दसैँ, महिषाशुरमर्दिनी र कला
हिन्दु धर्मावलम्बीको महान् पर्व दसैँ सुरु भएदेखि नै विशेष गरेर देवीथानहरू सिँगारिएका छन् । हरेकजसो देवीका मन्दिरमा भक्तजनको भीड देखिन्छ ।
दसैँमा मूलतः देवी दुर्गाको महिषाशुरमर्दिनी रूपलाई आराध्य देवीका रूपमा पूजाआजा गर्ने चलन छ । विशेषगरी नौरथाभरि दुर्गा भगवतीको कुनै पनि मन्दिरमा श्रद्धालु भक्तजनको भिड नै देखिन्छ ।
पार्वतीकै अर्को रूप वा अवतार हुन् दुर्गा । हिन्दु पौराणिक कथा अनुसार मूल रूपमा देवी महिषाशुरमर्दिनीलाई योद्धाका रूपमा कल्पना गरिएको छ । संहारकर्ताका रुपमा यी देवीलाई उत्पत्ति गराइएको हो भन्ने कथन छ । यसकारण चित्र वा मूर्तिमा देवी दुर्गाले विशेष ‘पोज’ (मुद्रा)मा राक्षस महिषाशुरलाई ठुलो सङ्घर्षपछि वध गरिरहेकोे देखाइन्छ ।
सिंह वा बाघमा सवार भएकी, सहस्त्र हातहरूमा किसिम–किसिमका आयुधले सुसज्जित देवीले महिषाशुरलाई वध गरिरहेको मूर्ति वा चित्रहरूमा देख्न सकिन्छ । तथापि यो कलाकारको परिकल्पनाबाट बनेको एउटा कलागत पोस्चर मात्र हो । देवीप्रति अगाध आस्था सबैको एकै हुन्छ, तथापि भक्तिका दृष्टिले बनेका यस्ता मूर्ति वा चित्रका संरचना कलाकारैपिच्छे अलग–अलग हुने गर्छन् । नेपालभित्रकै समाजमा पनि देवीका ‘पोस्चर’ (आसन) अनि दसैँ मनाउने संस्कार पनि एकै छैन । कलाकारको कल्पना र सिर्जनशीलताले बनाइएका यस्ता देवीका मूर्ति ठाउँ अनुसार फरक–फरक हुने गर्छन् ।
देवी दुर्गालाई कुनै पनि अवरोधमाथि विजय पाउन सक्ने साहसी र शक्तिशाली देवीका रूपमा कल्पना गरिएको छ । धर्ममा वज्रयान सम्प्रदायकोे उदय भएपश्चात् तन्त्र–मन्त्र अनि यन्त्रको पनि विकास भयो । तत्पश्चात तान्त्रिक कलाको विकास भयो । यसैमा महिलाको अहं भूमिकालाई संलग्न गराई महिलालाई एक शक्तिका रूपमा मानिन थालेको देखिन्छ ।
हुन त ‘ब्रह्मनिकल’ धर्ममा शाक्त सम्प्रदाय अझ अगाडि उदय भइसक्दा त्यसै पनि देवीहरू असीमित शक्ति लिएर देखापरेको देखिन्छ । त्यसै बखत देवीदुर्गा महत्त्वपूर्ण शक्तिका रूपमा उदाइसकेकी थिइन् । यसरी विकसित हुँदै आएका शक्तिशाली महिलामा देवी महिषाशुरमर्दिनीलाई प्रजनन क्षमता अनि मातृत्वको पनि रक्षा गर्ने देवीका रूपमा मान्ने गरिन्छ । यसले आमा वा कुनै पनि महिलामाथि विशेष स्नेह वा हेरचाह गर्नुपर्छ भन्ने भावनाको विकास गर्छ । अर्कोतिर कुनै पनि महिलालाई कुनै हानिबाट बचाउन यी देवी सदैव सचेत रहन्छन् पनि भन्ने विश्वास गरिन्छ ।
- देवीको कलागत रूप
आज कलाको रूपमा देखिने यी देवीको सदियौँ पहिला अलिक अलग्ग रूप थियो । पहिले देवीका प्रतिमाहरू सपाट देखिन्थे; गरगहना अनि वेशभूषा पनि साधारण रूपमा देखिन्थे । स्वाभाविक मुद्रा, आक्रोशरहित स्वरूपमा शान्त स्वभावका देवीहरूको चित्र वा मूर्ति पहिले बनाइन्थ्यो । पात्रहरूलाई एउटै चित्रपटमा सँगै कम्पोज गर्दा पनि एक्लाएक्लै जस्तै देखिने कलागत संरचना हुने गर्दथ्यो । कतै एकातिर मात्र फर्केका आकृतिहरू (लोककलाको शैलीमा पनि देवी दुर्गालाई मूल रूपमा चित्रित गर्ने लामो परम्परा छ । लोककलामा भावभङ्गिमा केही हँुदैन । प्रतीकात्मक विम्बहरूबाट देवी र राक्षसलाई चिन्नुपर्ने हुन्छ), कतै सिधा अनुहार देखिन्थे । पात्रहरूको चयन र अंकन पनि सपाट वा साधारण हुने गर्दथ्यो । यसको संयोजन कलाकारले अलग्ग पाराले गर्ने गर्दथे । यसैले पनि कलाकार (त्यति बेला शिल्पी भनिन्थ्यो)को कल्पनाशीलताले गर्दा अनेक–अनेक कलागत संरचनाहरू देखिने गर्दथ्यो । कतै दुई हात, कतै चार हात र कतै सहस्त्र हातहरू (शक्तिको प्रतीकात्मक विम्ब) लगायत आयुध पनि अलग–अलग बोकेका हुन्थे । आसन र ‘पोस्चर’ पनि अलग–अलग देखिन्थ्यो ।
अहिले देवी दुर्गा अनि महिषाशुरमर्दिनीको सन्दर्भमा पनि यही नै हो । दक्षिणीपूर्वी एसियाका सबैजसो ठाउँमा कुनै न कुनै रूपमा दुर्गालाई आ–आफ्नै तरिकाले पुजिने गरिन्छ । विशेष गरेर भारतको बंगालमा विशेष रूपमा महिषाशुरमर्दिनीलाई पूजाआजा गर्ने चलन छ । भारतको हरेकजसो प्रान्तमा र नेपालमा पनि कलाकारले देवीको कलामा अलग अलग संयोजन गरेको देखिन्छ । ठाउँ अनुसार देवीको अनुहारको अलग¬–अलग चरित्र देखिनु स्वाभाविकै हो । संस्कार, संस्कृति, समाजको मूल्य–मान्यता, आस्था र विश्वास आदिले गर्दा देवी दुर्गाप्रतिको भक्तिभाव एउटै हो भन्दा हुन्छ तर कलाकारको चित्र वा मूर्ति हेर्दा भने नितान्त फरक ढंगबाट दृष्टिगोचर हुन्छन् । देवीको स्वरुप कस्तो हुने भन्न सन्दर्भमा धर्मशास्त्रले एक खालको निर्देशन दिए पनि कलाकारले चित्रमा कैयौँ कुरा अंकन गर्न सम्भव हँुदैन अनि आ–आफ्नै पाराले चित्र वा कला बन्ने प्रक्रिया हुँदै आयो ।
- नवरात्रि
दसैँलाई नेपालमा चाहिँ नवरात्रिका रूपमा मनाउने चलन छ । पहिलो दिनदेखि नौ दिनसम्म देवी छन्– शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुशमाण्डा, स्कन्दमाता, कात्यायानी, कालरात्रि, महागौरी र सिद्धिधात्री ।
यी सबै दुर्गाका अलग–अलग रूप हुन् । हरेकजसो शताब्दीमा ठाउँ अनुसार यी देवीको रूप परिवर्तन हुँदै आएको छ । आजको दिनमा त कलाकारको सिर्जनशीलताले, कल्पना र शिल्पी दक्षताले गर्दा देवीहरुले हजारौँ रूप धारण गरिसकेको देखिन्छ । पूजाआजा गर्ने देवीका रूप एउटा निश्चित धर्मशास्त्र अनुसार अनुशासनबद्ध भएर बनाउने परम्परा पनि जिउँदै छ । तापनि कलाको रूपमा कलाकारका भावना, विचार र समसामयिक अवधारणालाई गाँसेको पनि पाइन्छ ।
