शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनए विवाद : दुई समूहमा 'एनआरएनए डे' मनाइँदै

शुक्रबार, २५ असोज २०८१, ०७ : १९
शुक्रबार, २५ असोज २०८१

काठमाडौँ । आन्तरिक विवादमा रुमल्लिएको गैरआवासीय  नेपाली संघ (एनआरएनए)ले संस्थाको स्थापना दिवस (एनआरएनए डे) दुई समूहमा मनाउने भएको छ ।  

बद्री केसी नेतृत्वको एनआरएनए र आरके शर्मा नेतृत्वको एनआरएनएले शुक्रबार छुट्टाछुट्टै कार्यक्रम गरेर एनआरएनए डे बनाउन लागेको हो । 

एनआरएनए डेको अवसरमा केसी पक्षले शुक्रवार बिहान स्वयम्भू नाथ र पशुपति नाथमा पूजा गर्ने कार्यक्रमको आयोजना गरेको छ । 

 केसीका अनुसार  स्थापना दिवसको अवसरमा संघले अक्टोबर पुरै महिना विभिन्न संस्थागत तथा परोपकारी कामका गतिविधि संचालन गर्न संघका राष्ट्रिय समितिहरूलाई आग्रह गरेको छ । 

यसैगरी शर्मा पक्षले भर्चुअल माध्यममार्फत एनआरएनए डे मनाउन लागेको छ ।  शुक्रबार अपराह्न तय भएको कार्यक्रममा नेपाल सरकारका मन्त्री, एनआरएनएका पूर्वअध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधिसहित एनआरएनए अभियन्ताहरूको सहभागिता रहने शर्मा पक्षको भनाइ छ । 

समृद्ध नेपालको परिकल्पना गर्दै सन् २००३ मा नेपालीका लागि नेपाली भन्ने मूल नारासहित स्थापना भएको गैरआवासीय नेपाली संघको विश्वका ८७ देशमा शाखा रहेको छ ।  

विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पुँजीको परिचालन गर्दै देश विकासमा टेवा पुर्‍याउन सकिने सोचले रसियामा बस्ने नेपालीहरुको सक्रियतामा सन् २००३ अगस्टमा लन्डनमा एक भेला आयोजना गरी सोही वर्षको अक्टोबर ११ – १३ तारिखमा काठमाडौँमा पहिलो विश्व सम्मेलन गरेर विधिवतरुपमा गैरआवासीय नेपाली संघको स्थापना भएको थियो। जसअनुसार अक्टोबर ११ लाई एनआरएनए डेको रुपमा मनाइँदै आएको छ । 

लण्डन बैठकमा बेलारुसबाट डा उपेन्द्र महतो, रसियाबाट भिम उदास र जीबा लामिछाने, जर्मनीबाट रामप्रताप थापालगायतको उपस्थिति थियो ।

तर, पछिल्लो समय एनआरएनएभित्र विवाद चर्किँदै गएको छ । दसौँ महाधिवेशनबाट बढ्दै गएको विवाद ११ औँ महाधिवेशनमा आइपुग्दा उग्र बनेको छ । विवादकै कारण ११ औँ महाधिवेशनमा उम्मेदवार बनेका आरके शर्मा  र महेश श्रेष्ठले नतिजा नै स्वीकार गरेनन् । बद्री केसीले धाँधली गरेर चुनाव जितेको जिकिर गर्दै श्रेष्ठसमेतको समर्थनमा शर्मालाई अध्यक्ष चयन गरिएको थियो । त्यसयता केसी र शर्माले छुट्टाछुट्टै गतिविधि गर्दै आएका छन् । 

उसो त सर्वोच्चले एनआरएनएको १० औँ महाधिवेशनको वैधानिकताको विषयमा गत चैतमा फैसलासमेत गरेको थियो । जसअनुसार सर्वोच्चले २०७८ माघ १ को अवस्थामा फर्किएर पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन गर्न फैसला समेत गरेको थियो । जसअनुसार १० औँ र ११ औँ महाधिवेशनको वैधानिकता नरहेको अवस्थामै केसी पक्ष फेरि अदालत गएर अहिले बालुवाटारस्थित सचिवालयबाट काम गरिरहेको छ । बद्री केसी बालुवाटारमा फर्किएपछि आरके शर्मा पक्ष अर्को मुद्दा लिएर अदालत पुगेको छ । आफू आधिकारिक रहेको दाबी गरिएको उक्त मुद्दा अहिले सर्वोच्चमा विचाराधीन नै रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप