काभा यू–२० च्याम्पियनसिप : नेपालले आज कोलम्बोमा तुर्कमेनिस्तानसँग लिग चरणको अन्तिम खेल खेल्दै
![काभा यू–२० च्याम्पियनसिप : नेपालले आज कोलम्बोमा तुर्कमेनिस्तानसँग लिग चरणको अन्तिम खेल खेल्दै](https://npcdn.ratopati.com/media/news/volleyball_nMv0Lb564W.jpg)
काठमाडौँ । श्रीलंकाको राजधानी कोलम्बोमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० च्याम्पियनसिपमा नेपालले शुक्रबार आफ्नो पाँचौँ खेल खेल्दैछ । नेपाली टोलीले पाँचौँ खेल तुर्कमेनिस्तानसँग खेल्न लागेको हो ।
नेपाल र तुर्कमेनिस्तानबिचको खेल नेपाली समय अनुसार, दिउँसो १४ः१५ बजे सुरु हुनेछ । यसअघि चार खेल खेलिसकेको नेपालले मिश्रित नतिजा निकालेको छ । नेपाली टोलीले दुई जित र दुई हारको नतिजा निकालेको छ ।
नेपाली टोलीले आफ्नो पहिलो खेलमा आयोजक श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो । नेपाली टोली आफ्नो दोस्रो खेलमा भने उज्वेकिस्तानसँग १–३ सेटले पराजित भएको थियो । त्यसपछि नेपाली टोलीले आफ्नो तेस्रो खेलमा उत्कृष्ट प्रदर्शनसहित माल्दिभ्सलाई ३–० को सोझो सेटमा पाखा लगाएको थियो ।
उक्त खेलमा प्रारम्भदेखि नै नेपालले माल्दिभ्सलाई दबाबमा राखेको थियो । नेपालले पहिलो सेटको नतिजालाई २५–५ अङ्कले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पनि नेपाली टोली २५–१२ अङ्कले अगाडि रह्यो । नेपालले तेस्रो सेटको नतिजालाई पनि २५–२० अङ्कले आफ्नो पक्षमा पारेको थियो ।
यसै गरी, नेपाली टोली आफ्नो चौथो खेलमा किर्गिस्तानसँग २–३ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको थियो । उक्त खेलमा अघिल्लो दुई सेट नेपालले २३–२५ र २१–२५ अङ्कले गुमाएको थियो । त्यसपछि खेलमा पुनरागमन गरेको नेपालले तेस्रो र चौथो सेटको नतिजालाई २५–२१ र २५–२२ ले आफ्नो पक्षमा पारेको थियो ।
प्रतिस्पर्धात्मक खेलको अन्तिम सेटमा भने नेपाली टोली १७–१९ अङ्कले पराजित भएको थियो । नेपाली टोलीका लागि तुर्कमेनिस्तानविरुद्धको खेल निकै महत्त्वपूर्ण छ । लिग चरणको खेलपछि अङ्क तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगितामा सहभागी टोलीहरूबिच तेस्रोदेखि छैटौँ वरीयतासम्मका लागि पनि खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गा भोगाधिकारमा अड्किँदा चार वर्षदेखि कृषि उपज केन्द्र अलपत्र
-
सर्लाहीको रामटोलमा आगलागी, ५ चौपाया मरे
-
बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै
-
सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
नेसपा (नयाँशक्ति)को उपाध्यक्षमा दुर्गा र मानुषी निर्विरोध