बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

महिला साफको उपाधि लक्ष्यसहित तयारी गरेका छौँ : प्रशिक्षक राजेन्द्र

बिहीबार, २४ असोज २०८१, १८ : ००
बिहीबार, २४ असोज २०८१

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्यसहित तयारी गरेको बताएका छन् । 

आगामी कात्तिक १ देखि १४ गतेसम्म हुने नेपालमा तेस्रोपल्ट महिला साफ च्याम्पियनसिप हुँदैछ । आयोजक नेपालले भने कात्तिक २ गते भुटानसँग खेल्दै घरेलु मैदानको साफ च्याम्पियनसिपको सुरुवात गर्ने भएको छ । घरेलु मैदानमा हुने साफमा च्याम्पियन बन्ने लक्ष्यसहित खेलाडीलाई राम्रोसँग उत्प्रेरणा दिँदै प्रभावकारी तयारी गरिएको प्रशिक्षक तामाङले बताए  टोलीको लक्ष्य पूरा हुने आशा रहेको उनको भनाइ छ । प्रशिक्षक तामाङले एन्फा लिगबाट प्रारम्भिक छनोट गरिएको र त्यहाँबाट अहिले २७ खेलाडीले प्रशिक्षण गरिरहेको बताए ।  

दुई खेलाडी रेखा पौडेल र साबित्रा भण्डारी भण्डारी देश बाहिर लिग खेलिरहेको २७ खेलाडीलाई नै प्रशिक्षण गराइएको प्रशिक्षक तामाङको भनाइ छ । लामो समय टर्फमा प्रशिक्षण गरे पनि घाँसे मैदानमा हुने खेलले केही अफ्ठ्यारो नहुने प्रशिक्षक तामाङ बताउँछन् । वाफमा खेल्दा पनि टर्फमा प्रशिक्षण गरेर घाँसे मैदानमा प्रतिष्पर्धा गरेको उनले स्मरण गरे । तर खेलाडीको मानसिकताले नै प्रभाव पार्ने उनले बताए । साबित्रा र रेखा विदेशी लिग खेलिरहेकाले उनीहरूलाई नै राख्ने गरी टिम तयारी नगरिएको प्रशिक्षक तामाङले उल्लेख गरे । 

रेखा पौडेल आउने भएपनि साबित्रा टोलीमा रहने सम्भावना कम रहेकाले सोहीअनुरूप तयारी गरिएको उनले स्पष्ट पारे । रश्मि घिसिङ साबित्राको स्थानमा विकल्प हुनसक्ने प्रशिक्षक तामाङले आशा गरे । सावित्रा र रेखालाई शुरुका दुई खेलपछि खेल्ने गरी टोली निर्माण गर्ने उनको उद्देश्य छ । साफ च्याम्पियनसिपको तयारीमा रहेकाले महिला खेलाडीलाई टीकाको दिनबाहेक रिलिज नगर्ने उनको भनाइ छ । तर यो दिनमा डाइट प्लान बिग्रने चिन्ता रहेको उनले बताए । 

लगातार तेस्रो संस्करणमा नेपालमा महिला साफ च्याम्पियनसिप हुन लागेको हो । यसअघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतले समान एकपल्ट यसको आयोजना गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने च्याम्पियनसिमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी सात राष्ट्रले प्रतिष्पर्धा गर्नेछन् । कुल सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा छ । यो समूहमा श्रीलंका माल्दिभ्स र भुटान गरी चार राष्ट्र छन् । अर्को समूह ‘ए’ मा भने बलिया राष्ट्र भारत, पाकिस्तान र साविक विजेता बंगलादेशले प्रतिष्पर्धा गर्ने तय छ ।

च्याम्पियनसिपको उद्घाटन खेलमा कात्तिक १ गते भारत र पाकिस्तान भिड्दैछन् ।  हालसम्म नेपाल पाँचपल्ट फाइनलमा पुगे पनि उपाधिको स्वाद भने चाख्न पाएको छैन । महिला साफ च्याम्पियनसिपको सफल टोली भारत हो । भारतले पाँचपटक उपाधि उचाल्दा गत संस्करण मात्र बंगलादेशले जितेको छ । यस च्याम्पियनसिपमा सहभागी टोलीलाई एन्फा मुख्यालय, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान तथा सेन्ट जेभियर्सको खेलमैदानमा प्रशिक्षणको व्यवस्था गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप