शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

पहिरो हटाएर बीपी राजमार्ग पुनः सञ्चालन

शुक्रबार, २५ असोज २०८१, १९ : ५०
शुक्रबार, २५ असोज २०८१

काभ्रेपलाञ्चोक । यही असोज ११ र १२ गतेको अविरल वर्षाको बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध बीपी राजमार्ग दुई हप्तापछि सञ्चालनमा आएको छ । केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडीतथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कर्त दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको खुलेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । 

बाढीपहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको उक्त राजमार्ग सडक विभाग, डिभिजन कार्यालय, राजमार्गअन्तर्गतका स्थानीय तहहरु, नेपाली सेनालगायत सुरक्षाकर्मी तथा स्थानीयको निरन्तरको पहलमा आजदेखि  सञ्चालन गर्न सफल भएको हो । कार्यालयले आज बिहानबाट उक्त राजमार्गमा यातायातका साधन सञ्चालनमा ल्याइएको हो । कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले पछिल्लोपटक राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ मङ्गलटारस्थित बोक्सीकुनामा डाइभर्सन बनाएसँगै उक्त स्थानमा हाल एकतर्फी यातायात सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार बाढीपहिरोले राजमार्गको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ र रोशी–७ को सीमास्थल चौकीडाँडामा बगाएको करिब दुई सय मिटर सडक पनि अस्थायी रुपमा एकतर्फी खुलाइएको छ । बाढीपहिरोले चौकीडाँडादेखि सिन्धुलीको सिमाथ्ल नेपालथोकसम्म क्षति पु¥याएपछि उक्त राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । 

राजमार्ग खुलाउन चौकीडाँडा र नेपालथोक दुवैतिरबाट निर्माण सुरु गरिएको कार्यालयले जनाएको छ । “राजमार्गको सडक, पुल र कल्भर्टहरु बगेको स्थानमा हाललाई सडक सञ्चालनमार्थ अस्थायी संरचना निर्माण गरिएको हो”, उनले भने । धेरैजसो स्थानमा खोला फर्काएर तथा खोलाको बहावलाई सोझ्याएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै अस्थायी सडक बनाइएको छ ।  रोशी खोलाको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म २१ किलोमिटर सडकको १४ स्थानमा करिब आठ किलोमिटर क्षतिग्रस्त बनाएको थियो । यसमध्ये राजमार्गअन्तर्गतको दाप्चा खोलामा एक सय मिटर, चौकीडाँडामा दुई सय, कटुञ्जे घुमाउनेमा पाँच सय, लास्कोट बेँसीमा दुई सय, चार सय बेँसीमा पाँच सय, गिम्दीबेँसीमा तीन सय, खार्पाचोकबेँसीमा तीन सय र नार्केमा आठ सय मिटर सडक क्षतिग्रस्त भएको थियो । 

यस्तै, पिन्थलीबेँसीमा चार सय, दाउन्नेमा तीन सय, मङ्गलटार बोक्सीकुनामा छ सय, चिउरीबासमा दुई सय, कालढुङ्गामा एक किलोमिटर, डालाबँेसीमा आठ सय, पिप्लको दुई स्थानमा गरी सात सय, बर्खेखोला तीन सय, चालिसेमा चार सय र माम्तीमा आठ सय मिटर सडक पूर्णरुपमा क्षति भएको थियो । बाढीपहिरोले उक्त राजमार्गमा सडकसम्पर्क टुटेपछि रोशी गाउँपालिकाको विपद् पीडित तथा राजमार्ग हुँदै मध्यपहाडी क्षेत्र एवं पूर्वी तराईबाट आएका यात्रु अलपत्र भएपछि भोलिपल्टैदेखि हेलिकप्टरमार्फत उद्धार थालिएको थियो । राजमार्गको कुल एक सय ६० किमीमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको कार्यालयले जनाएको छ । क्षति पुगेको करिब दुई किमी सडक र अन्य स्थानमा भएको क्षतिको मूल्याङ्कन गर्दा रु दुई अर्बभन्दा बढीको क्षति पुगेको प्रमुख योगेशले बताए । 

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप