शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय
कूटनीति

नेपाली चाडपर्वमा रमाउँछन् राजदूतहरू

शुक्रबार, २५ असोज २०८१, १५ : ३०
शुक्रबार, २५ असोज २०८१

काठमाडौँ । ‘नेपालमा चङ्गा चेट प्रतियोगितामा भाग लिएको यो पहिलो पटक हो । पब्लिक अफेयर्स चीफ माइक, जसले राम्रो चङ्गा नभएका कारण हारेको बहाना बनाए । हाँसो, मजाक एकातर्फ तर सम्पूर्ण टोलीको दिन राम्रो रह्यो । खुसी, एकता र सामुदायिकता दसैँको मुटु हो र यही नै यस दिनको महत्त्व हो । दसैँ पर्वको सातौँ दिनमा प्रवेश गर्दा हामी तपाईँलाई हाँसो, खुसी र रमाइलोको कामना गर्छौँ ।’

नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले आफ्नो एक्समा दसैँका अवसरमा बिहीबार दिएको सन्देश हो यो । 

दसैँको अवसरमा भिडियोसहित दिइएको सन्देशले नेपालका सांस्कृतिक पर्वहरूमा कूटनीतिक नियोगहरू कसरी सक्रियता पूर्वक आफ्ना सहभागिता जनाई रहेका छन्, भन्ने पछिल्लो उदाहरण हो यो । नेपालीहरूको महान् चाड दसैँमा नेपाली मात्र होइन, कूटनीतिक नियोग तथा राजदूतावासका अधिकारीहरू पनि रमाइ रहेका छन् । 

thmpson

राजदूत थप्सनले राखेको भिडियोमा उनी दौरा सुरवाल र ढाका टोपीमा सजिएका छन् भने पब्लिक अफेयर्स चीफ माइकले कुर्ता–सुरुवाल लगाएका छन् । चङ्गा चेटका लागि अमेरिकी दूतावासमा काम गर्दै गरेका कूटनीतिज्ञलाई दुई समूहमा विभाजित गरेर प्रतिस्पर्धा गराइएको थियो । 

चङ्गा उडाउने प्रतियोगितामा राजदूत थम्पसनको टिमले जित हासिल गरेपछि माइकले ठट्यौली पारामा ‘आफ्नो चङ्गा राम्रो नभएकाले पराजित हुनु परेको’ बताएका थिए । राजदूत थम्प्सनले आफ्नो एक्समा त्यही कुरालाई मजाकिया ढङ्गले उल्लेख गरेका छन् । 

नेपालस्थित अमेरिकी दूतावासले दसैँमा मात्र होइन, नेपालका हरेक महत्त्वपूर्ण चाडपर्व धूमधाम साथ मनाई रहेको हुन्छ । भर्खरै सम्पन्न नेपाली महिलाहरूको महान् चाड तीजमा पनि राजदूतावास भित्रै एक कार्यक्रमको आयोजना गरी नाचगानसहित तीज मनाइएको थियो ।

तिहारलाई पनि उनीहरू यसै गरी धूमधाम साथ मनाउने गर्छन् । कूटनीतिक नियोगमा सम्बन्धित देशका कूटनीतिज्ञसहित नेपालीले पनि काम गरिरहेका हुन्छन् । तर, उनीहरूले त्यहाँ मनाउने गरेको पर्वमा हामी सबै नेपाली जस्तै हौँ भन्ने सन्देश प्रवाहित गर्न खोजेको बुझ्न सकिन्छ ।

पछिल्लो समय नेपालस्थित चीन, बेलायतलगायत अन्य दूतावासले पनि नेपालका विभिन्न चाडपर्वमा उल्लासपूर्वक सहभागिता जनाउन थालेका छन् । नेपाल र भारतको धेरैजसो चाडपर्व मिल्दो–जुल्दो भएकाले भारतीय दूतावासमा मनाइने चाडपर्वलाई अन्यले त्यति चासोसाथ हेरिरहेका हुँदैनन्, जति चासो अमेरिका, चीन र बेलायतलगायतका दूतावासतर्फ हुन्छ । 

UK

नेपालस्थित बेलायती दूतावासमा जमरा राखिएको छ । टिकाका दिन दूतावासका कर्मचारी तथा मान्यजनबाट टिका थाप्ने कार्यक्रम राखिएको छ । बेलायती दूतावासले त नागपञ्चमी र विश्वकर्मा पूजा पनि नेपाली परम्परा अनुसार नै मनायो ।

त्यति मात्र होइन, नेपालका लागि बेलायती राजदूत रब फेन गत जुनमा मुक्तिनाथ दर्शन गर्न गए । मुक्तिनाथ गएको बेला उनले त्यहाँ गरेको पूजा पाठ र स्नानको भिडियो आफ्नो सामाजिक सञ्जालबाट सार्वजनिक गरे । यसका साथै आफूले नेपाल बसाइँका क्रममा आफूले नेपाली सिक्दै गरेको भिडियो पनि उनले आफ्नो एक्समा राखेका छन् । 

यो पनि सांस्कृतिक कूटनीतिको एउटा महत्त्वपूर्ण पाटो नै हो । त्यसैले उनीहरू आफ्नो पहिरन, चाडपर्वलाई विशेष महत्वसाथ हेर्ने गर्छन् । उदाहरणका लागि कूटनीतिक नियोगका अधिकारीहरू मधेस जाँदा कुर्ता–पाइजामा गम्छा लगाउने गर्छन् भने । पहाड वा हिमालतिर जाँदा दौरा सुरुवाल र ढाका टोपी लगाउने गर्छन् । 

त्यस्तै नेपालका लागि चिनियाँ राजदूत चेन सोङले घटस्थापनादेखि नै नेपालीमाझ शुभकामना दिँदै आएका छन् । उनले आज पनि दसैँको अवसरमा शुभकामना सन्देश दिएका छन् । 

उनले आफ्नो एक्समा लेखेका छन्, ‘विजया दशमी २०८१ को उपलक्ष्यमा सम्पूर्ण नेपाली मित्रहरूलाई सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप