बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय
दसैँ

दसैँमा धेरै गुञ्जने ६ नेपाली गीत

बिहीबार, २४ असोज २०८१, २० : ३०
बिहीबार, २४ असोज २०८१

काठमाडौँ । दसैँमा हामी जताततै मालश्री धुन र दसैँ सम्बन्धी भावना समेटिएका गीत सुन्ने गर्दछौँ । यस्ता गीतसङ्गीतले मानिसको मनमा उमङ्ग भर्ने काम गर्छ ।

दसैँलाई भनेर हरेक वर्ष विभिन्न गीतसङ्गीत भित्रिने गर्छ । यो वर्ष पनि ‘दसैँ आयो तिहार आयो’, ‘दसैँ रमाइलो’, ‘दसैँको सम्झना’ लगायत बोलका करिब दर्जन गीत भित्रिएका छन् । तर रेडियो, टेलिभिजन लगायत सञ्चारमाध्यमबाट होस् वा बाहिर, हरेक वर्ष झैँ पुराना गीतसङ्गीत नै बढी प्राथमिकतामा परिरहेका छन् । हरेक वर्ष प्राथमिकतामा पर्ने दसैँसम्बद्ध ६ कालजयी गीत ।

  • दसैँ नै हो कि

‘दसैँ नै हो कि, यो मेरो दशा’ बोलको गीत गायक योगेश्वर अमात्यले गाएका हुन् । यो गीत हरेक वर्ष दसैँमा धेरै सुनिने गीतमा पर्छ । दसैँ धनीका लागि खुसी, गरिबका लागि दुःख भनेर बुझाउने यो गीत सञ्चारमाध्यममा दसैँ आउनु धेरै अगाडिदेखि प्राथमिकतामा पर्छ ।

पप–रक शैलीमा तयार यो गीत बालबच्चादेखि बुढापाकासम्मले पनि रुचाएको पाइन्छ । प्रायः बुढापाकाले रकपप शैलीका गीत मन पराउँदैनन् । तर यो गीतमा भएका शब्दले उनीहरूको समेत मन छोएको छ ।

  • धानकै बाला

हरेक वर्षको दसैँंमा गुञ्जने गीतमा ‘धानकै बाला’ पनि एक हो । सशस्त्र प्रहरी बल (एपीएफ)ले निर्माण गरेको यो गीतले राष्ट्रसेवक कर्मचारीको पीडा झल्काउँछ । जयनन्द लामाको शब्द, सङ्गीत र स्वर रहेको यो गीतमा कोरस गायनमा बलराम कार्की, सरिता लामा र बाबा बस्नेतले साथ दिएका छन् । यो गीत राष्ट्रसेवक कर्मचारी र तिनका परिवारमाझ विशेष लोकप्रिय छ ।

  • वर्ष र दिनको रमाइलो चाड

यस गीतको चर्चा हरेक वर्षको दसैँमा हुन्छ । यो गीत धेरै वर्ष पहिले निर्माण भएको फिल्म ‘मुग्लान’को हो । उदित नारायण झा, दीपा नारायण झा, नारायण लामा, जुना प्रसाईं लगायतको स्वर रहेको गीतमा शब्द लोकनाथ सापकोटाले कोरेका हुन् । सुरेश अधिकारीको संगीत रहेको गीतमा दसैँको टीका, जमराको वर्णन गरिएको छ । धन कमाउन बिदेसिएको छोराको पर्खाइमा रहेकी बुढी आमाको पीडा गीतमा पोखिएको छ । फिल्ममा यो गीतमा  दिलीप रायमाझी, झरना थापा, बिपना थापालगायतको अभिनय छ ।

  • यसपालिको दसैँमा ठुल्दाइ

गायक बादल प्रसाईंको स्वर रहेको यो गीत विशेष गरेर हरेक दसैँमा युवा पुस्ताले रुचाउने गरेका छन् । कामको सिलसिलामा घरबाट टाढा रहेका दाजु घरमा फर्किँदा ल्याउने सामान र उत्साह गीतमा व्यक्त गरिएको छ । कुल पोखरेलको शब्द, सङ्गीत रहेको गीतको एरेन्ज सञ्जीव बराइलीले गरेका हुन् ।

  • नमुछे आमा दहीमा टीका, नछरे जमरा

बिदेसिएका छोराको मार्मिक बिलौना समेटिएको यो गीतले हरेक वर्ष धेरैलाई रुवाउने गर्छ । अध्ययन र रोजगारीको सिलसिलामा दिन प्रतिदिन नेपाली बिदेसिन बाध्य छन् । त्यो पीडासमेत यो गीतले मार्मिक रूपमा उठाएको छ । गीतमा बिदेसिएका युवाकी बहिनी, श्रीमती, छोराछोरीको कथा छ । भारतीय सेनामा कार्यरत रहँदा पाकिस्तानसँगको युद्धको समय लक्ष्मण रायमाझीले कोरेको गीतमा स्वर तथा संगीत नारायण रायमाझीले दिएका हुन् । भिडियोमा रमा थपलिया, देवेन्द्र बाबुल, अञ्जली अधिकारी, रोशन कार्कीलगायतको अभिनय देख्न सकिन्छ ।

  • दसैँ तिहार

गायक सुगम पोखरेलको स्वर रहेको यो गीत पनि दसैँमा धेरै सुनिने गीतमा पर्छ । गीतले चाड हर्ष र खुसीको दिन भनेर चर्चा गरेको छ । रवि श्रेष्ठको शब्द र गायक पोखरेलकै सङ्गीत रहेको गीतको भिडियोमा नीरज, सञ्जीव, कुशल, अस्मिता, सुजित लगायतको अभिनय देख्न सकिन्छ । गीतमा दसैँ–तिहार दुवै पर्व समेटिएको छ ।

  • फौजीलाई कुन दसैँ

सशस्त्र प्रहरी बल (एपीएफ)ले निर्माण गरेको यो गीत पनि हरेक वर्षको दसैँमा अत्यधिक गुन्जिने गीतको सूचीमा पर्छ । दीपक कोइरालाको शब्द, गैरे सुरेशको सङ्गीत तथा जगदीश समालको स्वर रहेको गीत राष्ट्रसेवक कर्मचारीप्रति समर्पित छ । गीतले दसैँमा घर जान नपाएको एक फौजीको पीडा व्यक्त गरेको छ । यो गीत सशस्त्र प्रहरी बल (एपीएफ)ले निर्माण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप