विश्वलाई अहिंसा सिकाइरहेको चुम उपत्यका
पोखरा । गोरखा जिल्लाको उत्तरी भूभागमा पर्ने चुम उपत्यकाले विश्वलाई अहिंसाको पाठ सिकाइरहेको छ । यहाँ याक–चौँरी, भेडा–च्याङ्ग्रा, गाई–भैँसी, हाँस–कुखुराजस्ता जनावर वा पक्षी काटमार गर्न पाइँदैन ।
यहाँ कसैले पनि सिकार खेल्न वा खेलाउन पाउँदैन । जङ्गली जनावर लखेट्ने, छोप्ने तथा समाउने र मार्ने गरेमा कारबाही हुन्छ । भीरमौरीको मह काढ्नसमेत निषेध गरिएको छ । पशु वध पूर्ण रूपमा निषेध छ भने मासुको प्रयोजनका लागि व्यापार गर्ने उद्देश्यले कुनै पनि जीव वा पक्षी अहिंसा क्षेत्रभित्र प्रवेश गराउन नपाइने कडा नियम बनाइएको छ ।
त्यतिमात्रै होइन, मारेर खानका लागि पशुपक्षी बेच्न पनि पाइँदैन । स्थानीयले मात्रै होइन, त्यस क्षेत्रमा जाने पाहुना, पर्यटक, कर्मचारी वा सुरक्षाकर्मीलाई समेत पशु वध पूर्ण निषेध छ । जङ्गली जनावर र पशुपक्षीको हत्या हुन सक्ने भन्दै डढेलो लगाउन समेत कानुनबाटै रोक लगाइएको छ ।
गाउँलेले काम गर्न नसक्ने, उमेर ढल्केको जनावरलाई नमार्ने र मासु खाने व्यक्तिलाई नबेच्ने प्रतिबद्धता जनाएका छन् । आजभन्दा १०४ वर्ष पहिले अर्थात् १९७७ सालदेखि गोरखाको चुम क्षेत्रमा श्याग्या (अहिंसा)को प्रथाजनित कानुन लागु छ । डुक्पा रिन्पोछे (सेराप दोर्जे)ले स्थानीयको सामूहिक प्रतिबद्धता र स्वघोषणा गराएपछि लागु भएको अहिंसा क्षेत्रलाई चुमनुब्री गाउँपालिकाले १२ औँ गाउँसभाबाट ऐन निर्माण गरी कानुनी मान्यता दिएको छ ।
स्थानीय कानुन अनुसार निषेधित काम गरेमा श्याग्या संरक्षण समितिले आम सहमतिबाट दण्ड र जरिवाना गर्नेछ । समितिले गरेको कारबाही चित्त नबुझेमा ३५ दिनभित्र पालिकाको न्यायिक समितिमा पुनरावेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।
‘बुद्ध जन्मेको देश । बुद्धको दर्शनलाई ग्रहण गरेर अहिंसा क्षेत्र घोषणा गरेका हौँ,’ पालिका अध्यक्ष निमा लामाले भने, ‘सय वर्षदेखि यो अभ्यास हामीले गर्दै आएका छौँ । लुम्बिनीले पनि चुम उपत्यकाबाट सिक्नुपर्छ । विश्वलाई अहिंसा सिकाउने चुम उपत्यका नै हो ।’ अहिंसा क्षेत्र अन्यत्र भए पनि ऐनबाट व्यवस्थित गर्ने काम चुमले मात्रै गरेको लामाको भनाइ छ । ‘अहिंसा क्षेत्र अन्यत्र पनि कहीँकहीँ छ । तर ऐन बनाएरै हिंसा निषेध गरेको चुम भ्याली नै पहिलो हो । कहीँ पनि अन्त छैन,’ उनले भने, ‘यो प्रथाजनिक ऐन हो । आदिवासी जनजातिहरूले सदियौँदेखि प्रचलनमा ल्याएको, पुर्खाहरूले मान्दै आएको ऐन हो । यसलाई कानुनी मान्यता हामीले दियौँ । अभ्यास गरेको कुरालाई कानुन बनाउन सम्भव थिएन ।’
अहिंसा क्षेत्र घोषणा भएको १ सय वर्ष पुगेको अवसरमा अघिल्लो वर्ष पालिकाकै अगुवाइमा अहिंसा महोत्सव आयोजना भयो । अहिंसा क्षेत्रको चारकिल्ला तोकिएको छ । लोक्पादेखि तिब्बतको सीमानालाई चारकिल्ला मानेर अहिंसा क्षेत्र घोषणा गरिएको हो । पूर्वमा गणेश हिमाल र पश्चिममा चमारी हिमाललाई किल्ला तोकिएको छ ।
- नियमनका लागि छुट्टै समिति
श्याग्या क्षेत्रको रेखदेख र संरक्षण तथा नियमनका लागि दुई वटा छुट्टाछुट्टै समिति गठन भएका छन् । श्याग्या संरक्षण समूह र संरक्षण समिति ऐनमै व्यवस्था गरिएको हो । समूहको प्रमुख संरक्षक डुक्पा रिन्पोछेलाई राखिएको छ भने संरक्षकका रूपमा लामो समयदेखि योगदान गर्दै आएका व्यक्ति, विशिष्ट धर्म गुरुहरू, गुम्बाका प्रमुख लामा, लाब्राङ, गाउँपालिका अध्यक्ष, सम्बन्धित वडाका वडाध्यक्ष समितिको सदस्य रहनेछन् । प्रत्येक ५ वर्षमा यस्तो समिति फेरबदल हुनेछ ।
यता संरक्षण समितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र ३३ जना सदस्य छन् । चुमबाहेक अन्य क्षेत्रमा पनि स्थानीयको भेलाले सर्वसम्मत प्रतिवद्धता जाहेर गरेर श्याग्या परम्परा लागु गर्न सक्ने व्यवस्था गरिएको छ ।
चुम्बा आदिवासी जनजाति समुदायले भूमि र भूक्षेत्रमा रहेका वनजङ्गल, जीवजन्तु र प्राणीको रक्षाका लागि अवलम्बन गर्दै आएको परम्परागत श्याग्या परम्पराले कानुनी मान्यता पाएको हो । उनीहरूले प्रत्येक वर्ष बुद्ध जयन्तीको दिन श्याग्या दिवस मनाउने गर्छन् ।
वडा नम्बर ६ का अध्यक्ष सरोज लामा अहिंसाको सूत्रमा अहिलेका पुस्ता पनि सक्रिय भएर लागेको बताउँछन् । ‘यहाँ होटलहरू पनि छन् । तर मासु पाइँदैन,’ उनले भने, ‘मासु नखाऊ भनेर कसैलाई रोकेको होइन, स्वःस्फूर्त रूपमा गाउँलेहरू सहमत भएपछि कानुनी मान्यता दिइएको हो ।’
अहिलेका पुस्ता झन् कट्टर भएर नियम पालक बनेको लामाले सुनाए । ‘युवाहरू विभिन्न कामले बाहिर पनि गएका छन् । तर मासु खाएका छैनन् । कोही कसैले खाइ हाले पनि आफैँ पशुको हत्याचाहिँ गर्दैनन्,’ उनले भने, ‘युवा र अहिलेका बालबालिका झन् अनुशासित भएर नियमनको पालना गरेका छन् । सबैलाई पशुपक्षीको हत्या गर्न हुँदैन भन्ने ज्ञान छ ।’
हत्या नगर्ने ठाउँ भएकाले जंगली जनावरहरू समेत गाउँसम्मै आइपुग्ने र मान्छेहरूसँग खेल्ने गर्छन् । ‘काटमार भए पो पशुपक्षी भाग्ने हो । उनीहरूलाई माया गरेपछि उनीहरू मान्छेकै नजिक आइपुग्दा रहेछन्,’ लामाले भने, ‘हिउँ चितुवा, नाउर, झारलहरू घरघरमै आउँछन् ।’
२०६९ पछि चुम्चेत पनि अहिंसा क्षेत्रमा समाहित भएको छ । धेरै पहिले उत्तरी गोरखाका अधिकांश गाउँ अहिंसा क्षेत्रका रूपमा थिए । पछि नियम तोडिएको र अहिले बिस्तारै पहिलेकै अवस्थामा फर्किन थालेका छन् ।
अहिंसा क्षेत्रलाई स्थानीयले पटकपटक अनुमोदन पनि गर्दै आएका छन् । १९९६, २०२७, २०२९, २०५५ सालमा अहिंसालाई निरन्तरता दिने प्रतिबद्धता गाउँलेले अनुमोदन गरेका थिए । २०६५ सालमा तत्कालीन छेकम्पार गाविसको परिषद्ले अहिंसा क्षेत्रको चार किल्ला घोषणा गरेको थियो । २०६६ सालमा पहिलो चुम अहिंसा महोत्सव गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : शेखर कोइराला
-
महिला यु–१९ विश्वकप खेल्ने टोलीको बन्द प्रशिक्षण गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने
-
पाकिस्तानमा आतंकवादी आक्रमण, १६ सैनिकको मृत्यु, ८ घाइते
-
नेपाल प्रिमियर लिग : प्रचण्ड र देउवाद्वारा उपाधि वितरण (तस्बिरहरु)
-
गाजामा २० लाखभन्दा बढी मानिस फसे : संयुक्त राष्ट्रसङ्घ
-
देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री