कलाले आधुनिक काल छोएपछि देवी दुर्गालाई आधुनिक पाराले संयोजन गर्न थालेका छन् । चित्र वा कलामा हाल देखिएका देवीहरुको केही विशेषताको चर्चा गरौँ :
देवी शैलपुत्रीको वाहनमा गाई छ । चार हात भएकी देवी शैलपुत्री सेतो पहिरनमा शान्त स्वभावको पकिल्पना गरिएको देखिन्छ । कलाकारैपिच्छे संयोजन र प्रस्तुतिमा निकै अन्तर देखिन थालेको छ, (मूल रूपमा पात्रहरू परिवर्तन नगरे पनि) ।
देवी ब्रह्मचारिणीलाई कमण्डलु र मालाका साथ चित्रांकन गरिएको पाइन्छ । यस्तै देवी चन्द्रघण्टा बाघमा सवार हुन्छिन् । आठ हात भएकी यी देवीलाई विविध आयुधका साथ परिकल्पना गरिएको छ ।
देवी कुशमाण्डा बाघमै सवार हुन्छिन् । आठ हातमा अनेक आयुधहरू बोकेकी हुन्छिन् । देवी स्कन्दमाता चार हातसहित सिंहमाथि सवार भएकी देखिन्छन् । विशेष गरेर यी देवीले कमलको फूल लिएको देखिन्छ ।
देवी कात्यायानी सिंहमै सवार भएकी देखिन्छन् । आठ हात भएकी यी देवी (कतै चार हात पनि देखिन्छन्) चक्र, तरबार आदि आयुध धारण गरेकी देखिन्छन् ।
देवी कालरात्रि गधामा सवार भई निलो वर्णमा देखिन्छन् । आयुधका रूपमा खड्ग, खप्पर आदि देखिन्छन् ।
गाईमा सवार देवी महागौरी त्रिशुल र डमरुलाई आयुधको रूपमा समाई सेतो साधारण पहिरनमा देखिन्छन् ।
देवी सिद्धिधात्री कमलको फूलमाथि बसेकी देखिन्छन् । गदा, चक्र, कमलको फूल आदिलाई आयुधका रूपमा लिएकी हुन्छिन् । देवीका यी सबै रूपहरू कलाकारले नै बनाएका कारण जति–जति कलाकारमा आफू स्वतन्त्र हुने सोच आयो, त्यसै अनुसार देवीका रूप पनि फरक–फरक संयोजनमा बन्न थालेको देखिन्छ ।
देवी दुर्गालाई महिला शक्तिका रूपमा पनि मान्ने गरिन्छ । धर्म गाथा अनुसार, महिषाशुर राक्षसले तिनै लोकमा चरम अत्याचार गर्न थालेपछि संसारभरि नै हाहाकार मच्चिएको थियो । यी राक्षसलाई हराउन धेरैले अनेकौँ प्रयास गर्दा पनि राक्षस अजम्बरी जस्तै भएर बाँचिरहे । पुरुष देवताले संयुक्त रूपमा प्रयास गर्दा पनि यी राक्षसलाई मार्न नसकेपछि देवी दुर्गाको परिकल्पना गरिएको किंवदन्ती छ ।
सबै देवताले आ–आफ्ना अस्त्रशस्त्र, शक्ति, बलबुद्धि एकै ठाउँमा जम्मा गरेर देवीको महिषाशुरमर्दिनी रूपलाई जन्माएको भन्ने कथन छ । महिषाशुर राक्षसलाई मार्नकै निम्ति यी देवीले नौ दिनसम्म लडाइँ गर्नुपरेको थियो । अनि नवौँ दिनमा आफ्नो धारिलो भालाले राक्षसको वध गरेपछि संसारमा शान्तिको पुनर्बहाली भएको विश्वास गरिन्छ ।
यही शान्ति बहाल भएको अवसरलाई उत्सवका रूपमा मनाउन परिवारका सदस्य तथा आफन्तहरू एकै ठाउँमा भेला भई रातो टिका निधारमा लगाई मिठो–मिठो खानपिन गर्ने प्रचलन छ । विशेष गरेर नेपालमा जतिसुकै आपत् आइपरे पनि दसैँमा मूलघर जाने गर्छन् ।
नवरात्रि भनिने यो नवौँ दिनमा देवी दुर्गाको भिन्दाभिन्दै रूपहरूलाई पूजाआजा गर्ने चलन छ । धर्मशास्त्रले भने अनुसार नै कलाकारले देवी दुर्गाका अलग–अलग रूप, आसन, आयुध बनाएका छन् । हरेक रूप, आयुध र आसनको उद्देश्य र अर्थ अलग–अलग छन् । ती सबै देवीहरूलाई देवी पार्वतीकै अवतारका रूपमा मानिए पनि कलाकारले विभिन्न रुपमा आकर्षक कला बनाएका छन् । यी देवीलाई
ब्रह्मनिकल धर्ममा देवीको अवधारणा आएको वेदहरूमा उल्लेख गरिएको छ । यो समयलाई अनुमानित रूपमा ईसापूर्व २०० वर्ष मानिएको छ । अलिपछि मार्कण्डेय पुराणको एक भागको रूपमा रहेको देवी महात्म्यमा यसबारे विस्तारमा व्याख्या गरिएको छ । मार्कण्डेय पुराण ईसाको चौथोदेखि ६ सय शताब्दीमा लेखिएको भनिन्छ ।
मार्कण्डेय पुराणमा मूलतः तीनवटा भागको विशेष चर्चा गरिएको छ । पहिलो पूर्वचरिता, जहाँ मधुकैटभसँग देवीले गरेको युद्धको कुरा छ ।
दोस्रो भागमा मध्यमा चरिता, जहाँ महिषाशुरसँग युद्ध गरेको उल्लेख छ । तेस्रोमा उत्तरा चरिता, जहाँ चण्ड–मुण्ड अनि शुम्भ–निशुम्भ राक्षसहरूसँग युद्ध भएको उल्लेख गरिएको छ ।
देवी दुर्गालाई धेरै प्रतीक र विम्बमा परिभाषित गरिएको छ । जस्तै ः संरक्षणकर्ता, मातृत्व, युद्ध, शान्ति, समृद्धि, धर्म र भगवान्को शक्ति, राक्षेसको नाश आदि ।
ईशाको पहिलो शताब्दीमा बंगालमा देवी महिषाशुरमर्दिनीको मूर्ति बनेको पाइएको छ । ईसापूर्व पहिलो शताब्दी वा ईसाको पहिलो शताब्दीमा राजस्थानको नागर भन्ने ठाउँमा यस्ता मूर्तिहरु पाइएको आकलन गरिन्छ ।
पाँचौँ शताब्दीमा आएर यिनै देवीका बारेमा संस्कृत भाषामा लेखिएको छ । जहाँ प्रतिमाविज्ञान (आइकोनोग्राफी) बारेमा पनि उल्लेख गरिएको छ । ईशाको आठौँ शताब्दीपछि महिषाशुरमर्दिनीको कल्ट (पन्थ) भारतभरि अनि यसका वरिपरिका राष्ट्रहरूमा फैलिएको भन्ने गरिन्छ । विशेष गरेर गुप्त काल (ईसाको ३०० देखि ७०० सम्म)मा यसले व्यापकता पाएको थियो । त्यति वेला नेपालमा लिच्छवि काल थियो । इतिहासमा गुप्तहरूको लिच्छविहरूसँग नजिकको सम्बन्ध भएको अभिलेख पाइन्छन् । यसकारण पनि नेपालमा यसै बखतमा यो कल्टले प्रभाव पारेको आकलन गर्न सकिन्छ ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेवा शुल्क सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र
-
अभियन्ता फणिन्द्र नेपालले भारतीय सेना प्रमुखको विरोध गर्नसक्ने सुरक्षा विश्लेषण
-
विश्व बैंकको ऋणमा ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
-
रुसले लामो दुरीको मिसाइल हान्यो: युक्रेन
-
अमेरिकामा धोकाधडीको आरोपपछि रक्ताम्मे बन्यो अदानीको कम्पनीका सेयर
-
विमानस्थलको ‘डेन्जर’ स्थानमा रहेको यस्तो छ निगमको डिपो, तस्बिरमा हेर्नुहोस्