शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

तलेजु भवानीमा गत वर्षको तुलनामा दर्शनार्थी घटे

शुक्रबार, २५ असोज २०८१, १७ : ५५
शुक्रबार, २५ असोज २०८१

काठमाडौँ । तलेजु भवानी मन्दिर वर्षको एक दिन बडादसैँको महानवमीमा मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । त्यसैले महानवमीको दिन उक्त मन्दिरमा दर्शनार्थीको निकै घुइँचो लाग्ने गर्दथ्यो । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु मन्दिरमा यो वर्ष भने दर्शनार्थीको घुइँचो गत वर्षको तुलनामा कम देखिएको छ ।

काठमाडौँ महानगरपालिका–२४ का वडा अध्यक्ष विनोदकुमार राजभण्डारीले यो वर्ष दर्शनार्थीको सङ्ख्या घटेको बताए । उक्त मन्दिर सोही वडामा पर्दछ । उनकाअनुसार अघिल्लो वर्ष एक दिनमा पाँच लाख हाराहारीमा भक्तजनले दर्शन गरेका थिए । वडा अध्यक्ष राजभण्डारीले भने, “यसपटक तिथि फरक परेका कारण दर्शनार्थी त्यति छैनन्, पोहोर साल भक्तजनको लाइन इन्द्रचोकसम्मै थियो । आज मखन टोलसम्म मात्र छ ।”

तलेजु भवानीलाई फूलपातीको दिनमा हनुमान ढोका दरबारको मूलचोकमा ल्याइन्छ र विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइन्छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले महाअष्टमीको राती तान्त्रिक विधिबाट कालरात्रि पूजा गर्ने परम्परा छ । कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिने चलन छ । तलेजु भवानीमा मात्र नभई आज मुलुकभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

वडाध्यक्ष राजभण्डारीले भने, “अरू बेला पनि नित्य पूजा भइराख्छ । तर आज सर्वसाधारणका लागि विशेष गरी खोलिने चलन छ । आज महिषासुरको वध गरेको दिन भनिन्छ, त्यसैले बली पनि दिने गरिएको हो ।” 

उक्त मन्दिर बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म खोलिन्छ । दर्शनार्थीको भीड हेरेर मन्दिर खुल्ने समय बढाइने गरेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप