बढ्दो मधुमेह र हृदयाघातबाट बच्न युवाहरूले गर्नुस् यी काम
काठमाडौँ । हालैका वर्षहरूमा युवा पुस्तामा समेत कार्डियाक अरेस्ट (हृदयाघात)का मामिला बढ्दै गएका छन् । हृदयाघात हुनु अघि नै सही समयमा यसलाई कसरी पत्ता लगाउने र कसरी बच्ने भन्ने यति बेला सबैभन्दा ठुलो प्रश्न बनेको छ । मुटुसम्बन्धी रोग र नसर्ने रोगहरूका बढ्दो बिरामीको सङ्ख्या चिन्ताको विषय बनेको छ । यसको लागि सबैभन्दा पहिला त युवाहरूले आफ्नो जीवनशैली र स्वास्थ्यसम्बन्धी बानीमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ ।
मुटुसम्बन्धी रोग, पक्षाघात, क्यान्सर, मधुमेह र फोक्सोको रोगजस्ता नसर्ने रोगको वृद्धि मृत्युको कारण बन्न सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हुने मृत्युको ७४ प्रतिशतका लागि यस्ता रोगहरू जिम्मेवार छन् । यी रोगहरूलाई २१ औँ शताब्दीको सबैभन्दा चुनौतीपूर्ण जीवनशैलीसँग सम्बन्धित समस्या मानिन्छ ।
- हृदय रोगको घटनामा वृद्धि:
नसर्ने रोगहरू मध्ये पनि मुटु रोगको प्रकोप तीव्र रूपमा बढिरहेको छ । सन १९९० मा विश्वभर यस्ता बिरामी २ करोड ५७ लाख थिए । यो सङ्ख्या २०२३ मा बढेर ६ करोड ४० लाख पुगेको छ । यसबाहेक ५५ वर्षभन्दा कम उमेरका मानिसमा ४०–५० प्रतिशत मुटुसम्बन्धी रोग पाइन्छ । आराम विहीन जीवनशैली, डिजिटल लत, काम र निजी जीवनबिचको असन्तुलनले स्वस्थ जीवनलाई उपयुक्त वातावरण नै पाउन मुस्किल छ ।
- सामाजिक दबाब र जीवनशैली:
व्यक्तिगत र व्यावसायिक लक्ष्यहरू प्राप्त गर्ने दबाब, साथीहरू र समाजबाट राखिने अपेक्षा र खराब खानपानले दीर्घकालीन तनाव र चिन्ता निम्त्याउँछ । यसले शरीरमा कोर्टिसोल हार्मोनको उत्पादन बढाउँछ, जसले हृदय रोगलाई बढवा दिन्छ ।
कोर्टिसोलको वृद्धिले नसर्ने रोगहरू त बढाउँछ नै इन्डोक्राइन र स्नायु प्रणालीसम्बन्धी समस्याहरू पनि निम्त्याउन सक्छ भनेर विश्व स्वास्थ्य संगठनको सन् २०१८ को आँकडाले देखाएको छ । उच्च कोर्टिसोलले डीएनएसम्ममा क्षति पुर्याउने क्लिनिकल अध्ययन र भर्खरका केसहरूले पनि देखाएको छ ।
- म अझै जवान छु भन्ने भ्रम
‘म जवान छु, मलाई मधुमेह वा हृदय रोग जस्ता मौन रोग लाग्दैन’ भन्ने आम धारणा छ । तर वास्तवमा, नसर्ने रोगहरू बिस्तारै बिस्तारै विकास हुन्छन् । २०/३० वर्षको उमेरमा गरेको खराब जीवनशैलीले भविष्यमा स्वास्थ्य समस्या निम्त्याउन सक्छ । करियर बनाउने दौडमा रहेका युवा पेसाकर्मीहरूले प्रायः आफ्नो आधारभूत स्वास्थ्य हेरचाह र काम गर्ने बानीलाई बेवास्ता गर्छन् ।
जंक फूडका खतराहरू बुझ्नेहरूले पनि खानपानसम्बन्धी सही निर्णय लिन असमर्थ छन् । हामीले बजारबाट दैनिक रूपमा किनेर खाने धेरै सामानमा चिनी लुकेर बसेको हुन्छ । स्मूदी, एनर्जी बार, फ्लेभर्ड दही र केही सलादहरूमा पनि चिनीको मात्रा बढी हुन्छ । यी सबैले नसर्ने रोग र तनावको जोखिम बढाउन सक्छ ।
- निरन्तरको तनाव एक ठुलो कारक:
समयसँगै, दीर्घकालीन तनावले कोर्टिसोलको स्तर बढाउँछ, उच्च रक्तचाप र शरीरका हिस्सा फुल्ने वा सुन्निने समस्या निम्त्याउँछ । यी सबैले अन्ततः हृदय रोग निम्त्याउँछ । मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ, तर धेरै युवाहरूको लागि यो प्राथमिकता पर्दैन । ।
समाज वा कर्पोरेट सेटअपलाई दोष दिनु समस्याको समाधान होइन, बरु हामीले समस्यालाई बुझेर स्वीकार गर्नुपर्छ । शारीरिक र मानसिक स्वास्थ्यलाई ध्यानमा राखी सन्तुलित दृष्टिकोण अपनाउनुपर्छ । युवाहरूले स्वास्थ्यप्रति आफ्नो सोच परिवर्तन गरी रोकथाममा ध्यान दिनुपर्छ ।
जवान हुनु वा कम उमेरको हुँदैमा आफूलाई गम्भीर रोगहरू लाग्दैन भन्ने धारणा गलत मात्रै होइन खतरनाक पनि छ। क्यान्सर, मुटु रोग र मधुमेह जस्ता साइलेन्ट किलरहरूले उमेर हेरेर आक्रमण गर्दैनन् ।
अस्वीकरण (Disclaimer) : यो सामग्री हामीले एजेन्सीबाट लिएका हौँ । यसलाई पूर्ण ठानेर यहाँ बताइए बमोजिम आफैँ अभ्यास नगर्नुहोला, यसलाई आधार मानेर एकपटक सम्बन्धित विषयको चिकित्सकसँग परामर्श लिनुहोला ।