बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

एसिया प्यासिफिक केयर फोरमको प्यानलिष्टका लागि उपप्रमुख डंगोललाई निमन्त्रणा

बिहीबार, २४ असोज २०८१, १७ : ४५
बिहीबार, २४ असोज २०८१

काठमाडौँ । एसिया प्यासिफिक केयर फोरमको प्यानलिष्टका लागि काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डंगोललाई निमन्त्रण गरिएको छ । कार्तिक ६ देखि ८ गते (अक्टोबर २२–२४) थाइल्याण्डको बैंककमा आयोजना हुने फोरमको प्यानलिष्टका रूपमा उपप्रमुख डंगोललाई निमन्त्रणा गरिएको हो । 

यूएन वुमनका नेपाल प्रतिनिधि प्याट्रिसिया फर्नान्डेजले उपप्रमुखको कार्यकक्षमा आएर ‘केयरिङ् सिटिज’ शीर्षकमा हुने संवाद र छलफल सत्रको प्यानलिष्टका रूपमा सहभागी हुन निमन्त्रणा दिएकी हुन् । प्यानल, लैङ्गिक उत्तरदायी सहरी योजनाका विषयमा केन्द्रित हुनेछ ।

कार्यक्रममा हेरचाह र महिलाहरूको आर्थिक सशक्तीकरणको सम्भावनालाई आगामी दिनमा कसरी हेर्न सकिन्छ ? नीति, योजना, कार्यक्रम र लगानीका कोणबाट साझा बुझाइ निर्माण गरिनेछ । यस्तै ‘केयर इकोनोमी’ का सफल र असल अभ्यासहरूको आदानप्रदान र छलफल हुनेछ । 

महिला सशक्तीकरणको एसिया प्यासिफिक क्षेत्रमा विद्यमान सोचको पुस्तान्तरण, यसको रूपान्तरणमा महिलाहरूको आर्थिक सशक्तीकरण, रूपान्तरणका लागि निजी तथा सामुदायिक संघसंस्थाहरुको दायित्व, लगानी र भूमिका, केयर  इकोनोमी (हेरचाह अर्थतन्त्र) देखि केयर सिस्टम (हेरचाह प्रणाली) सम्मको चक्रमा केयर इन्टरप्रेनरसिप (हेरचाह उद्यमशीलता) लगायत विषयहरूलाई फोरममा प्रस्तुतीकरणका रूपमा राखिनेछ । छलफल र संवाद गरिनेछ ।

कार्यक्रमको निमन्त्रणा ग्रहण गर्दै उपप्रमुख डंगोलले, महानगरपालिकाले कार्यान्वयनमा ल्याएका एकल सेवा केन्द्रसँगैको स्तनपान कक्ष र लिङ्गका आधारमा हुने हिंसालाई तत्काल सम्बोधन गर्न गठन गरिएका वडा महिला सञ्जालका बारेमा जानकारी गराएकी थिइन । 

उनले शासन प्रणालीमा महिला सहभागिताको प्रसङ्ग उठाउँदै भनिन्, ‘प्रणालीले महिलाहरूलाई पदीय स्थानहरू सुनिश्चित गरेको छ । कतिपय ठाउँमा पदीय दायित्वलाई अर्थपूर्ण बनाउन र कुशलतापूर्वक सम्पन्न गर्न क्षमता विकासका कार्यक्रम चाहिएका छन् ।’

पारिवारिक तथा सामाजिक अवस्थामा महिलाहरूको आर्थिक सशक्तीकरणको विषयलाई क्रमशः सम्बोधन गर्दै जानुपर्नेमा जोड दिइन ।

भेटका क्रममा फर्नान्डेजले लिङ्गका आधारमा हुने असमानता घटाउन डंगोलले प्रस्तुत गर्ने दृष्टिकोण धेरैले प्रतीक्षा गर्ने बताएकी थिइन ।

प्यानलिष्टका रूपमा डंगोललाई बोलाउन धेरै ठाउँबाट अनुरोध आएको समेत बताएकी थिइन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप