शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

देवी दुर्गाको ‘खोइछ’ भरिँदै

बिहीबार, २४ असोज २०८१, २२ : ००
बिहीबार, २४ असोज २०८१

महोत्तरी । मधेसको मिथिलाक्षेत्रमा दशहरा (दसैँ) पर्वका अवसरमा श्रद्धालु भक्तजनले देवीको ‘खोइछ’ (पोल्टा) भर्न थालेका छन् ।

दसैँको फूलपातीको पूजा विधि सम्पन्न भएसँगै देवीको ‘खोइछ’ भरिने मैथिल चलन छ । खासगरी विभिन्न समयमा देवीको पुकारा गर्दै इच्छित कामना पूरा भएकाहरूले भाकलमा ‘खोइछ’ भर्ने गरेका छन् ।

जिल्लाका सबै देवी शक्तिपिठ, दुर्गा मन्दिर र दुर्गा प्रतिमा स्थापित गरिएका ठाउँमा दुर्गा भवानीको ‘खोइछ’ भर्ने भक्तालुको लामो पङ्क्ति छ । खोइछमा भाकलअनुसार वस्त्र आभूषण, द्रव्य (सुन, चाँदी वा तामाका गहना वा भाँडा), नगद भेटी र नरिवलसहितका फल भर्ने गरिन्छ ।

फूलपाती विधि सम्पन्न गरेपछि सुरु हुने खोइछ भर्ने कार्य नवमी तिथिभरि जारी रहन्छ । नवरात्रमा विधिपूर्वक व्रतमा रही दुर्गाको आराधना गर्ने र भक्तिभावले खोइछ भर्ने भक्तमाथि देवीको अनन्य कृपा हुने विश्वास गरिन्छ । देवी दुर्गाको खोइछ भर्ने श्रद्धालुलाई कहिल्यै दारिद्र नलाग्ने हिन्दू मैथिल विश्वास जनमनमा स्थापित छ । 

मिथिलामा देवीको खोइछ भर्ने कार्य पुरुष, महिला दुवैले गर्नसक्छन् । यद्यपि यहाँ खोइछ भर्नेमा अधिकांश महिला देखिन्छन् । देवीदेवतासँग इच्छित कामनाका लागि भाकल गर्ने महिला बढी हुनेहुँदा खोइछ भर्ने महिला बढी हुने गरेका मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप