बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

पहिलो इनिङ्समा बन्यो १३७९ रन, इङ्ल्यान्डलाई २ सय ६७ रनको अग्रता

बिहीबार, २४ असोज २०८१, १६ : १०
बिहीबार, २४ असोज २०८१

काठमाडौँ । पाकिस्तानविरुद्धको पहिलो टेस्ट क्रिकेटको चौथो दिन बिहीबार इङ्ल्यान्डले सात विकेटको नोक्सानीमा आठ सय २३ रन बनाउँदै आफ्नो पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको छ । मुल्तानमा जारी उक्त टेस्टमा भ्रमणकारी टोली इङ्ल्यान्डले पहिलो इनिङ्समा दुई सय ६७ रनको अग्रता लिएको छ ।

पहिलो इनिङ्समा दुवै टोलीले मिलेर पहिलो इनिङ्समा एक हजार तीन सय ७९ रन बनाए । इङ्ल्यान्डले इनिङ्स समाप्तिको घोषणा गरेपछि पहिलो टेस्ट रोचक मोडमा पुगेको छ । दोस्रो इनिङ्समा पाकिस्तानलाई छिट्टै अलआउट गर्न सके यो टेस्ट इङ्ल्यान्डले जित्नेछ । अन्यथा पहिलो टेस्ट बराबरीमा सकिने छ ।

इङ्ल्यान्डले बनाएको रन कुनै पनि टोलीले टेस्ट क्रिकेटको इतिहासमा एकै इनिङ्समा बनाएको चौथो ठुलो स्कोर हो । टेस्ट क्रिकेटको एकै इनिङ्समा बनेको सबैभन्दा ठुलो स्कोर भने श्रीलंकाको नाममा छ । श्रीलंकाले सन् १९९७ को अगस्त २ तारिखमा भारतविरुद्ध ६ विकेट गुमाएर नौ सय ५२ रन बनाएको थियो ।

यसैगरी, यो सूचिमा दोस्रो स्थानमा इङ्ल्यान्ड रहेको छ । इङ्ल्यान्डले सन् १९३८ को अगस्त २० मा अस्ट्रेलियाविरुद्ध सात विकेट गुमाएर नौ सय तीन रन बनाएको थियो । तेस्रो स्थानमा पनि इङ्ल्यान्ड नै रहेको छ । इङ्ल्यान्डले सन् १९३० को अप्रिल ३ तारिखमा वेस्ट इन्डिजविरुद्ध आठ सय ४९ रन बनाएको थियो ।

पाकिस्तानविरुद्धको टेस्टमा इनिङ्स समाप्तिको घोषणा गर्नुअघि इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले तेहरो शतक बनाएका थिए । उनले टोलीका लागि तीन सय १७ रनको योगदान गरे । उनी आउट भएलगत्तै इङ्ल्यान्डले इनिङ्स समाप्तिको घोषणा गरेको हो ।

ह्यारी ब्रुकले तीन सय २२ बलको सामना गरी तीन छक्का र २९ वटा चौका पनि प्रहार गरे । उनका अतिरिक्त जो रुटले पनि इङ्ल्यान्डका लागि दोहोरो शतक बनाए । उनले टोलीको खातामा दुई सय ६२ रन थपे । उनले तीन सय ७५ बलको सामना गरी १७ चौका पनि प्रहार गरे ।

इङ्ल्यान्डले दुई सय ४९ रनमा आफ्नो तेस्रो विकेट गुमाएको थियो । त्यसपछि रुट र ब्रुकले टोलीको स्कोरलाई सात सय तीन रनको बलियो स्थितिमा पुर्‍याएका थिए । यी दुवै ब्याट्सम्यानले चार सय ५४ रनको साझेदारी गरे ।

टेस्ट क्रिकेटको इतिहासमा कुनै पनि ब्याट्सम्यानले चार सयभन्दा बढी रनको साझेदारी गरेको यो दोस्रो पटक हो । यसअघि सन् १९५७ मा इङ्ल्यान्डका ब्याट्सम्यान पिटर मेय र कालिन काउड्रेले चार सयभन्दा बढी रनको साझेदारी गरेका थिए । त्यो टेस्ट वेस्ट इन्डिजविरुद्ध खेलिएको थियो । त्यसपछि रुट र ब्रुकले यस्तो उपलब्धि हासिल गरेका हुन् ।

यसैगरी, रुट र ब्रुक विश्व टेस्ट क्रिकेटमा सबैभन्दा ठुलो साझेदारी गर्ने खेलाडीको सूचिमा पनि चौथो स्थानमा उक्लिएका छन् । टेस्ट क्रिकेटको इतिहासमा कुनै पनि विकेटका लागि सबैभन्दा ठुलो साझेदारी भने श्रीलंकाका कुमार सांगाकारा र माहेला जयाबद्र्धनेको नाममा छ ।

उनीहरुले सन् २००६ को जुलाई २७ तारिखमा खेलिएको दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा ६ सय २४ रनको साझेदारी गरेका थिए । यो सूचिमा दोस्रो स्थानमा रहेका श्रीलंकाका रोशन महानामा र सनथ जयसूर्याको जोडीले पाँच सय ७६ रनको साझेदारी गरेका छन् । तेस्रो स्थानमा रहेका न्युजिल्यान्डका मार्टिन क्रो र एन्ड्रयू जोन्सले चार सय ६७ रनको साझेदारी गरेका थिए ।

दोस्रो इनिङ्समा इङ्ल्यान्डका लागि बेन डकेटले पनि ८४ रनको योगदान गरे । उनले ७५ बलको सामना गरी ११ चौका हिर्काए । ओपनर ज्याक क्रावलीले टोलीको खातामा ७८ रन थपे । पाकिस्तानका बलरहरू निरीह देखिए । नसिम शाह र साइम अयुबले दुई–दुई विकेट लिए ।

त्यसअघि टस जिती पहिले ब्याटिङको निर्णय लिएको पाकिस्तानले पहिलो इनिङ्समा पाँच सय ५६ रन बनाएको थियो । पाकिस्तानका लागि तीन ब्याट्सम्यानले सतकीय इनिङ्स खेलेका थिए । पाकिस्तानका लागि ओपनर अब्दुल्लाह सफिक, कप्तान सान मसुद र सलमान आघाले शतक बनाएका थिए ।

कप्तान सान मसुदले एक सय ५१ रनको योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका ३४ वर्षीय सान मसुदले एक सय ७७ बलको सामना गरी दुई छक्का र १३ वटा चौका प्रहार गरे । आक्रामक ब्याट्सम्यान सान मसुदले टेस्ट क्रिकेटमा बनाएको यो पाँचौँ शतक हो ।

यसैगरी, ओपनर अब्दुल्लाह सफिकले पनि टोलीको खातामा एक सय दुई रन थपे । उनले एक सय ८४ बलको सामना गरी दुई छक्का र १० चौका पनि हिर्काएका थिए । २४ वर्षीय अब्दुल्लाह सफिकले पनि टेस्ट क्रिकेटमा बनाएको यो पाँचौँ शतक नै हो ।

यसैगरी, आठौँ नम्बरमा क्रिज समाल्न आएका सलमान आघाले अविजित एक सय चार रनको योगदान गरे । उनले एक सय १९ बलको सामना गरी तीन छक्का र १० चौका पनि हिर्काए । ३० वर्षीय सलमान आघाले टेस्ट क्रिकेटमा प्रहार गरेको यो तेस्रो शतक हो ।

पाकिस्तानले केवल आठ रनको कुल स्कोरमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि अब्दुल्लाह सफिक र सान मसुदले टोलीको स्कोरलाई दुई सय ६१ रनको स्थितिसम्म पुर्‍याएका थिए । त्यसपछि अन्य ब्याट्सम्यानले पनि पाकिस्तानका लागि महत्त्वपूर्ण इनिङ्स खेलेका थिए ।

घरेलु टोलीका लागि साउद सकिलले पनि ८२ रनको योगदान गरेका थिए । साउद सकिलले एक सय ७७ बलको सामना गरी आठ चौका पनि हिर्काएका थिए । २९ वर्षीय साउद सकिलले टेस्ट क्रिकेटमा प्रहार गरेको यो सातौँ अर्धशतक हो । इङ्ल्यान्डका बलर ज्याक लिचले तीन विकेट लिएका थिए । गस एट्किन्सन र ब्रायडन कार्सले पनि दुई–दुई विकेट हात पारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप