शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय
दसैँ

घरमा दसैँको रौनक छाउँदा विदेशी भूमिमा देशका लागि खेल्दै छन् यी खेलाडी

शुक्रबार, २५ असोज २०८१, १८ : २९
शुक्रबार, २५ असोज २०८१

काठमाडौँ । यतिबेला सिङ्गो देश चाड–पर्वमा चुर्लुम्म डुबेको छ । देशभर बडा दसैँको रौनक बढेको छ । सबै आ–आफ्नै संस्कृति र मौलिक परम्परा अनुसार, चाड–पर्व मनाउन व्यस्त छन् । यो वर्ष बडा दसैँको टिकाको साइत शनिबार परेको छ ।

तर, कतिपय खेलका नेपाली खेलाडीहरू भने यतिबेला विदेशी भूमिमा प्रतिद्वन्द्वीलाई हराउँदै देशको प्रतिष्ठा बढाउने रणनीति बनाउनमा व्यस्त छन् । त्यसमध्येको एक हो, नेपाली राष्ट्रिय क्रिकेट टोली । नेपाली क्रिकेट टोली करिब एक महिनादेखि विदेशी भूमिमा देशका लागि खेलिरहेको छ ।

अझै एक महिना नेपाली क्रिकेट टोली बिदेशमै रहने छ । नेपाली टोली आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिता अन्तर्गतको शृङ्खला खेल्न विदेश भ्रमणमा निस्किएको हो । राष्ट्रिय टोलीले क्यानडामा आफ्नो शृङ्खला खेलिसकेको छ ।

नेपाली टोली आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ शृङ्खला खेल्न बिहीबार नै अमेरिका प्रस्थान गरिसकेको छ । अहिले राष्ट्रिय क्रिकेट टोली अमेरिकामा हुने शृङ्खलाको तयारीमा व्यस्त छ । यस्तोमा राष्ट्रिय टोलीमा सहभागी खेलाडीहरूले आफ्नो परिवार र ईष्ट–मित्रसँग बसेर चाड–पर्व मनाउन र खुसी साटासाट गर्न पाउने छैनन् ।

अमेरिकामा लिग–२ प्रतियोगिता अक्टोबर २५ तारिखदेखि सुरु हुनेछ । प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल अक्टोबर २७ तारिखमा आयोजक अमेरिकासँग खेल्नेछ । नेपाली टोलीले आफ्नो दोस्रो खेल २९ तारिखमा स्कटल्यान्डसँग खेल्नेछ । नेपाली टोलीले नोभेम्बर २ तारिखमा आफ्नो तेस्रो खेल अमेरिकासँग खेल्नेछ । नोभेम्बर ४ तारिखमा नेपालले आफ्नो चौथो खेल स्कटल्यान्डसँग खेल्नेछ ।

लिग–२ अन्तर्गत क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक शृङ्खलाका लागि हाल विदेशमा रहेको नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन कुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् । देब खनाल पनि रिजर्भ खेलाडीका रूपमा टोलीमा छन् ।

यसै गरी, नेपाली यू–२० पुरुष भलिबल टोली पनि विदेशमै छ । हाल श्रीलंकाको राजधानी कोलम्बोमा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष च्याम्पियनसिप भइरहेको छ । सोही प्रतियोगितामा भाग लिन नेपाली टोली पनि कोलम्बो पुगेको हो ।

कोलम्बोमा नेपाली टोलीले शनिबार (दसैँको टिकाको दिन) पनि आफ्नो खेल खेल्नेछ । त्यसैले यू–२० भलिबल टोलीले पनि आफ्नो परिवार र ईष्ट–मित्रसँग बसेर दसैँ मनाउन पाउने छैन । कोलम्बोमा रहेका नेपाली भलिबल टोलीमा पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जित बहादुर सार्की, सुजन सुनार, लेसमन राहादी र दिपेश कुवँर रहेका छन् ।

यसै गरी, केही नेपाली कराँते खेलाडी पनि अहिले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने क्रममा विदेशमै रहेका छन् । एसियाली खेलकुदकी ऐतिहासिक रजत पदक विजेता कराँते खेलाडी एरिका गुरुङ पनि यसमा पर्छिन् । एरिकासहितको कराँते टोली १३औँ विश्व कराँते च्याम्पिन्सिपमा प्रतिस्पर्धा गर्न हाल इटालीमा रहेको छ ।

प्रतियोगिता असोज २३ देखि २७ गतेसम्म इटालीको भेनिसमा आयोजना हुँदैछ । प्रतियोगितामा एरिकासँगै प्रशिक्षकका रूपमा कुशल श्रेष्ठ तथा अफिसियलका रूपमा तारा गुरुङ र सन्तोष श्रेष्ठ पनि इटालीमै छन् । एरिकाको यो छैटौँ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । उनले यसअघि आफूले खेलेको पाँचवटै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाएकी छन् ।

यसै गरी, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने क्रममा केही टेबलटेनिस खेलाडी पनि हाल विदेशमै छन् । एसियाली टेबलटेनिस च्याम्पिन्सिपको २७औँ संस्करणमा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली काजाकिस्तानमा छ ।

maxresdefault

असोज २१ देखि २७ गतेसम्म हुने उक्त प्रतियोगिताको पुरुषतर्फ संयोग कपाली र महिलातर्फ ईभाना थापाले प्रतिस्पर्धा गर्दैछन् । उनीहरूले सिंगल्स र मिक्स डबल्समा प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीको प्रशिक्षकमा मोहनदास बासुकला रहेका छन् ।

यसै गरी, भेट्रान धावक शम्भुप्रसाद दाहाल पनि हाल एक अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि विदेशी भूमिमै छन् । उनी सिकागो म्याराथनमा सहभागी हुन अमेरिका पुगेका हुन् । सिकागो म्याराथन आगामी आइतबार आयोजना हुँदैछ । उक्त म्याराथनमा ६३ वर्षीय शम्भुले पुरुष खुलातर्फ ४२.१९५ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन् । उनले यसअघि पनि विश्वका प्रतिष्ठित लन्डन म्याराथन, बर्लिन म्याराथन, न्युयोर्क म्याराथन र बोस्टन म्याराथनमा देशको प्रतिनिधित्व गरिसकेका छन् ।

यसै गरी, मिक्स मार्सल आर्टसका दुई खेलाडी पनि अहिले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न विदेशी भूमिमा रहेका छन् । उनीहरू वडा दसैँको सँघारमै विदेश प्रस्थान गरेका हुन् । उनीहरू मिक्स मार्सल आर्टसको विश्व च्याम्पियन्सिपमा सहभागी हुन जर्मनीको फ्राँकफर्ट पुगेका हुन् । प्रतियोगिता शुक्रबार सुरु भएर आइतबार सकिने छ ।

1-(5)-1728394227

यो प्रतियोगितामा ईजीकेल परियार र निराजन मुक्तानले नेपालको प्रतिनिधित्व गर्दैछन् । ईजीकेलले किक बक्सिङको ७०–७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । निराजनले भने किक बक्सिङको ६० केजीमुनि र उमा कुङफुको ट्रेडिसनल फम्समा सहभागिता जनाउने छन् ।

आखिर देशका लागि खेल्न चाड–पर्वको समयमा विदेशमा रहेका खेलाडीले कस्तो अनुभव गर्छन् त ? नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान राजुकाजी शाक्यका अनुसार, यस्तो बेलामा खेलाडीले चाड–पर्वभन्दा पनि देशको जर्सी लगाएर खेल्न पाउनुलाई ठुलो गर्वका रूपमा लिन्छन् ।

‘दसैँ–तिहारजस्तो ठुला चाड–पर्वको बेलामा म पनि अनगिन्ति पटक विदेशमै रहेको थिएँ । हरेक खेलाडीको जीवनमा यस्तो क्षण आउँछ । तर, यस्तो बेलामा हामीलाई चाड–पर्वको सम्झनाले कहिल्यै दुःखी बनाउँदैन । बरु देशका लागि खेल्न पाएकोमा हामी गर्व गर्छौँ । म र मेरो टोलीमा रहेका साथीहरूले पनि यस्तो बेलमा कहिल्यै खल्लो अनुभव गरेनौँ,’ शाक्य भन्छन् ।

उनले चाड–पर्वको समयमा आफ्नो घर–परिवारभन्दा टाढा रहेका खेलाडीहरूले आफ्नै तरिकाले रमाइलो गर्ने गरेको पनि बताए । ‘चाड–पर्वको समयमा धेरै पटक हामीले विदेशी भूमिमा बिताएका छौँ । यस्तो बेलामा अनुकुल पर्दा हामी आफ्नै तरिकाले रमाइलो गथ्र्यौँ । दसैँको टिकाको दिन विदेश भ्रमणमा रहेको टोलीका आफूभन्दा सिनियर प्रशिक्षक वा अफिसियलले हामीलाई टिका लगाइदिन्थे । त्यसपछि त्यहाँ जे पाइन्छ त्यही खानेकुरा खाएर रमाइलो गथ्र्यौँ । तर, हाम्रो पहिलो दायित्व देशका लागि खेल्नु नै हो भन्ने कुरा कुनै पनि खेलाडीले भुल्थेनौँ’ उनी भन्छन् ।

यसै गरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ पनि दसैँ–तिहारजस्तो ठुलो चाड–पर्वको समयमा विदेशमा रहने खेलाडीले कहिल्यै खल्लो अनुभव नगर्ने बताउँछन् । उनले अधिकांश ठुला अन्तर्राष्ट्रिय प्रतियोगिता सधैँ दसैँ–तिहारकै समयमा पर्ने गरेको पनि बताए ।

Untitled design (5)(1)

‘अधिकांश अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि यो अनुकूल समय हुन्छ । त्यसैले हाम्रो दसैँ–तिहारकै समयमा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन्छन् । म खेलाडी हुँदा पनि धेरै पटक चाड–पर्वको समयमा विदेशमै हुन्थेँ । तर, हामी खेलाडीले कहिल्यै खल्लो अनुभव गरेनौँ । हामी खेलाडीका लागि देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउनु नै गौरवको विषय हुन्छ । खेलाडीको मनमा अन्तर्राष्ट्रिय प्रतियोगिता नै एक प्रकारको पर्व हो भन्ने भावना पनि पलाउँछ,’ उनी भन्छन् ।

यसै गरी, राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न विदेशमा रहेका खेलाडीले सम्पूर्ण ध्यान चाड–पर्वभन्दा पनि आफ्नो जिम्मेवारीमै केन्द्रित गर्ने बताउँछन् । ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने हरेक खेलाडीको पहिलो जिम्मेवारी देशका लागि खेल्नु नै हो । अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडीबाट सिङ्गो देशले ठुलो आशा गरेको हुन्छ । हामीले पनि यो यथार्थलाई राम्ररी बुझेका हुन्छौँ । त्यसैले चाड–पर्वभन्दा पनि यस्तो बेलामा हाम्रो सम्पूर्ण ध्यान आफ्नो खेलमै केन्द्रित हुन्छ,’ उनी भन्छन् ।

पूर्वकप्तान ज्ञानेन्द्र आफूले पनि सक्रिय खेल जीवनमा धेरै पटक यस्तो क्षणको सामना गर्नु परेको बताउँछन् । ‘अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने धेरै खेलाडीले यस्तो क्षणको सामना गर्नु पर्छ । देशभित्र चाड–पर्वको रमझम चलिरहँदा मैले पनि धेरै पटक विभिन्न राष्ट्रमा खेलेको छु । मान्छे भएपछि कहिले काहीँ खल्लो पनि लाग्छ । तर, यसले हामीलाई आफ्नो जिम्मेवारीबाट भने कहिले पनि विचलित बनाउँदैन । बरु हामीलाई अझ बलियो भएर खेल्ने र देशका लागि उत्कृष्ट नतिजा दिने मनोबल उच्च बनाउँछ,’ उनी भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप