बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय
क्रिकेट

पाकिस्तानविरुद्धको टेस्टमा इङ्ल्यान्डका रुट र ब्रुकले बनाएका केही कीर्तिमान

बिहीबार, २४ असोज २०८१, १४ : ५३
बिहीबार, २४ असोज २०८१

काठमाडौँ । इङ्ल्यान्ड र पाकिस्तानबिचको पहिलो टेस्ट क्रिकेट हाल मुल्तानमा जारी छ । चौथो दिन बिहीबारको खेल सकिँदासम्म पनि पहिलो इनिङ्स समाप्त भएको छ । पहिलो इनिङ्समा दुवै टोलीले मिलेर एक हजार दुई सभन्दा बढी रन बनाइसकेका छन् ।

टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली पाकिस्तानले पहिलो इनिङ्समा पाँच सय ५६ रन बनाएको थियो । त्यसपछि जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोलीले निरन्तर पहिलो इनिङ्समा ब्याटिङ गरिरहेको छ ।

चौथो दिनको खेल जारी रहँदा (जो रुट आउट हुँदासम्म) इङ्ल्यान्डले केवल चार विकेट गुमाएर सात सय तीन रन बनाइसकेको छ । इङ्ल्यान्डका दुई ब्याट्सम्यानले दोहोरो शतक बनाएका छन् । तेस्रो नम्बरका ब्याट्सम्यान जो रुटले दुई सय ६२ रन बनाउँदै आउट भएका छन् ।

पाँचौँ नम्बरका ब्याट्सम्यान ह्यारी ब्रुकले भने अविजित रहेर दुई सय ६० रन जोडिसकेका छन् । यी दुवै ब्याट्सम्यानले चार सय ५४ रनको साझेदारी पनि गरेका छन् । यो खेलमा केही गतिला कीर्तिमान पनि बनेका छन् ।

  • एकै इनिङ्समा दुई दोहोरो शतक

टेस्ट क्रिकेटको इतिहासमा एउटै इनिङ्समा इङ्ल्यान्डका दुई खेलाडीले दोहोरो शतक प्रहार गरेको यो केवल दोस्रो पटक हो । यसअघि सन् १९८५ मा इङ्ल्यान्डका दुई ब्याट्सम्यानले एउटै इनिङ्समा दोहोरो शतक बनाएका थिए ।

त्यतिबेला जो ग्रिम फाउलर र माइकल गेटिङले एउटै इनिङ्समा दोहोरो अर्धशतक प्रहार गरेका थिए । यी दुई ब्याट्सम्यानले चेन्नईमा खेलिएको भारतविरुद्धको टेस्टका क्रममा यस्तो उपलब्धि हासिल गरेका थिए । त्यो खेलमा फाउलरले दुई सय एक र गेटिङले दुई सय सात रन बनाएका थिए । त्यसपछि अहिले आएर जो रुट र ह्यारी ब्रुकले यस्तो उपलब्धि हात पारेका हुन् ।

joe root harry brook

  • चार सय रनभन्दा बढीको साझेदारी

पाकिस्तानविरुद्धको जारी टेस्टमा रुट र ब्रुकले चार सयभन्दा बढी रनको साझेदारी गरिसकेका छन् । टेस्ट क्रिकेटको इतिहासमा कुनै पनि ब्याट्सम्यानले चार सयभन्दा बढी रनको साझेदारी गरेको यो दोस्रो पटक हो ।

यसअघि सन् १९५७ मा इङ्ल्यान्डका ब्याट्सम्यान पिटर मेय र कालिन काउड्रेले चार सयभन्दा बढी रनको साझेदारी गरेका थिए । त्यो टेस्ट वेस्ट इन्डिजविरुद्ध खेलिएको थियो । त्यसपछि रुट र ब्रुकले यस्तो उपलब्धि हासिल गरेका हुन् ।

यसैगरी, रुट र ब्रुक विश्व टेस्ट क्रिकेटमा सबैभन्दा ठुलो साझेदारी गर्ने खेलाडीको सूचिमा पनि चौथो स्थानमा उक्लिएका छन् । टेस्ट क्रिकेटको इतिहासमा कुनै पनि विकेटका लागि सबैभन्दा ठुलो साझेदारी भने श्रीलंकाका कुमार सांगाकारा र माहेला जयाबद्र्धनेको नाममा छ ।

उनीहरुले सन् २००६ को जुलाई २७ तारिखमा खेलिएको दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा ६ सय २४ रनको साझेदारी गरेका थिए । यो सूचिमा दोस्रो स्थानमा रहेका श्रीलंकाका रोशन महानामा र सनथ जयसूर्याको जोडीले पाँच सय ७६ रनको साझेदारी गरेका छन् । तेस्रो स्थानमा रहेका न्युजिल्यान्डका मार्टिन क्रो र एन्ड्रयू जोन्सले चार सय ६७ रनको साझेदारी गरेका थिए ।

  • पाकिस्तानविरुद्ध रुटको कीर्तिमान

पाकिस्तानविरुद्धको टेस्टमा हालसम्म दुईजना खेलाडीले मात्र दुईपटक दुई सय ५० भन्दा बढी रन बनाउन सकेका छन् । पहिलो पटक यस्तो उपलब्धि हासिल गर्ने खेलाडी भारतका वीरेन्द्र सेहवाग हुन् । सेहवागले पाकिस्तानविरुद्ध दुईपटक दुई सय ५० भन्दा बढी रन बनाएका थिए । त्यसपछि यस्तो उपलब्धि हासिल गर्ने जो रुट दोस्रो खेलाडी बनेका छन् ।

  • इङल्यान्डका लागि सबैभन्दा बढी २५० रन

जो रुट टेस्ट क्रिकेटमा इङ्ल्यान्डका लागि सबैभन्दा धेरै पटक दुई सय ५० भन्दा बढी रन बनाउने ब्याट्सम्यानको सूचीमा पनि दरिएका छन् । उनी यो सूचिमा संयुक्त रूपमा पहिलो स्थानमा उक्लिएका हुन् । टेस्ट क्रिकेटमा इङ्ल्यान्डका लागि हालसम्म तीन ब्याट्सम्यानले दुई–दुई पटक दुई सय ५० रनभन्दा बढी रन बनाएका छन् । रुटका अतिरिक्त यस्तो उपलब्धि हासिल गर्ने इङ्ल्यान्डका ब्याट्सम्यान वेली हेमण्ड र एलिस्टर कुक हुन् ।

  • इङ्ल्यान्डका लागि सर्वाधिक टेस्ट रन

जो रुट आफ्नो देशका लागि सर्वाधिक टेस्ट रन बनाउने खेलाडीका रूपमा पनि दरिएका छन् । उनले पाकिस्तानविरुद्धको पहिलो टेस्ट क्रिकेटमा यस्तो कीर्तिमान बनाएका हुन् । ३३ वर्षीय रुटले इङ्ल्यान्डका पूर्वकप्तान एलिस्टर कुकको कीर्तिमान तोडेका हुन् ।

यसअघि कुक नै इङ्ल्यान्डका लागि सर्वाधिक टेस्ट रन बनाउने ब्याट्सम्यान थिए । यसका अतिरिक्त रुट विश्व टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि पाँचौँ स्थानमा उक्लिएका छन् । उनले हालसम्म कुल १२ हजार ६ सय ६४ रन बनाएका छन् ।

पाकिस्तानविरुद्धको टेस्टमा उनी दुई सय ६२ रन बनाउँदै आउट भए । उनले तीन सय ७५ बलको सामना गरी १७ वटा चौका पनि प्रहार गरे । उनले टेस्ट क्रिकेटमा हालसम्म ३५ शतक र ६४ अर्धशतक प्रहार गरिसकेका छन् ।

विश्व टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा भारतका पूर्वखेलाडी सचिन तेन्दुल्कर पहिलो स्थानमा आसीन छन् । आफ्नो समयका प्रभावशाली खेलाडी सचिनले टेस्ट क्रिकेटमा १५ हजार नौ सय २१ रन बनाएका छन् ।

यसैगरी, यो सूचिमा दोस्रो स्थानमा रहेका अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले १३ हजार तीन सय ७८ रन बनाएका छन् । तेस्रो स्थानमा रहेका दक्षिण अफ्रिकाका पूर्वखेलाडी ज्याक कालिसले १३ हजार दुई सय ८९ रन बनाएका छन् ।

सर्वाधिक टेस्ट रन बनाउने ब्याट्सम्यानको सूचिमा चौथो स्थानमा भारतका पूर्वखेलाडी राहुल द्रविड रहेका छन् । द्रविडले आफ्नो सक्रिय खेल जीवनमा टेस्ट क्रिकेटमा १३ हजार दुई सय ८८ रन बनाएका थिए ।

यो सूचिमा माथिल्लो पाँच स्थानमा रहेका ब्याट्सम्यानमध्ये रुटमात्र हालसम्म खेल जीवनमा सक्रिय रहेका छन् । यो सूचिमा पनि रुट आफ्नै देशका कुकलाई उछिन्दै पाँचौँ स्थानमा उक्लिएका हुन् । कुकले सक्रिय खेल जीवनबाट सन्न्यास लिनुअघि टेस्ट क्रिकेटमा १२ हजार चार सय ७२ रन बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप