प्रहरी अधिकारीहरूका लागि बटुलिन्थ्यो देशभरबाट खसी
विराटनगर । कुनै बेला दसैँको सन्दर्भमा प्रहरी संगठनका डीएसपी, एसपी, एसएसपी, डीआईजी, एआइजीदेखि आईजीपीसम्म (प्रहरीका उच्च अधिकारी)लाई देशैभरबाट खसी बटुलेर उपहार दिइन्थ्यो । त्यो चलन आजभन्दा २४–२५ वर्ष अगाडिसम्म चलिरहेकै थियो ।
उपहारमा आएका खसीहरू प्रहरीका उच्च अधिकारीले घर लैजान्थे र भोज खान्थे । धेरै भएका खसी बिक्री गरेर पैसा गोजीमा हाल्थे ।
त्यो परम्पराले उच्च ओहोदाका सबै लाभान्वित नै थिए । २०५४ सालतिर दसैँमा तत्कालीन एआइजी अच्युतकृष्ण खरेललाई पनि खसी उपहार आयो । आफूलाई उपहार आएको खसीले दसैँ टर्ने भयो भन्ने उनलाई पनि नलागेको होइन । तर, जब उनले आफू बस्ने घरमा खसी लिएर गए, अनि नियालेर हेरे । खसीको एउटा सिङमा लेखिएको थियो, ‘एआइजी खरेल’, अर्को सिङमा लेखिएको थियो, ‘ ...केजी ।’
त्यसबेलाको सम्झना गर्दै खरेल भन्छन्, ‘समाजका हरेक क्षेत्रमा चाकडी, चाप्लुसी हुन्छ । संसारको जहाँ पनि त्यो हुन्छ । त्यसलाई झोले मानसिकता भन्दा पनि हुन्छ । म एआइजी थिएँ । दसैँमा खसी उपहार आउने त मलाई थाहा थियो । तर, त्यो संस्कार मलाई त्यति मन पर्दैन थियो ।’
खरेललाई खसीको सिङमा लेखिएको अक्षर नराम्रोसँग बिझ्यो ।
जिल्ला–जिल्लाबाट खसी पठाउने गरेको उनले सुनाए । ‘हाकिमलाई खुसी पार्न खसी ल्याइदिने परम्परा थियो । त्यसरी नै मलाई पनि एउटा दसैँको सन्दर्भमा खसी आयो । मैले खसी ल्याएँ । ल्याएको खसीको सिङ हेरेको त एआइजी खरेल लेखेको रहेछ ।’
खरेललाई खसीको सिङमा लेखिएको अक्षर नराम्रोसँग बिझ्यो । ‘संगठनमा आफ्नै किसिमले नदेखिने गरी कल्चरको रूपमा करप्सनको विकास भएको रहेछ । मलाई ल्याउनेले अर्कोलाई पनि ल्याउँछ । त्यसपछि मैले त्यो खसी फर्काइदिएँ,’ उनले भने, ‘मेरो धुम्बाराहीमा घर थियो । त्यो खसी ल्याइदिनेले मलाई दिएको खसी घर छेउको पाखामै छोडेर गएछ । म भोलिपल्ट बिहान पशुपति जाँदै थिएँ । मलाई दिएको खसी त्यहाँ चरिरहेको रहेछ । सिङमा त एआइजी खरेल लेखेकै थियो । त्यसले मलाई थप हिनताबोध भयो ।’
त्यसबेलै उनी प्रहरी संगठनको दोस्रो वरीयताको अधिकारी भए पनि निर्णायक तहमा थिएनन् । उनले त्यतिबेला त्यो संस्कृतिको अन्त्य गर्न सकेनन् । तर, उनलाई यो प्रचलन अन्त्य गर्नुपर्छ भन्ने लाग्यो । ‘त्यो घटना हुँदा म सेकेण्ड मेन थिएँ । फष्ट मेन भएँ भने म यसलाई हटाउँछु भनेर त्यही बेला सङ्कल्प गरेँ,’ खरेलले भने, ‘त्यसपछि म जुन दिन आइजीपी बनेँ । त्यसपछि आएको दसैँमा मैले विभागीय परिपत्र गरेर कसैले पनि कुनै ठाउँबाट यो प्रकारको उपहार ल्याउने काम पूर्णतयाः बन्द गर्नु भनेँ ।’
त्यसपछि खसी उपहार ल्याउने चलन बन्द भयो । खरेलले कुनै पनि पदाधिकारीले त्यसप्रकारको उपहार अनुमतिविना ल्याउन नपाउने परिपत्र पनि गरेका थिए । ‘मैले त्यसलाई रोकेको हो । त्यो किन गरेँ भने तीनचार जना एआइजीलाई जिल्लाले पठाउने र जिल्लाले पनि उठाउने गर्नु भनेको त विकृति र विसंगति हो । त्यसो भएको हुनाले मैले बन्द गराएँ,’ उनले भने, ‘अहिले के छ, कसो छ, त्योचाहिँ तपाईं नै बुझ्नु होला ।’
अच्युतकृष्ण खरेल आईजीपी भएपछि खसी पठाउनु पर्दैन भन्ने लिखित निर्देशन नै आएको खापुङले सुनाए ।
खरेल २०५४ सालदेखि २०५७ सालसम्म प्रहरी प्रमुख बनेर काम गरेका थिए । ‘त्यसबेला प्रत्येक युनिटमा भोज हुन्थ्यो, डेरा बस्नेहरूको परिवारलाई पनि बोलाउने र खुवाउने परम्परा थियो,’ २०५२ साल अन्तिमदेखि प्रहरी सेवामा भर्ना भएका कोशी प्रदेशका प्रहरी प्रमुख डीआइजी चन्द्रकुबेर खापुङ सम्झन्छन्, ‘हामी भर्ना हुँदाको दसैँ रमाइलो हुन्थ्यो । प्रत्येक कार्यालयमा ठुलो भोज गर्ने चलन थियो ।’
प्रहरीले अहिले त्यसखालको भोज गर्न सक्दैन । किनकि सरकारी बजेट हुँदैन । माग्न जान मिल्दैन । ‘अहिले सरकारी बजेट नहुँदा भोज खुवाउन सक्ने अवस्था छैन । खुवाउने हो भने हामी माग्न जानुपर्ने हुन्छ । उठाएर, मागेर खुवाउँदा प्रहरी कै बदनाम हुन्छ,’ खापुङले भने, ‘प्रहरी नै भिखारीजस्तो देखिन्छ । प्रहरी बदनाम भयो भन्ने हिसाबले त्यो नगरौँ भनेर भोजको परम्परा अन्त्य गरियो ।’
पहिले–पहिले यातायात व्यवसायी संघहरूले अनिवार्य रूपमा हाइवेमा प्रत्येक ठाउँमा खसी–बोका छोड्दै हिँड्थे । ‘म इन्स्पेक्टर भएर बेलबारी बस्दा पनि कति खसीबोका ल्याइदिन्थे । माग्दैन थियौँ, तर स्वतःस्फूर्त रूपमा दिएकाहरूको लिने र खाने भयो । पछि–पछिचाहिँ लिँदै नलिने भनेर सुधार हुँदै गयो,’ उनले भने ।
अच्युतकृष्ण खरेल आईजीपी भएपछि खसी पठाउनु पर्दैन भन्ने लिखित निर्देशन नै आएको खापुङले सुनाए ।
खापुङले पनि खसी उपहार आउने गरेको विषयलाई ताजा गर्न खोजे । ‘हामी भर्खरभर्खर भएको बेला काठमाडौँको हेडक्वाटर गणतिर आइजी, एआइजी साबहरूको नाममा खसी आउँथ्यो,’ उनले भने, ‘त्यहाँ आएका खसीको एउटा सिङमा यति केजी, अर्को सिङमा अफिसको नाम लेखेर पठाउने चलन थियो । त्यो सबै खाएर सकिने अवस्था त थिएन । खायो, पियो, कति त बेच्थे होला । त्योचाहिँ उहिलेको कुरा हो । अहिले पछिल्लो समयमा त्यो छैन ।’
प्रहरीमा पछिसम्म सामान्य पार्टी गर्ने चलन थियो । सबै स्टाफलाई भेला गरेर एक छाक खुवाउँ है भन्ने चलन पनि थियो । अहिले त्यो पनि कम भएको खापुङ बताउँछन् । ‘अहिलेचाहिँ यसो ५–१० किलो मासु ल्याएर, चिउरा, अचार बनाएर खाजा खाँदै दसैँको शुभकामना आदान–प्रदान हुने खालको भएको छ,’ उनले भने ।
यस्तै टीकाको दिन मातहतका कर्मचारीलाई टीका लगाइदिने चलन अहिले पनि छ । ‘धेरै प्रहरी कर्मचारी घर जान नपाइरहेको अवस्था हुन्छ । टीका भनेको आशीर्वाद लिने हो,’ खापुङले भने ।
पूर्वआइजीपी खरेल भने प्रहरीमा पूजापाठको कल्चर पनि रहेको बताउँछन् । ‘सेनामा, प्रहरीमा बन्दुकहरू सजाउने, कोतपूजा हुन्छ । मौलो हुन्छ । देवी देवताको नाममा पूजा हुन्छ । शक्ति आर्जन गर्न यो गरिएको हो । कुनै पनि शक्ति आँखाले देखिँदैन । त्यसो हुँदा त्यो अदृश्य शक्ति प्राप्तिका लागि नवदुर्गाको आराधना र पूजा गर्ने गरिएको हो,’ उनले भने ।
त्यसले सिङ्गो प्रहरी संगठनलाई शक्ति दिन्छ भन्ने मान्यता रहेको खरेलले सुनाए । तर, अहिले पनि प्रहरी संगठनमा राजा हुँदादेखि सुरु भएका संस्कृति प्रचलनमै छन् ।
‘अहिले पनि गोरखाबाट फूलपाती ल्याइन्छ । त्यो भनेको त गोरखाका राजाहरूको कुल देवता त्यहाँ रहँदा पो फूलपाती काठमाडौँ ल्याइएको हो त । यो परम्परा अहिले पनि कायमै राख्नु भनेको त्यही राजाहरूको परम्परालाई नै निरन्तरता दिनुजस्तै हो,’ खापुङ भन्छन्, ‘मलाईचाहिँ यो सुधार गर्नुपर्छ जस्तो लाग्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियन ब्याट्सम्यानको निराशाजनक प्रदर्शनपछि भारत जिततर्फ अग्रसर
-
प्रतिनिधि सभाका सचिव अधिकारीको राजीनामा स्वीकृत
-
चित्रलेखा यादव अष्ट्रेलियाको राजदूत नियुक्त
-
राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति
-
कम्बोडिया पुगेर सीके राउतले गरे प्रधानमन्त्री ओलीको आलोचना
-
‘पुरानो पूरा नगरी नयाँ आयोजना नल्याउने राजनीतिक सहमति हुनुपर्छ’