शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय

मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुई दिनपछि उद्धार

शुक्रबार, २५ असोज २०८१, २३ : १६
शुक्रबार, २५ असोज २०८१

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल पदयात्राका क्रममा हाइक्याम्पबाट हराएकी एक चिनियाँ पर्यटकको दुई दिनपछि सकुसल उद्धार गरिएको छ । 

यही असोज २२ गते राति हाइक्याम्पको होटल नमस्तेमा बास बसेर भोलिपल्ट पदयात्रामा निस्केकी चिनियाँ नागरिक २३ वर्षीया बेला मर्दी आधार शिविरतर्फ जाने क्रममा गलत बाटोबाट गएपछि हराएकी थिइन् ।

पर्यटक हराएको सूचनापछि खोजीमा जुटेको स्थानीयवासी, पर्यटक प्रहरी, पर्यटन व्यवसायी, जनप्रतिनिधि तथा भैँसी गोठाला मालिकहरू सहितको टोलीले आज दिउँसो पर्यटकलाई मर्दीको मुहान कोलङ्गे भन्ने स्थानबाट सकुशल उद्धार गरेको माछापुच्छ्रे–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए । 

उनका अनुसार बुधबार र बिहीबार भैँसी गोठका मालिक प्रसाद पौडेल र होटल सञ्चालकसहितको टोलीले साँझसम्म खोजी गरे पनि काँडाघारी, सिस्नो अप्ठ्यारो भौगोलिक अवस्थाका कारण पर्यटकको अवस्था पत्ता लगाउन सकेको थियो ।  पर्यटकको खोजीका लागि पर्यटक प्रहरी सहितको टोलीले आज बिहानदेखि खोजी पुनः सुरु गरेको थियो ।

“मर्दीको मुहानभन्दा केही तल ठाउँठाउँमा लडेको, जुत्ता लगाएको निशान देखेपछि सो निशान पछ्याउँदै ठुलो स्वरमा चिच्यायौ र उताबाट पनि कराउँदै रोएको आवाज सुनेपछि धेरै तल खोलाको किनार नजिक पर्यटकलाई फेला पार्न सफल भयौँ”, वडाध्यक्ष क्षेत्रीले भने । 

खोजी कार्यमा खटिएको प्रहरी टोलीले पर्यटकलाई सिधिङसम्म ल्याएर पर्यटक प्रहरीको जिम्मा लगाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप