मङ्गलबार, ०४ मङ्सिर २०८१
ताजा लोकप्रिय
प्रविधि

राष्ट्रिय आविस्कार केन्द्रका इन्जिनियरहरूले बनाए मल्टी रोटर ड्रोन

शुक्रबार, २५ असोज २०८१, १५ : ५९
शुक्रबार, २५ असोज २०८१

काठमाडौँ । महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले मल्टी रोटर ड्रोन बनाएको छ । प्राकृतिक विपत्तिको बेला टाढासम्म राहत तथा औषधिजन्य सामग्री पुर्‍याउन बलियो ड्रोनको निर्माण पुन नेतृत्वको आविष्कार केन्द्रले बनाएको हो ।

दीपेन्द्र बस्नेतलगायतका नेपाली इन्जिनियरले ड्रोन बनाएका हुन् । त्यसका लागि अमेरिकाको म्यासाच्युसेट इन्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) र नेदरल्याण्डको टीयू डेल्फिट विश्वविद्यालयका रिसर्चरले समेत ड्रोन निर्माणमा काम गरेका छन् । 

450869002_10161842823255479_7793265924986194955_n

केन्द्रका अध्यक्ष महावीर पुनका अनुसार धेरै ड्रोन बनाएर विभिन्न जिल्लाको दुर्गम क्षेत्रमा परीक्षण समेत गरिएको छ । परीक्षणको काममा निकै सफल रहेको पुनले बताए । 

उनीहरूले बनाएको लामो दुरीको स्वचालित ड्रोनले अहिलेसम्म करिब ४० किलोमिटरसम्म उडेर सफलतापूर्वक उडेकै ठाउँबाट फर्कन सफल भएको उनको भनाई छ । 

उक्त ड्रोनले २५ किलोग्रामसम्म बोक्न सक्ने ‘मल्टी रोटर ड्रोन’ पनि बनाएर परीक्षण गरिरहेको पुनको भनाई छ । ती ड्रोनहरू बनाउनका लागि चाहिने पार्टपुर्जा केन्द्रले नै व्यवस्थापन गर्दै आएको छ । केन्द्रले त्यसका लागि आवश्यक सामग्रीहरू विदेशबाट ल्याउने गरेको छ । 

ती ड्रोनहरू रिमोटले चलाउने नभई स्वचालित रूपमा निश्चित बाटोमा उडाउने र निश्चित ठाउँसम्म पुर्‍याएर उडेकै ठाउँसम्म ल्याउन सकिने सफ्टवेयरको विकास गरिएको छ । 

अमेरिकाको एमआईटीका पाँच जना विद्यार्थीहरू दुई महिनाका लागि केन्द्रमा इन्टर्नसिप गर्दै आएका छन् । केन्द्रको  ड्रोन टिमले विकास गरेको ड्रोनको कम्युनिकेसन तथा नेभिगेसन सिस्टम बलियो बनाउने, विभिन्न किसिमका ड्रोनको बलियो एअर फ्रेमहरूको डिजाइन गर्ने र परीक्षण गर्ने, ड्रोनले बोक्ने भारी खसाल्ने सिस्टमको विकास गर्ने जस्ता कामहरूमा अझै काम चली रहेको छ । 

नेपाल जस्तो कठिन पहाडी भूगोलमा उपयुक्त हुने ड्रोनको विकास गर्न र परीक्षण गर्न पाउनु उनीहरूको नौलो अनुभव रहेको पुनले बताए । 

WhatsApp Image 2024-10-10 at 5.00.59 PM (1)

  • कसरी बन्यो बलियो ड्रोन ?

नेपालमा हरेक वर्ष प्राकृतिक विपत्ति कारण सयौँले ज्यान गुमाउने गरेका छन् । महिनौँसम्म बाटोघाटो बन्द हुँदा अत्यावश्यक सामग्री तथा औषधिसमेत पुर्‍याउन कठिन हुने गरेको छ । यस्तो अवस्थामा ती क्षेत्रमा औषधिजन्य सामग्री पुर्‍याउन के कसरी काम गर्न सकिन्छ भनेर केन्द्रले गृहकार्य गरेको थियो । 

त्यसपछि आएको थियो, एस्ट्रिम ड्रोनको अवधारणा । उक्त ड्रोन बनाउन सन् २०१७ देखि नै बस्नेतलगायतका इन्जिनियरहरू सक्रिय भएर लागेका छन् । ड्रोन बनाउन आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग केन्द्रले प्रदान गर्दै आएको छ । 

450259005_10161842823075479_4190980172264317911_n

‘१० जनाभन्दा बढी नेपाली रिसर्चरले काम गरिरहेका छौँ । विदेशी रिसर्चरहरूले भोलेन्टियर रूपमा काम गर्दै आउनु भएको छ,’ बस्नेतले भने ।  

अत्यावश्यक सामग्रीहरू एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउन सकिने खालको उक्त ड्रोन ११० किलोमिटर प्रति घण्टाको स्पिडमा उडान भर्ने बताइएको छ । 

‘यो सामान्य जस्तो ड्रोन होइन । लामो दूरीका लागि अत्यावश्यक सामाग्रीहरू पुर्‍याउनु परेको खण्डमा प्रयोग गर्न सकिन्छ । छोटो समयमा टाढासम्म पुर्‍याउन सकिन्छ । यसलाई एस्ट्रिम ड्रोन भनिन्छ । मुख्यतया औषधिको ओसार पसारका लागि हो यो,’ उनले भने । 

केन्द्रमा अहिले पनि विभिन्न चरणका काम भइरहेकै छन् र यसलाई नेपाली परिवेश अनुसार निर्माण गर्ने प्रयत्नहरू भई रहेका छन् उनको भनाई छ । 

यो मल्टिपल ड्रोन भएकाले एकै पटक धेरै सामग्री पुर्‍याउन सकिने उनको कथन छ । ‘एकै पल्टमा धेरै ड्रोन उडाउन सकिन्छ । कृषि क्षेत्रमा प्रयोग गर्न सकिन्छ । अन्य फिल्डमा सुरु गरिसकेका छैनौँ । आवश्यकताका आधारमा हामीले परीक्षण गर्छौँ,’ उनले भने । 

449958220_10161842823090479_1205443206581843643_n

अहिलेसम्म व्यावसायिक रूपमा माग नआएकाले व्यावसायिक रूपमा नगएको उनको भनाइ छ । उक्त ड्रोनलाई हालै आएको बाढी पहिरोपछि प्रयोग गर्न पाइएको छैन । ‘हामीहरू त्यतिबेला रामेछापमा मेडिकल ड्रोनको परीक्षणमा थियौँ, वर्षात सुरु भई हाल्यो । त्यसैले यसको प्रयोग गर्न पाइएन,’ उनको भनाई छ । 

केन्द्रले ड्रोन बनाउने काम मात्र नभई ड्रोनको पुरै इकोसिस्टममै काम गरिरहेको छ । ड्रोन उडाने मात्रै नभई अन्य नीतिगत तथा अन्य विषयमा समेत काम भइरहेको उनको भनाइ छ । 

व्यावसायिक रूपमा काम गर्नका लागि नेपालको नीति नियम बाधक रहेको उनीहरूको अनुभव छ । यसको नियमन गर्दै आएको नागरिक उड्डयन प्राधिकरणले ड्रोनहरू ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरेर चार तहमा विभाजन गरेको छ । सोही आधारमा ड्रोन उडान अनुमति दिने गरिएको छ । 

तर, यो स्तरको ड्रोन नेपालमा यसअघि कहिल्यै पनि प्रयोगमा नआएकाले यसलाई नियामक निकायले समेत स्पष्ट दिशानिर्देश गर्न सकेको छैन ।

‘प्राधिकरणले विभाजन गरेको कुनै पनि तहमा हामी पर्दैनौँ । प्राधिकरणले बाहिरबाट आयात गरेकालाई मात्रै श्रेणीमा विभाजन गर्दै आएको छ । हामीले यहीँ बनाएकाले यसमा पनि कुनै पोलिसी छैन,’ उनले भने ।  

316250570_1861384224261867_4331714592446187316_n

केन्द्रले अहिले युरोपियन र इन्डियन गाइडलाइनका आधारमा ड्रोन बनाइरहेको छ । तर, त्यसलाई अनुमति दिने वा कसरी नियमन गर्ने प्राधिकरणसँगै स्पष्ट नीति छैन । 

स्थानीय तहहरूले समेत यसमा इच्छा देखाएको खण्डमा उनीहरूको आवश्यकताका आधारमा ड्रोनको निर्माण तीव्र बनाउन सकिने बस्नेतको भनाइ छ । 

‘हाम्रो देशको आवश्यकता के हो ? त्यस आधारमा स्थानीय तह वा सरकारले नीति बनायो भने सजिलो हुन्छ भन्ने हाम्रो विश्वास छ ।,’ उनले भने । 

पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले मल्टी रोटर ड्रोन निर्माणमा सोचे भन्दा राम्रो प्रगति गरिरहेको अवस्थामा राज्यले यसमा कस्तो नीति लिन्छ भन्नेले उनीहरूको खोज र निर्माणलाई प्रभावित पार्ने निश्चित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप