शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

आयरल्यान्डका केभिन ओ’ब्राइन विराटनगर किङ्सको प्रमुख प्रशिक्षक

शुक्रबार, २५ असोज २०८१, १२ : २२
शुक्रबार, २५ असोज २०८१

काठमाडौँ । निकट भविष्यमा आयोजना हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने टोलीमध्येको एक विराटनगर किङ्सले केभिन ओ’ब्राइनलाई आफ्नो प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ ।

४० वर्षीय केभिन ओ’ब्राइन आयरल्यान्डका पूर्वखेलाडी हुन् । विराटनगर किङ्सले सामाजिक सञ्जालमार्फत केभिन ओ’ब्राइनलाई आफ्नो प्रमुख प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो । ओ’ब्राइन आफ्नो समयका प्रभावशाली खेलाडी हुन् ।

उनले आयरल्यान्डका लागि तीनवटै ढाँचाको प्रतियोगिता खेलेका छन् । आफ्नो समयका यी अलराउन्डर खेलाडीले तीन टेस्टको ६ पालीमा कुल दुई सय ५८ रन बनाएका छन् । टेस्टमा उनले एक शतक र एक अर्धशतक पनि प्रहार गरेका छन् । टेस्टमा उनको उच्च स्कोर एक सय १८ रन हो ।

यसै गरी, उनले एक सय ५३ एकदिवसीय अन्तर्राष्ट्रियको एक सय ४१ पालीमा कुल तीन हजार ६ सय १९ रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनले दुई शतक र १८ वटा अर्धशतक प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर एक सय ४२ रन हो ।

यसै गरी, उनले एक सय १० टी–२० अन्तर्राष्ट्रियको एक सय तीन पालीमा कुल एक हजार नौ सय ७३ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले एक शतक र पाँच अर्धशतक बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर एक सय २४ रन हो ।

यसका अतिरिक्त ओ’ब्राइनले एकदिवसीय अन्तर्राष्ट्रियमा एक सय १४ र टी–२० अन्तर्राष्ट्रियमा ५८ विकेट पनि लिएका छन् । विराटनगरको मार्की खेलाडीका रुपमा भने राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछाने रहेका छन् ।

विराटनगर किङ्स एमएडी ड्रिम्स स्पोर्टस प्रालिको स्वामित्वमा रहेको छ । एमएडी ड्रिम्स स्पोर्टस प्रालिले एक करोड ५१ लाख रुपैयाँमा विराटनगर किङ्सको स्वामित्व खरिद गरेको थियो ।

गत आइतबार भएको एनपीएलको अक्सनमा विराटनगर किङ्सले दुई खेलाडीका लागि सर्वाधिक १५ लाख रुपैयाँ खर्चिएको थियो । विराटनगर किङ्सले लोकेश बम र प्रतिश जीसीलाई १५–१५ लाख रुपैयाँमा खरिद गरेको हो । अक्सनमा क्लबहरूले कुनै पनि खेलाडीका लागि खर्च गर्न पाउने यो अधिकतम सीमा हो ।

यसै गरी, विराटनगर किङ्सले बसिर अहमदका लागि पनि १० लाख रुपैयाँ खर्चियो । यसका अतिरिक्त विराटनगर किङ्सले राजेश पुलामी मगर, जितेन्द्र कुमार मुखिया, अनिल खरेल र दीपक बोहरालाई पाँच–पाँच लाख रुपैयाँमा खरिद गर्‍यो ।

विराटनगर किङ्सले सुवाष भण्डारीका लागि दुई लाख ५० हजार रुपैयाँ खर्चियो भने नरेन भट्ट र मृनाल गुरुङलाई दुई–दुई लाख रुपैयाँमा किन्यो । योसँग विराटनगर किङ्सको टोली ११ सदस्यीय पुगेको छ । विराटनगर किङ्सले अब चार विदेशी खेलाडी र एक स्थानीय खेलाडी भित्राउन बाँकी छ । अक्सनमा विराटनगर किङ्सले कुल ६६ लाख ५० हजार रुपैयाँ खर्च गरेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप