शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय सभा अध्यक्ष दाहाल स्वीट्जरल्याण्ड जाँदै

शुक्रबार, २५ असोज २०८१, १३ : ३६
शुक्रबार, २५ असोज २०८१

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल शनिबार बिहान २ बजेर १५ मिनेटमा स्वीट्जरल्याण्ड प्रस्थान गर्ने भएका छन् । अन्तर-व्यवस्थापिका संघको १४९ औँ महासभामा सहभागी हुन उनी स्वीट्जरल्याण्ड जान लागेका हुन् । 

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले दिएको जानकारी अनुसार ९ (नौ) सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष दाहाल स्वीट्जरल्याण्ड प्रस्थान गर्ने भएका हुन् । गिरीले दिएको जानकरी अनुसार असोज २७ देखि कार्तिक १ गतेसम्म कार्यक्रम अन्तर-व्यवस्थापिका संघको प्रधान कार्यालय रहेको स्वीट्जरल्याण्डको जेनेभामा सञ्चालन हुनेछ ।

अध्यक्ष दाहाल सँगै प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्यहरू सुनिता बराल र निशा डाँगी, राष्ट्रिय सभाका माननीय सदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, संघीय संसद् सचिवालयका सहसचिव सीता वाग्ले काफ्ले, उपसचिव नमराज नगरकोटी र अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव विष्णुप्रसाद सापकोटा समावेश छन् ।

‘संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त र विश्व शान्तिको मूल्यमान्यताप्रति दृढता व्यक्त गर्दै महासभामा सम्माननीय अध्यक्षज्यूले शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग विषयको जेनेरल डिवेटमा संघीय संसद्, नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ‚’ गिरीले भने ।  

महासभामा सहभागी भई प्रतिनिधिमण्डल १९ अक्टोबर अर्थात् कार्तिक ३ गते शनिबार राती १ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको गिरीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप