हुन् । शुम्भ र निशुम्भ भनेका हाम्रा शरीरका खराब तत्त्व हुन् । शक्तिले त्यो खराब तत्त्वलाई विनाश गरेर सुतत्त्वलाई स्थापित गरेको दिन अर्थात् शुम्भ र निशुम्भ लाई मारेको दिनको सम्झनामा पनि विजय दशमी मनाइन्छ । 

  • चैते दसैँ के हो ?

चैतको शुक्ल पक्षलाई पनि पवित्र पक्ष मानिन्छ । यो अनुष्ठानको विशेष पक्ष हो । वर्षभरिका ६ वटा ऋतुमा चारपटक नवरात्र र चारवटा विशेष मुहूर्त आउँछन्– चैतमा, असारमा, असोजमा र अर्को पुस अन्तिमदेखि माघको पहिलो हप्तातिर । असार र माघलाई गुप्त नवरात्र भनिन्छ । दुईवटा नवरात्र भने स्पष्ट नवरात्र हो । एउटा नवरात्र भनेको भगवान् रामले विजय प्राप्त गरेको र अर्को भनेको भगवान् रामको प्रादुर्भाव भएको नवरात्र । 

किन चैतको नवरात्रलाई विशेष रूपमा लिइयो भने राजा दशरथले यज्ञको मुहूर्त गरेको र त्यही पक्षलाई भगवान्ले आफ्नो अवतारको दिन बनाउनुभयो । त्यसकारण त्यो विशेष भयो । 

अहिलेको नवरात्र भनेको सबै देवताले शक्तिको उपासना गरेको र देवीले शुम्भ र निशुम्भलाई संहार गरेको विशेष पक्ष हो । 

  • रातो टीका र पशु वध

दही र अक्षताको टीका लगाउनु भन्ने शास्त्रमा छ । रातो वा सेतो भन्ने कहीँ छैन । सामान्यतयाः देवपूजाका लागि अक्षताहरू बनाउँदा त्यसमा घिउ र बेसारको मात्रा हुनुपर्छ । त्यसलाई पवित्र मानिन्छ । अर्को सेतो टीका प्रायः गरेर श्राद्धादिमा अति प्रचलित छ । 

उत्सव भनेको रंगीन हो, खुसी भएर मनाइने । त्यही भएर रातो अक्षताको प्रयोग गरिएको हो । देवीका भक्तहरूले तन्त्र विधिले उपासना गर्छन् । तन्त्र उपासनाले पशुलाई छेदन गर्ने गरिन्छ । मन्त्र उपासनामा पशुलाई छेदन गर्नु अपराध मानिन्छ । जस्तो : हामी मन्त्र उपासना गर्छौं । हाम्रो वेदले भन्छ, पशुलाई वध गर्नु हुँदैन । पशुलाई छोएर मन्साउनु वा छाडिदिनु भन्ने रहेको छ । देवीलाई चढाउने भनेको बोको लगेर देवीको मन्दिरमा लगेर छाडिदिने हो । यसै गरी परेवा, कुखुरा, हाँस, राँगो आदि छाडिदिने । 

आजकाल दसैँमा जुन प्रकारको अनुष्ठान हुनुपर्ने थियो त्यो हराउँदै गएको छ । दसैँमा मोजमस्ती र भोजभतेर गर्ने खालका अनैतिक, व्यभिचारी कामहरू हुँदै गएका छन् ।

तन्त्र उपासना भएको कारण कतिपय मन्दिरमा पशु वध गरिन्छ । हाम्रो समाजमा तन्त्र उपासना हाबी छ । यो मिथिला, काठमाडौं लगायत क्षेत्र शक्तिको उपसनाको क्षेत्र हो, तन्त्र उपासनाको क्षेत्र हो । किनभने यहाँ बौद्धहरूको प्रभाव बढी छ । जहाँ बौद्धहरूको बढी प्रभाव हुन्छ, त्यहाँ तन्त्र उपासनाको प्रभाव बढी हुन्छ । 

मन्त्र उपासनामा काटमार नगर्ने, धार्मिक अनुष्ठान गर्ने र मन्साउने गरिन्छ । बलिको अर्थ भेटी हो अर्थात् चढाउने र छाडिदिने । 

मन्दिरमा लगेर काट्नु भनेको बलिदिनु होइन । तपाईंले मलाई केही दिनु भनेको बलि दिनु भन्ने हो । काटेर चढाउनुपर्छ भनेको त लोभीहरूले चलाएको परम्परा हो । छाडिदिँदा त आफ्नो पेट भरिने भएन । त्यसैले काटेर त्यसलाई घरमा ल्याएर प्रसाद भनेर पकाएर खान थाले । तन्त्रमा मन्त्रको विपरीत हुन्छ । त्यहाँ पशु काट्नैपर्छ । 

  • अहिलेको दसैँ

आजकाल दसैँमा जुन प्रकारको अनुष्ठान हुनुपर्ने थियो त्यो हराउँदै गएको छ । दसैँमा मोजमस्ती र भोजभतेर गर्ने खालका अनैतिक, व्यभिचारी कामहरू हुँदै गएका छन् । समाजको हितविरुद्ध कार्यहरू धेरै भए । जस्तो : जुवा, तास आदि खेल्ने गरिन्छ । त्यो दसैँको संस्कृति होइन । 

पहिले अनुष्ठान पक्ष प्रधान थियो । अहिले खानपान, मोजमस्ती र नगर्ने कामहरू गर्ने पक्ष बढेर गएको छ । 

पहिले विजय दशमी एक दिन मात्रै मनाउने गरिन्थ्यो । एक दिनमा नभ्याएर पाँच दिन मनाउन थालिएको हो । त्यसकारण हामी आजकाल पूर्णिमासम्म मान्यजनको हातबाट आशिर्वाद लिने गर्छौं । मान्यजनहरूले शक्तिको उपासना गरेर शक्ति प्राप्त गर्नुभएको छ । उहाँहरूले दिएको आशीर्वाद र प्रसादले ऊर्जा दिन्छ भन्ने शास्त्रसम्मत कुरा हो । 

व्यवहार पक्ष हेर्ने हो भने यो उत्सवले दशौँ वर्षसम्म छुटेका व्यक्तिहरू पनि भेटिन्छन् । उनीहरु फर्केर घरमा आउँछन् र भेटघाट हुन्छ, आ–आफूले गरेका वा जानेका काम र सीप साटासाट हुन्छ । हिजोको दशैँले समाजलाई जोड्ने काम गर्दथ्यो । आज सामाजिक सञ्जालले समाजलाई भाँड्ने काम गरिरहेको छ । हिजो मधेशमा बसेको व्यक्ति घरमा ताला लगाएर भए पनि गाउँको स्वच्छ वातावरणमा गएर बस्ने गर्दथे । तर, अहिले त्यस्तो चलन हराउँदै गएको छ । यो पर्व तागाधारीको मात्रै होइन मगर, लिम्बुहरूको पनि यही अवधिमा विशेष पर्वहरू पर्छन् । यो सबै वर्ग, जातिहरूको साझा पर्व हो ।

(विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरका मठाधीश अच्युत प्रपन्नाचार्यसँगको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अच्युत प्रपन्नाचार्य
अच्युत प्रपन्नाचार्य
लेखकबाट थप