बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय
क्रिकेट

हङ्कङ सुपर सिक्सेस क्रिकेट : अस्ट्रेलिया र इङ्ल्यान्डसँग नेपाल समूह ‘बी’ मा

बिहीबार, २४ असोज २०८१, १७ : ०४
बिहीबार, २४ असोज २०८१

काठमाडौँ । लामो समयपछि फर्किएको ‘हङ्कङ सुपर सिक्सेस’ क्रिकेट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा अस्ट्रेलिया र इङ्ल्यान्ड परेका छन् । प्रतियोगितामा सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको समूह ‘ए’ मा आयोजक हङ्कङ, न्युजिल्यान्ड र दक्षिण अफ्रिका छन् । समूह ‘सी’ मा भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । प्रतियोगिताको समूह ‘डी’ मा भने बंगलादेश, ओमान र श्रीलंका परेका छन् ।

नेपाली टोलीले आफ्नो पहिलो खेल नोभम्बर १ तारिखमा इङ्ल्यान्डसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले नोभेम्बर २ तारिखमा अस्ट्रेलियाको सामना गर्नेछ । विश्व क्रिकेटमा सात वर्षपछि फेरि ‘हङ्कङ सुपर सिक्सेस’ आयोजना गर्न लागिएको हो ।

यो ढाँचाको क्रिकेटमा एउटा टोलीले पाँच ओभरमात्र ब्याटिङ गर्न पाउँछ । प्रतियोगिता आगामी नोभेम्बर १ देखि ३ तारिखसम्म आयोजना हुनेछ । यो प्रतियोगितामा कस्ता खेलाडीले सहभागिता जनाउँछन् भन्ने विषयमा केही खुलाइएको छैन ।

यो ढाँचाको प्रतियोगितामा प्रत्येक टोलीबाट केवल ६ जना खेलाडी मैदानमा ओर्लन पाउँछन् । यसअघि भारतका सचिन तेन्दुल्कर, महेन्द्रसिंह धोनी, अनिल कुम्बलेलगायतका खेलाडी पनि ‘हङ्कङ सुपर सिक्स’ खेलिसकेका छन् ।

यो ढाँचाको क्रिकेट प्रतियोगितामा फाइनलअघि बलरहरूले प्रत्येक ओभरमा ६ बल नै फाल्नेछन् । तर, फाइनलमा भने आठ बलको एक ओभर हुनेछ । यो ढाँचाको क्रिकेटमा विकेटकिपरलाई छाडेर अन्य सबै खेलाडीले एक–एक ओभर बलिङ गर्न पाउने छन् ।

यदि बलरले वाइड वा नो बल फालेमा विपक्षी टोलीले एक रनको सट्टा अतिरिक्त रूपमा दुई रन पाउने छ । पाँच ओभर पुरा हुनुअघि नै कुनै टोलीको पाँच खेलाडी आउट भए भने क्रिजमा रहेका अन्तिम ब्याट्सम्यान एक्लैले पनि ब्याटिङ गर्न पाउने छन् । यस्तो स्थितिमा पाँचौँ नम्बरमा आउट हुने ब्याट्सम्यानले ‘रनर’ को भूमिका निर्वाह गर्नेछन् ।

खेलका क्रममा यदि कुनै ब्याट्सम्यानले ३१ रन बनाएमा उक्त ब्याट्सम्यान स्वतः रिटायर्ड भएर मैदानबाट बाहिरिने छ । यदि त्यो टोलीका सबै ब्याट्सम्यान आउट भएको अवस्थामा भने ३१ रन बनाएर रिटायर्ड भएको ब्याट्सम्यानले पुनः ब्याटिङ गर्न पाउने छ ।

‘हङ्कङ सुपर सिक्स’ को अघिल्लो संस्करण सन् २०१७ मा आयोजना भएको थियो । यसपटक भने प्रतियोगितालाई ‘हङ्कङ क्रिकेट सिक्सेस’ को नामबाट निरन्तरता दिइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप