शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय
क्रिकेट

इङ्ल्यान्डसँग घरेलु मैदानमै पाकिस्तानको लज्जास्पद हार

शुक्रबार, २५ असोज २०८१, १२ : ३६
शुक्रबार, २५ असोज २०८१

काठमाडौँ । दुवै टोलीले विशाल स्कोर बनाएको घरेलु टोली पाकिस्तानविरुद्धको पहिलो टेस्ट क्रिकेटमा इङ्ल्यान्डले नाटकीय जित हासिल गरेको छ । पहिलो पालीमा दुवै टोलीले ठुलो स्कोर बनाएपछि खेल बराबरीतर्फ अग्रसर देखिएको थियो ।

तर, दोस्रो पालीमा आफ्ना ब्याट्सम्यानले निराशाजनक प्रदर्शन गरेपछि पाकिस्तानी टोलीले घरेलु मैदानमा लज्जास्पद हार बेहोर्नु पर्‍यो । भ्रमणकारी टोली इङ्ल्यान्डले पहिलो टेस्टको पाँचौँ तथा अन्तिम दिन शुक्रबार पाकिस्तानलाई एक पाली र ४७ रनले हराएको हो ।

पाकिस्तानी टोली दोस्रो पालीमा केवल दुई सय २० रनमा अलआउट भयो । जितसँगै इङ्ल्यान्डले तीन टेस्टको शृङ्खलामा १–० को अग्रता पनि लियो । दोस्रो पालीमा कुनै पनि पाकिस्तानी ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

दोस्रो पालीमा पाकिस्तानका लागि तल्लो क्रमका ब्याट्सम्यान सलमान आघाले ६३ र आमेर जमालले अविजित ५५ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन बिर्सनलायक रह्यो । दोस्रो पालीमा इङ्ल्यान्डका बलर ज्याक लिच एक्लैले चार विकेट लिए । गस एटकिन्सन र ब्रायडन कार्सले पनि दुई–दुई विकेट हात पारेका थिए ।

388840

त्यसअघि, इङ्ल्यान्डले सात विकेटको नोक्सानीमा आठ सय २३ रन बनाउँदै आफ्नो पहिलो पाली समाप्तिको घोषणा गरेको थियो । मुल्तानमा सम्पन्न उक्त टेस्टमा भ्रमणकारी टोली इङ्ल्यान्डले पहिलो पालीमा दुई सय ६७ रनको अग्रता लिएको थियो ।

पहिलो पालीमा दुवै टोलीले मिलेर पहिलो पालीमा एक हजार तीन सय ७९ रन बनाएका थिए । इङ्ल्यान्डले बनाएको रन कुनै पनि टोलीले टेस्ट क्रिकेटको इतिहासमा एकै पालीमा बनाएको चौथो ठुलो स्कोर हो । टेस्ट क्रिकेटको एकै पालीमा बनेको सबैभन्दा ठुलो स्कोर भने श्रीलंकाको नाममा छ । श्रीलंकाले सन् १९९७ को अगस्त २ तारिखमा भारतविरुद्ध ६ विकेट गुमाएर नौ सय ५२ रन बनाएको थियो ।

पाकिस्तानविरुद्धको टेस्टमा पाली समाप्तिको घोषणा गर्नुअघि इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले तेहरो शतक बनाएका थिए । उनले टोलीका लागि तीन सय १७ रनको योगदान गरे । उनी आउट भएलगत्तै इङ्ल्यान्डले पाली समाप्तिको घोषणा गरेको हो ।

ह्यारी ब्रुकले तीन सय २२ बलको सामना गरी तीन छक्का र २९ वटा चौका पनि प्रहार गरे । उनका अतिरिक्त जो रुटले पनि इङ्ल्यान्डका लागि दोहोरो शतक बनाए । उनले टोलीको खातामा दुई सय ६२ रन थपे । उनले तीन सय ७५ बलको सामना गरी १७ चौका पनि प्रहार गरे ।

इङ्ल्यान्डले दुई सय ४९ रनमा आफ्नो तेस्रो विकेट गुमाएको थियो । त्यसपछि रुट र ब्रुकले टोलीको स्कोरलाई सात सय तीन रनको बलियो स्थितिमा पुर्‍याएका थिए । यी दुवै ब्याट्सम्यानले चार सय ५४ रनको साझेदारी गरेका थिए ।

388797

टेस्ट क्रिकेटको इतिहासमा कुनै पनि ब्याट्सम्यानले चार सयभन्दा बढी रनको साझेदारी गरेको यो दोस्रो पटक हो । यसअघि सन् १९५७ मा इङ्ल्यान्डका ब्याट्सम्यान पिटर मेय र कालिन काउड्रेले चार सयभन्दा बढी रनको साझेदारी गरेका थिए । त्यो टेस्ट वेस्ट इन्डिजविरुद्ध खेलिएको थियो । त्यसपछि रुट र ब्रुकले यस्तो उपलब्धि हासिल गरेका हुन् ।

यसैगरी, रुट र ब्रुक विश्व टेस्ट क्रिकेटमा सबैभन्दा ठुलो साझेदारी गर्ने खेलाडीको सूचिमा पनि चौथो स्थानमा उक्लिएका छन् । टेस्ट क्रिकेटको इतिहासमा कुनै पनि विकेटका लागि सबैभन्दा ठुलो साझेदारी भने श्रीलंकाका कुमार सांगाकारा र माहेला जयाबद्र्धनेको नाममा छ ।

उनीहरूले सन् २००६ को जुलाई २७ तारिखमा खेलिएको दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा ६ सय २४ रनको साझेदारी गरेका थिए । यो सूचिमा दोस्रो स्थानमा रहेका श्रीलंकाका रोशन महानामा र सनथ जयसूर्याको जोडीले पाँच सय ७६ रनको साझेदारी गरेका छन् । तेस्रो स्थानमा रहेका न्युजिल्यान्डका मार्टिन क्रो र एन्ड्रयू जोन्सले चार सय ६७ रनको साझेदारी गरेका थिए ।

दोस्रो पालीमा इङ्ल्यान्डका लागि बेन डकेटले पनि ८४ रनको योगदान गरे । उनले ७५ बलको सामना गरी ११ चौका हिर्काए । ओपनर ज्याक क्रावलीले टोलीको खातामा ७८ रन थपे । पाकिस्तानका ब्याट्सम्यानहरु निरीह देखिए । नसिम शाह र साइम अयुबले दुई–दुई विकेट लिएका थिए ।

त्यसअघि, टस जिती पहिले ब्याटिङको निर्णय लिएको पाकिस्तानले पहिलो पालीमा पाँच सय ५६ रन बनाएको थियो । पाकिस्तानका लागि तीन ब्याट्सम्यानले शतकीय पाली खेलेका थिए । पाकिस्तानका लागि ओपनर अब्दुल्लाह सफिक, कप्तान सान मसुद र सलमान आघाले शतक बनाएका थिए ।

कप्तान सान मसुदले एक सय ५१ रनको योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका ३४ वर्षीय सान मसुदले एक सय ७७ बलको सामना गरी दुई छक्का र १३ वटा चौका प्रहार गरे । आक्रामक ब्याट्सम्यान सान मसुदले टेस्ट क्रिकेटमा बनाएको यो पाँचौँ शतक हो ।

यसैगरी, ओपनर अब्दुल्लाह सफिकले पनि टोलीको खातामा एक सय दुई रन थपे । उनले एक सय ८४ बलको सामना गरी दुई छक्का र १० चौका पनि हिर्काएका थिए । २४ वर्षीय अब्दुल्लाह सफिकले पनि टेस्ट क्रिकेटमा बनाएको यो पाँचौँ शतक नै हो ।

यसैगरी, आठौँ नम्बरमा क्रिज समाल्न आएका सलमान आघाले अविजित एक सय चार रनको योगदान गरे । उनले एक सय १९ बलको सामना गरी तीन छक्का र १० चौका पनि हिर्काए । ३० वर्षीय सलमान आघाले टेस्ट क्रिकेटमा प्रहार गरेको यो तेस्रो शतक हो ।

पाकिस्तानले केवल आठ रनको कुल स्कोरमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि अब्दुल्लाह सफिक र सान मसुदले टोलीको स्कोरलाई दुई सय ६१ रनको स्थितिसम्म पुर्‍याएका थिए । त्यसपछि अन्य ब्याट्सम्यानले पनि पाकिस्तानका लागि महत्त्वपूर्ण पाली खेलेका थिए ।

घरेलु टोलीका लागि साउद सकिलले पनि ८२ रनको योगदान गरेका थिए । साउद सकिलले एक सय ७७ बलको सामना गरी आठ चौका पनि हिर्काएका थिए । २९ वर्षीय साउद सकिलले टेस्ट क्रिकेटमा प्रहार गरेको यो सातौँ अर्धशतक हो ।

इङ्ल्यान्डका बलर ज्याक लिचले तीन विकेट लिएका थिए । गस एट्किन्सन र ब्रायडन कार्सले पनि दुई–दुई विकेट हात पारेका थिए । पाकिस्तान र इङ्ल्यान्डबिचको दोस्रो टेस्ट अब अक्टोबर १५ तारिखदेखि मुल्तानमै सुरु हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप