शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरले विद्यार्थीको नतिजा सुधार्न दसैँ तिहारको बिचमा ‘फेस्टिभल क्याम्प’ गर्ने

शुक्रबार, २५ असोज २०८१, १४ : ५६
शुक्रबार, २५ असोज २०८१

काठमाडौँ । विद्यार्थीहरूको नतिजा सुधारका लागि काठमाडौँ महानगरपालिकाले ‘फेस्टिभल क्याम्प’ गर्ने भएको छ । कक्षा १० का विद्यार्थीलाई लक्षित गरेर काठमाडौँ महानगरले दसैँ र तिहारको बिचमा ‘फेस्टिभल क्याम्प’ गर्ने भएको हो । 

क्याम्पमा सहभागी हुन दुई हजार २७७ जना विद्यार्थीले चासो देखाएको सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले जानकारी दिए । ११ वटा स्रोत केन्द्र र एसइई परीक्षामा १५० भन्दा बढी विद्यार्थी भएका ५ ठुला विद्यालय गरी १६ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहनेछ । क्याम्पका लागि कम्तीमा १५० जना विद्यार्थी सहभागी हुनुपर्नेछ । विद्यार्थीलाई क्याम्पमा सहभागी हुन अनिवार्य गरिएको छैन । 

यसअन्तर्गत सञ्चालन हुने सिकाइको एउटा कक्षामा कम्तीमा २५ जना र बढीमा ३५ जना विद्यार्थीलाई सहभागी गराइनेछ । गणित, विज्ञान र सामाजिक विषयमा सहयोग गर्ने गरी परियोजनामा आधारित कक्षा चल्नेछन् । स्टिम शिक्षा शास्त्रको सिद्धान्त, इ–लर्निङ, उत्प्रेरणात्मक कक्षा, कला, संगीत, खेलकुद, सांस्कृतिक कार्यक्रम, क्याम्प फायर र स्टार गेजिङमा सहभागी हुन पाउनेछन् । 

कक्षा १० का विद्यार्थीहरूलाई अध्ययनप्रति रुचि जगाउनु कार्यक्रम सञ्चालनको मुख्य उद्देश्य हो । यस प्रकारको सिकाइबाट नतिजामा सुधार हुने अपेक्षित नतिजा हो । 

नेतृत्व परिवर्तनसँगै शैक्षिक क्षेत्रको सुधारका लागि गुणात्मक र परिमाणात्मक कार्यक्रमलाई प्राथमिकता दिएर सञ्चालन गरिएका छन् । सङ्घीय सरकारको मापदण्डबमोजिम ५ कक्षासम्मका विद्यार्थीलाई निःशुल्क खाजाको सुविधा उपलब्ध गराउने रकम दोब्बर गरी गरिएको छ । सामुदायिक विद्यालयको कक्षा १० सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई दिवा खाजाका रूपमा सन्तुलित आहार समेत प्रदान गर्दै आएको छ । 

पुस्तकविहीन शुक्रबार (बुक फ्री फ्राइडे) ले विद्यार्थीहरूलाई गहन सोच्ने क्षमता, रचनात्मकता, सञ्चार र सहकार्यको अभ्यासमा उत्प्रेरित गरेको छ । गुणस्तरीय शिक्षाका लागि प्रधानाध्यापक र शिक्षकहरूलाई स्वामित्व सिर्जना गर्न क्षमता विकास र प्रोत्साहनका कार्यक्रम थालिएको आयोगका सदस्य झाले बताए । 

११ वटा स्रोत केन्द्रमा ११ जना स्रोत शिक्षक नियुक्ति गरिएको छ । यो नयाँ अभ्यासले नेतृत्वको नीतिलाई कार्यान्वयनसँग जोडेको महानगरको दाबी छ । गएको वर्ष ग्रेड सुधार गर्न  अतिरिक्त समयमा उपचारात्मक कक्षा सञ्चालन गर्न विद्यालयहरूलाई आर्थिक अनुदान प्रदान गरिएको थियो । २०८० सालको एसईई परीक्षामा ७८ प्रतिशत विद्यार्थीहरूले बी ग्रेडभन्दा माथिको नतिजा हासिल गरेका थिए । गएको वर्षको यो सफल अभ्यासलाई निरन्तरता दिँदै महानगरपालिकाको गौरव योजना अन्तर्गत ‘गरिखाने शिक्षा, महानगरको ईच्छा’ अन्तर्गत विद्यार्थीको नतिजा सुधार गर्न दसैँ र तिहारको बिच र जाडो बिदामा एसइई सहायता हुने गरी क्याम्प सञ्चालन गर्न लागेको हो । 

प्रत्येक दिन कक्षा १०ः३० बजे सुरु भएर दिउसो ४ बजे सकिनेछ । प्रत्येक केन्द्रमा शिविरको पहिलो र अन्तिम दिन उद्घाटन र समापन समारोह हुनेछ । उद्घाटन समारोह विद्यार्थीहरूलाई अभिमुखीकरण गर्न प्रयोग गरिनेछ भने समापन समारोह संलग्नताको मूल्याङ्कन हुने झाले जानकारी दिए । सांस्कृतिक कार्यक्रम, साङ्गीतिक प्रस्तुति, खेलकुद गतिविधि, क्याम्प फायर र स्टार गेजिङ सम्बन्धी जस्ता कार्यक्रम समेत राखिएको झाको भनाइ छ । 

क्र_page-0001क्र_page-0002

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप