बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय
दसैँ

दसैँमा थारु समुदायको मान्यता : बकुल्लाको वाहन बनाइ पितृहरू स्वर्ग जाने !

बिहीबार, २४ असोज २०८१, २० : ००
बिहीबार, २४ असोज २०८१

धनगढी ।  हिन्दुधर्मलम्वीहरुको घर आँगनमा यतिबेला दसैँको उल्लास छ । उही तिथिमा पश्चिम नेपालका थारु समुदाय आफ्नै मौलिक विधि, प्रक्रिया र संस्कार अनुसार ‘डसिया’को उल्लास छ । 

थारु संस्कृतिका जानकार छविलाल चौधरी ‘कोपिला’ भन्छन्–‘दसैँ र डसिया पर्व लगभग उही तिथि, उही मितिमा पर्ने हुनाले एउटै लाग्नु स्वभाविक हो । तर सामाजिक मूल्य मान्यता, विधि प्रक्रिया र यससँग जोडिएको मिथक हेर्दा भिन्न, भिन्नै रहेको छ ।’

आम हिन्दु धर्मावलम्बीहरुले देवता र दानवहरु बीचको लडाईमा देवताहरुले विजय प्राप्त गरेको हुनाले बिजय उल्लासको साथ मान्यजनहरुबाट रातो टीका लगाउने र दुर्गा भवानीको पूजा गरी मनाउँछन् । तर उही तिथिमा थारु समुदायले आफ्नो पूर्खाहरुको दिवंगत आत्मले शान्ति पाओस् भनी पूर्खाहरुको सम्झनामा डसिया मनाउने प्रचलन रहँदै आएको कोपिला बताउँछन् ।

थारु समुदायमा असोज महिनाको औंसीको दोस्रो दिन डुटिया (चन्द्रमा) हेरेर तेस्रो दिन जमरा राखी डसियाको शुभारम्भ भएको छ । जमरा कोरा मल्सी (प्रयोग न गरिएइको माटोको भाँडा)मा राख्ने प्रचलन छ । मल्सी नभए डेहुरारको पाटा (पूजा कोठा) माथि भुईमा पनि राख्ने चलन छ । यो समुदायले आफ्नो कुलदेवतालाई डसियामा जमरा र बाबरी मात्रै चढाउँछन् । फूल चढाउने प्रचलन छैन । उसो त थारू समुदायमा कुनै पनि पूजामा फूल चढाउने प्रचलन नै नभएको पनि कोपिलाको भनाइ छ । जुन संस्कार नै थारू जातिको मौलिक विशेषता भएको उनी अगाडि थप्छन् ।

‘थारु समुदायमा देउता नुहाउने काम तथा मर्नि–कर्नि (मृत्यु संस्कार) मा छूट मान्ने चलन अनुसार डसियामा पनि पूर्खाहरुको मृत्युको कारण छूट मानिने भएकोले देउता नुहाउने काम हुन्छ । छिनोनी पानी (धातुपानी अथवा सुनपानी) छर्केर चोखो पार्ने । काज–क्रियामा जिटा मार्ने चलन अनुसार जिटा पुज्ने । देउता अनुसार जल, रक्सीको छाँकी चढाउने, पिट्टर (पिण्ड) दिने गरिन्छ’, डसियाको पूजा विधिवारे प्रकाश पार्दै कोपिला भन्छन्–‘भित्तामा बकुल्ला बनाउने । दिवंगत आत्मले शान्ति पाओस् र यिनै बकुल्ला माथि चढेर सवार गरी सुखै–सुख स्वर्ग जाऊन् भनी बकुल्ला बनाउन चलन छ । देउता पठाएको भन्ने चलन पनि छ । गुर्वाहरु (तान्त्रिक)को वर्षभरिको सेवा र सम्मानको लागि घरगुर्वालाई टीका लगाउने चलनबाट पनि पुष्टि हुन्छ कि थारू आफ्नो पूर्खाहरुको सम्झनामा अथवा शोकमा डसिया मनाउँछन् ।’ 

lakhan news photo

  • रक्त मिसाइ बनाएको बानढुप चढाइने

थारु समुदाय डसियामा आफ्ना कुलदेवतालाई चढाउनको लागि बनाइने ‘बानढुप’लाई पनि महत्वपूर्ण मानिन्छ । बानढूप भनेको गुर्वाहरुले आफ्नो जिब्रो, छाती र गोडा (जाँघ) को रगत र धान लगायत सात किसिमको फूला लोर्हके (फूल टिपेर) बनाएको विशेष धूप हो । जुन डसियामा मात्रै आफ्नो देउतालाई चढाइन्छ । यो बानढुप पनि धेरै जसो थारूहरु दहित थर भएकाहरुकै चलाउँछन् । अन्य थरको गुर्वाहरुले पनि चलाउँछन् । तर अब बानढुपको नाउँमा बजारको अगरबत्ती सल्काउने चलन आएकोमा बताइएको छ ।

  • ५–७ पुस्ताका पितृ पूजा

यसैबीच थारु समुदायभित्र पिट्टर (पिण्ड) दिने प्रचलन रहदै आएको छ । थारुभित्रको दहित गोत्र भएका थारुहरुले पञ्चमीको दिन (२२ गते) र आम थारुहरुले नवमीका दिन पुर्खाहरुलाई सम्मान गर्दै श्राद्ध तथा पिट्टर दिने कार्य गर्छन् ।

थारु बुुद्धिजीवी महावीर दहितको अनुसार श्राद्धको लागि पुईको साग, मसुर या मासको भुजा, माछाको सुकुटी, दहिलगायत खाद्य सामग्री जोहो गरिन्छ । उनी भन्छन्–‘डेहुरार ‘पिट्टर’ दिने चलन अनुसार पुस्तान्तर अनुसार खानेकुरा राख्ने गरिन्छ । जस्तो कि, सात पुस्ताको पितृलाई सम्झिदा सात वटा टपरीमा र पाँच पुस्ताको पितृलाई पाँच टपरीमा खानेकुरा राखिन्छ । तर दहितथारु भित्र नौ टपरीमा खानेकुरा राखिने र टपरीको अगाडि १८ वटा दुुनाहरुमध्ये नौ/नौ वटा लहरै राखिन्छ । पहिलो लहरमा जल र अर्कोमा मिठाइ वा रक्सी चढाइन्छ ।’

lakhan news photo 2

  • ढिकरहुवा उत्सव

थारु संस्कृति विद डा. गोपाल दहितका अनुसार थारु समुदायको डसियाको तिथि अनुसार असोज २३ गते पैनस्टोपी ढोइना अर्थात ढिक्रि (चामलको विशेष परिकार) बनाउने उपकरण धुने दिन हो । २४ गते ढिकरहुवा (ढिक्रि उत्सव), २५ गते पिट्टर अस्राइना (पिण्ड सेलाउने) र २६ गते टीका थप्ने दिन परेको हो ।

पैनस्टोपी धोएको भोलिपल्ट ढिकरहुवाको उत्सवको तयारी विहानैदेखि सुरु हुन्छ । घरको मुुली अथवा पूजापाठ गर्ने व्यक्ति दिनभरी निराहार व्रत बसेका हुन्छन् । उनीहरुले नै नयाँ धानको चामलको पिठो बनाइ ढिकरी बनाउँछन् । साथै विभिन्न आकार प्रकारका ढिक्रि बनाइ प्रसादको रुपमा आफ्नो कुल देवतालाई चढाउने प्रचलन रहेको बताइन्छ । खासगरी गोलो ढिक्रि, लाठी ढिक्रि, पौवा ढिक्रि, ढकिया ढिक्रिलगायत आकार प्रकारको ढिक्रि बनाइन्छ । पूजापाठको लागि वनबाट बेलको पातसहितको हाँगा, कुश, भेला (रुख)को पात ल्याइन्छ । 

दिनभरि निराहार व्रत बसेका व्रतालुहरु साँझपख विधिपूर्वक ल्याएको बेलको हाँगा पूजाकोठामा गाडेर त्यसको काँडामा ढिक्रिहरु लहरै खोपेर कुल देवताको पूजापाठ गर्ने संस्कार रहेको कैलारी गाउँपालिका–६ बेनौलीकी चोंधिया देवी थरुनी बताउँछिन् ।

साथै कोपिला थप्छन्–‘साँझ डेहुरार रहेका र बाहिर रहेका सबै देउताहरुलाई नुहाएर छिनोनि पानी छर्केर नयाँ दियो बाल्छन् र गोलो ढिक्रि, बाबरी, जमरा, रक्सी (टौला र बजारि) र जल चढाएर पूजा गर्छन् । देउता भएको घरका मान्छेले भेंडाको प्रतीकको रुपमा कुपिण्डोको भेंडा बनाएर त्यसकै पूजा गर्छन् । गोठमा ढरमराज, पूर्वको आँगनमा ‘पूर्वी’ लगायत अन्य देउताहरुलाई पूज्दछन् । पूजा गर्नेबेला बानढुप पनि चढाउँछन् र सिन्दुर र कजरा (खरानी)को टीका पनि लगाउँछन् ।’

  • सेती टीकाको प्रचलन

नवमीको दिन दिन विहानै घर मुली तथा पूजा गर्ने व्यक्तिले नुहाएर सबै देउताहरुलाई अघिल्लो दिन झै जमरा–बाबरी चढाएर कुखुराको वलि दिन्छन् । वलि दिनुु भन्दा पहिले पाटामाथिको बर्ह्नि (झारु) हटाएर नयाँ बहर्नी (कुचो) राख्छ । जुन एक वर्षपछि दोश्रो डसियासम्मको लागि मात्रै राखिन्छ र दोश्रो डसियामा त्यो बहर्नी साटिन्छ । देउता नभएको मानिसले एक अथवा तीनवटा आफ्नो चलन अनुसार कुखुरा पूज्दछन् भने देउता भएका घरका मानिसले सातदेखि १५ वटासम्म कुखुरा र डिँवा (समयावधि) अनुसार भेंडा, बाख्रा, सुँगुर पुज्दछन् । देवताहरुको प्रकृति अनुसार वलि सँगै जमरा, बाबरी, रक्सी, बानढुप चढाएर सेतो टीका लगाउँने प्रचलन रहेको सहित्यकार कोपिला बताउँछन् ।

पूजा सकिएपछि महिलाहरु नदी घाट, कुलामा पिट्टर सेलाउन जान्छन् । पिट्टर सेलाउन जाँदा करैमा छाँकि, समूह–समूहमा महिलाहरु ढकियामा डेहुरार राखिएको पूरानो बहर्नी, पूजा गरेको जमरा, बाबरी, कुपिण्डोको भेंडा लगायत जुन–जुन ठाउँ पूजा गर्छन् त्यहाँ सफा गर्दा निस्किएको फोहर लिएर जान्छन् । साथै खानपिनको लागि छाँकि र तरकारी पनि लिएर गएका हुन्छन् । सेलाई सकेपछि सबैजना मिलेर आफूसँग लिएर आएको छाँकि आपसमा मिली खान्छन् र मनोरञ्जन पनि गर्छन् । 

डसियाको टीकालाई ‘राजा–टीका’ रुपमा मनाइने प्रचलन थारु समुदाय छ । गाउँको महटवा अथवा भलमन्साको घरमा आफु भन्दा ठूलाबाट अर्शिवादसहित टीका लिने प्रचलन रहि आएको छ । उसो त गाउँभरी घर–घरमा आफ्नो मान्यजनहरुको हातबाट टीका थपिन्छ । आजभोलि रातो टीकाको प्रयोग भएपनि थारु समुदाय सेतो पीठोको टीका नै परम्परादेखि चल्दै आएको बताइन्छ । सेतो टीका शोकको टीका हो । यसलाई शान्तिको प्रतिक रुपमा लिने गरेको थारु बुद्धिजीवीको ठहर छ ।

यसैबीच थारु गाउँमा विभिन्न खाले सांस्कृतिक कार्यक्रम हुन्छन् । यूवायुवतीहरु आजभोलि स्टेजमा सांस्कृतिक कार्यक्रमदेखि परम्परागत झुम्रा, सखिया नाच नाचिने र गर्छन् ।

अइ टे गैली बरी डुुरिक पहुनी हो

ए हो.....धानिन् चेरिया अंगना बहार

अइ टे गैली बरी डुुरिक पहुनी हो

ए हो....अर्रर गोडरिया बिछाई ।

...........................................

लडियाके ढिकुवाई ढिकुवाई फूलावा गैली हो

सखी हो, फूलवा लगैली गेडा सार ।

.............................................

‘उरि उरि भौरा टिकुलि पर बैठे रे हाँ,

ए हो भौँरक छुवल मोर टिकुलि मलिन हो ।’

..................................................

एनरी बाहाँस हो काटी कमवा सिटैबु

कमवा सिटैबु मै पिन्जला बनैबुँ

पिन्जला बनैबु मै सारी सुगा पलबु

वचनक बिनल पिन्जला कबु रे जिनी टुट

टुटीगिल पिन्जला रे मोर उरिगिल सुगिना ।।

यसैबीच बुढापाकाहरु आपसमा बर्किमार गाउँछन् । महाभारतको गाथामा आधारित लोक महाकाव्यको रुपमा रहेको बर्किमार अर्थात ठूलो लडाइको गीत गाउँछन् । जुन १२ पैढार (अंश) मा उल्लेख छ ।

बेबुरी बिनायक झमकी उरावै, बिना बुुन्डी टुहार पास ।

घनपती घनरे सुगा कई ठोर, हृडा बाइस मोती डेहो रे सिखाइ ।।

भगमोती शरण लेहबु टोहार नाउँ, डेखि धरम देवी बन्धन बा ।।। 

तर पछिल्लो समय बर्किमार गाउने चलन हराउँदै गएको छ । महाभारत गाथामा आधारित बर्किमार पुस्तान्तरणमा हुन नसकेपछि हराउँदै गएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप