शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी महिला टी–२० विश्वकप

६ पटकको च्याम्पियन अस्ट्रेलियालाई पहिलो उपाधिको खोजीमा रहेको पाकिस्तानको चुनौती

शुक्रबार, २५ असोज २०८१, १४ : ५९
शुक्रबार, २५ असोज २०८१

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा शुक्रबार एक खेल खेलिने छ । उक्त खेलमा सर्वाधिक ६ पटकको च्याम्पियन अस्ट्रेलियाले हालसम्म उपाधिको स्वाद चाख्न नपाएको पाकिस्तानसँग भिडन्त गर्नेछ ।

उक्त खेल नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा अस्ट्रेलिया र पाकिस्तान समूह ‘ए’ मा परेका छन् । यी दुवै टोलीले हालसम्म दुई–दुई खेल खेलेका छन् । अङ्क तालिकामा हालसम्म स्थिति हेर्दा पाकिस्तानभन्दा अस्ट्रेलिया बलियो देखिन्छ ।

अस्ट्रेलियाले दुवै खेलमा जित हात पारेको छ । साबिक विजेता समेत रहेको अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा पनि अस्ट्रेलियन टोलीले बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डमाथि ६० रनको जित हात पारेको थियो ।

पाकिस्तानले भने दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । पाकिस्तानी टोलीले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ३१ रनले पराजित भएको थियो । तर, आफ्नो दोस्रो खेलमा पाकिस्तानी टोली चिर प्रतिद्वन्द्वी भारतसँग ६ विकेटले पराजित भएको थियो ।

Paki

दुई खेलबाट चार अङ्क बटुलेको अस्ट्रेलिया तालिकाको पहिलो स्थानमा आसीन छ । तीन खेलबाट चार अङ्क बटुलेको भारत दोस्रो र दुई खेलबाट दुई अङ्क हात पारेको पाकिस्तान तेस्रो स्थानमा छन् । दुई खेल खेलेको न्युजिल्यान्ड दुई अङ्कसहित चौथो स्थानमा छ ।

यसैगरी, तीनवटै खेलमा पराजित भएको श्रीलंका भने यसअघि नै उपाधि होडबाट बाहिरिने निश्चित भइसकेको छ । समूहगत चरणको खेलपछि अङ्क तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्न प्रावधान छ ।

त्यसैले शुक्रबार हुने खेलमा पाकिस्तानसँग जितको विकल्प छैन । अर्कोतिर, अस्ट्रेलिया पनि यो खेलमा पाकिस्तानलाई हराउँदै  सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउने धुनमा देखिन्छ । दुई फरक लक्ष्यसहित अस्ट्रेलिया र पाकिस्तान मैदानमा ओर्लँदा दर्शकले भने भरपुर मनोरञ्जन पाउने छन् ।

पाकिस्तान र अस्ट्रेलिया दुवैले सन् २००९ मा सम्पन्न पहिलो संस्करणदेखि नै महिला टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । अस्ट्रेलिया महिला विश्वकपको सर्वाधिक सफल टोली पनि हो । अस्ट्रेलियाले हालसम्म ६ पटक उपाधि जितिसकेको छ ।

अस्ट्रेलियाले सन् २०१० (दोस्रो संस्करण) मा पहिलो पटक उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई तीन रनले हराएको थियो । सन् २०१२ मा पनि अस्ट्रेलिया च्याम्पियन बनेको थियो । त्यतिबेला फाइनलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई चार रनले हराएको थियो ।

यसैगरी, सन् २०१४ को उपाधि पनि अस्ट्रेलियाले नै चुमेको थियो । अस्ट्रेलियाले फाइनलमा इङ्ल्यान्डलाई ६ विकेटले हराउँदै उपाधिमा ह्याट्रिक गरेको थियो । अस्ट्रेलियाले सन् २०१८ मा चौथो पटक उपाधि उचालेको थियो ।

Aust

त्यो विश्वकपको फाइनलमा पनि अस्ट्रेलियाले इङ्ल्यान्डलाई नै आठ विकेटले पराजित गरेको थियो । अस्ट्रेलियाले सन् २०२० मा पाँचौँ पटक उपाधि चुमेको थियो । फाइनलमा अस्ट्रेलियाले भारतलाई ८५ रनले हराएको थियो ।

यसैगरी, अस्ट्रेलियाले सन् २०२३ मा छैटौँ पटक उपाधिमाथि कब्जा जमाएको थियो । त्यतिबेला अस्ट्रेलियाले फाइनलमा दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै उपाधिमा दोस्रो पटक ह्याट्रिक गरेको थियो । त्यसैले अस्ट्रेलिया टी–२० महिला विश्वकपको साबिक विजेता पनि हो ।

अर्कोतिर, पाकिस्तानी टोलीले भने हालसम्म महिला टी–२० विश्वकपको उपाधि उचाल्न सकेको छैन । यतिमात्र होइन, यो दक्षिण एसियाली टोली त हालसम्म महिला टी–२० विश्वकपको फाइनलमा पनि पुग्न सकेको छैन ।

तथ्याङ्कमा पनि अस्ट्रेलियाभन्दा पाकिस्तान कमजोर देखिन्छ । हालसम्म महिला टी–२० विश्वकपमा यी दुई टोलीबिच चारपटक भिडन्त भएको छ । त्यसमध्ये चारवटै खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई पराजित गरेको छ । अस्ट्रेलियन टोलीले तीनपटक पहिलो ब्याटिङ गरेर र एकपटक जवाफी ब्याटिङ गरेर खेल जितेको हो ।

अस्ट्रेलिया यसपटक एलिसा जिन हेलीको कप्तानीमा रहेको छ । ३४ वर्षीया अनुभवी खेलाडी हेली टोलीकी प्रभावशाली ब्याटर हुन् । उनले अस्ट्रेलियाका लागि टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० गरी तीनवटै ढाँचाको प्रतियोगितामा अब्बल प्रदर्शन गर्दै आएकी छन् । ताहलिया म्याकग्रा अस्ट्रेलियन टोलीकी उपकप्तान हुन् ।

यसैगरी, पाकिस्तानी टोलीको कप्तान फातिमा साना हुन् । २३औँ वर्ष प्रवेशको सँघारमा रहेकी साना फातिमा पाकिस्तानका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेकी छन् । उनले हालसम्म टेस्ट क्रिकेटमा भने ‘डेब्यू’ गरेकी छैनन् । उनी टोलीकी अलराउन्डर खेलाडी हुन् ।

तर, विश्वकप चलिरहँदा पाकिस्तानी टोलीका लागि एउटा दुःखद खबर आएको छ । पाकिस्तानी टोलीकी कप्तान फातिमा सानाको पिताको निधन भएको छ । पिताको निधनको खबर प्राप्त भएपछि पाकिस्तानी टोलीकी कप्तान फातिमा साना यूएईबाट घर फर्किएकी छन् । फातिमा साना पाकिस्तानको कराँचीमा बस्छिन् ।

आफ्नो प्रभावशाली खेलाडीको अनुपस्थितिले पाकिस्तानलाई ठुले झट्का लागेको छ । फातिमा सानाको अनुपस्थितिमा अब पाकिस्तानी टोलीको कप्तानको भूमिका उपकप्तान मुनिबा अलीले निर्वाह गर्ने बताइएको छ । समाचारमा जनाइए अनुसार, स्ट्रोकका फातिमा सानाको पिताको निधन भएको हो ।

महिला टी–२० विश्वकपको नवौँ संस्करणमा १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।

यसैगरी, समूह ‘बी’ मा बंगलादेश, इङ्ल्यान्ड, स्कटल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका छन् । समूहगत चरणको खेल अक्टोबर १५ तारिखसम्म चल्नेछ । त्यसपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल अक्टोबर १७ र दोस्रो सेमिफाइनल खेल अक्टोबर १८ तारिखमा खेलिने छ ।

सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग र समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा विजयी दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि अक्टोबर २० तारिखमा फाइनल खेल खेलिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप