नोबेल साहित्य पुरस्कार पाउने हान काङ र उनका कृति
सन् २०२४को साहित्य तर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान काङले पाउने भएकी छन् । काङको प्रशंसा गर्दै उक्त घोषणामा उनले ‘गहन काव्यिक गद्यमार्फत इतिहासका आघात र मानव जीवनका जर्जरतालाई उघारेर लेख्ने गरेको भनिएको छ ।
उनी यो पुरस्कार पाउने पहिलो एसियाली महिला तथा दोस्रो कोरियाली नागरिक हुन् । ५३ वर्षीया हान काङले प्राप्त गरेको साहित्यतर्फको नोबेल पुरस्कार कोरियाली जनताकै लागि ऐतिहासिक र गर्वको विषय रहेको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
हानको जन्म सन् १९७० मा कोरियाको ग्वाङ्जुमा भएको थियो । उनी सानै छँदा उनीहरू त्यहाँबाट बसाई सरेर सिओल गए । उनले योन्सेइ विश्वविद्यालयमा कोरियाली साहित्यको अध्ययन गरिन् । सन् ९० को दशकसम्म आई पुग्दा–नपुग्दै उनले कथा र कवितामा आफूलाई अभिव्यक्त गर्न थालिसकेकी थिइन् । उनको पहिलो उपन्यास ‘अ लभ अफ एओसु’ सन १९९५मा प्रकाशित भएको थियो ।
कोरियाका प्रतिष्ठित साहित्यिक पुरस्कार ‘हो–अम पुरस्कार’, ‘तोङ यिन साहित्यिक पुरस्कार’ र ‘यी साङ साहित्यिक पुरस्कार’ बाट उनी पहिले नै सम्मानित भई सकेकी छन् । उनी कोरियाली साहित्य अनुरागी र कोरियाली पाठकमाझ पहिलेदेखि नै चर्चित छिन् । यति मात्र होइन उनले साहित्यको अर्को सम्मानित पुरस्कार बुकर पनि पाएकी छन् ।
यी दक्षिण कोरियाली लेखकबारे तपाईं अनविज्ञ हुनुहुन्छ भने आउनुस् उनका कृतिबारे केही कुरा बुझौँ ।
- चर्चित पुस्तक
एक दशक अघि लेखेको पुस्तकका लागि उनले सन् २०१६ मा अन्तर्राष्ट्रिय बुकर पुरस्कार हात पारेकी थिइन् । सन् २०० ७मा ‘द भेजेटेरिएन’ शुरुमा दक्षिण कोरियाबाट प्रकाशित भएको थियो । यो उपन्यास उनको सन् १९९७ मा प्रकाशित कथा ‘द फ्रुट अफ माई वोमन’ मा आधारित थियो ।
पछि यसको अङ्ग्रेजीमा अनुवाद भयो । पुस्तकका अनुवादक देविराह स्मिथले पनि उनीसँगै अन्तर्राष्ट्रिय बुकर पुरस्कार पाए । उनीहरूको सहकार्य जम्न थाल्यो । यससँगै उनको अन्तर्राष्ट्रिय साहित्य जगतमा प्रभावशाली प्रवेश भयो ।
‘द भेजेटेरियन’ एक महिला एअङ–हाईको अद्वितीय कथा हो । जब उनले मध्यम वर्गको सामाजिक मान्यतालाई नाघ्दै मासु खान अस्वीकार गर्छिन् । उनले मासु खान इन्कार गरेपछि जुन तनाव उत्पन्न हुन्छ, त्यसले उनलाई सामाजिक बहिष्करणसम्म पुर्याउँछ । समाजमा उनको यो व्यवहारलाई अस्वाभाविक र पागलपनको रूपमा हेरिन्छ ।
मासु खान छोड्ने जस्तो सामान्य कुराले पनि ठुलो स्वरूप ग्रहण गर्दै गएपछि सिङ्गै परिवार नै सामाजिक बहिष्करणमा पर्न थाल्छ । उपन्यासमा यसै उतार–चढावलाई मसिनो गरी बुनिएको छ ।
हानले कोरियाली समाज भित्रको जर्जरतालाई सजीव ढङ्गले प्रस्तुत गर्न सक्नु नै यस उपन्यासको मुख्य विशेषता हो । उनले देविराह स्मिथको सहायतामा उत्कृष्ट गद्यसहित सामाजिक जीवनमा भएका आक्रोश र नक्कली सजावटलाई सन्तुलित ढङ्गले उपन्यासमा उकेरेकी छन् ।
- नयाँ पुस्तक
तपाईं हानको पछिल्लो उपन्यास पढ्न चाहानु हुन्छ भने केही तत्त्वले यसमा प्रभाव पार्न सक्छन् । जस्तो तपाई कोरियाली भाषा पढ्न सक्नु हुन्छ भने वा मौलिक र अनूदित कृतिको फरकबारे ख्याल गर्नुहुन्छ भने तपाईंले सन् २०२१मा प्रकाशित ‘डन्ट से गुडवाई’ पढ्नु पर्ने हुन्छ ।
कोरियाली भाषामा पढ्न अप्ठेरो छ भने तपाईंले आगामी वर्षसम्म कुर्नु पर्ने हुनसक्छ । आगामी वर्ष उनको उपन्यास अनुवाद भई प्रकाशित हुने विश्वास लिइएको छ । यसको अङ्ग्रेजी अनुवाद इमिलि याए वोन र पैज अनिह्या मोरिसले गर्दैछन ।
त्यस भन्दा अघि सन् २०१६मा कोरियामा उनको ‘व्हाइट’ नामको उपन्यास प्रकाशित भएको थियो । यसलाई स्मिथले नै अङ्ग्रेजीमा अनुवाद गरेका थिए । यसको अङ्ग्रेजी संस्करणको नाम ‘द व्हाइट बुक’ राखिएको थियो । यद्यपि अन्तर्राष्ट्रिय पाठकका लागि उनको पछिल्लो उपन्यास ‘ग्रीक लेसन्स’ हो ।
गत वर्ष अङ्ग्रेजीमा प्रकाशित ‘ग्रीक लेसन्स’ शुरुमा सन् २०११मा कोरियामा ‘ग्रीक टाइम’ नाममा प्रकाशित भएको थियो । यो पनि स्मिथ र याए वनले नै अनुवाद गरेका हुन । यसको पनि विषय ‘द भेजेटेरियन’ जस्तै छ । यसले एक अदना बनाइएकी महिलाको अस्तित्व यात्राको कथा कहन्छ ।
यसमा भने एक मौन नारीले भाषाको क्षमता हासिल गर्ने प्रयास स्वरूप प्राचीन ग्रीक भाषाको तालिम लिन्छिन् । जब उनी आफ्नो व्यक्तिगत जीवनका क्षतिबारे सोच्न थाल्छिन् र त्यसमा आफ्नो वाणी गुमेको कुरालाई महसुस गर्छिन् त्यसपछि उपन्यास सुरु हुन्छ ।
उनका भावनाहरू उनलाई ग्रीक भाषा सिकाउने शिक्षकका भावनासँग उस्तै देख्न थाल्छन् । त्यी शिक्षकले पनि दृश्य र आफ्नो परिवार गुमाएका हुन्छन् । आकारमा सानो पुस्तक भएता पनि यसले हामीलाई ‘द भेजेटेरियन’ भन्दा अझै परसम्म लैजान्छ । हामीले प्रयोग गर्ने भाषाको प्रयोग गरेर हामीलाई मानवताको अन्तर्यको चिरफार गर्ने ठाउँसम्म लैजान्छिन् लेखक ।
- त्यस पछि,
हानका पुस्तकहरूको सूची लामो छ । तर, अङ्ग्रेजीमा अनूदित कृतिको सङ्ख्या तुलनात्मक रूपमा थोरै छ । दुई वर्ष अघि नोबेल पुरस्कार जितेकी एनी एर्नक्सकै जस्तो भयो भने उनका कृति पनि पुरस्कार पाएपछि व्यापक रूपमा अनुवाद भएर सहजै उपलब्ध हुन सक्छन् ।
‘द व्हाइट बुक’ ले पाठकलाई हानको साहित्यिक लेन्सबाट युरोप चिहाउन मद्दत गर्छ । यसको कथा दोस्रो विश्व युद्धपछिको पोल्याण्ड वरपर घुम्छ । यसमा ६५ सेता वस्तुहरूको माध्यमबाट पीडाको विहङ्गम चित्रण गरेकी छन् ।
म्यागी नेल्सनको ‘ब्लुएट्स’ पढेका जो कसैले पनि यस्तो शैली साहित्यिक रूपमा कति शक्तिशाली हुन्छ भन्ने बुझ्न सक्छन् । अर्को सुन्दर कृति ‘ह्युम्यान एक्ट्स’ ले हामीलाई ग्वाङ्जु विद्रोहको वरपर पुर्याउँछ ।
कोरियामा १८ मे १९८० मा भएको विद्यार्थी आन्दोलनलाई ग्वाङ्जु विद्रोह भनेर चिनिन्छ । यो विद्रोह सैन्य ‘कु’ बाट स्थापित हुने कोरियाली अधिनायकवादका विरुद्ध भएको थियो । यो विद्रोहलाई अमेरिकी सेनाको सहयोगमा दबाइएको थियो ।
हान काङका अनुसार ‘ह्युम्यान एक्ट्स’ उनको खास प्रतिनिधिमूलक कृति हो । यसले गैह्र–कोरियाली पाठकलाई कोरियाको इतिहास, ऐतिहासिकताका महत्त्वपूर्ण उकाली–ओरालीबारे महत्त्वपूर्ण अन्तर्दृष्टि प्रदान गर्छ ।
(युरो न्युजबाट)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोत नखुलेको रकम अर्काकै बोके पनि सम्पत्ति शुद्धीकरणमा सजाय, सर्वोच्चको यस्तो छ फैसला
-
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
माथिल्लो कर्णाली आयोजना : १६ वर्षदेखि लगानीको प्रतीक्षा, दुई महिना म्याद बाँकी
-
इङ्गल्यान्डका चर्चित क्रिकेटर रवि बोपराले चितवन राइनोजबाट खेल्ने
-
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
-
फ्राईडे रिलिज : देशभर ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा