आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
दसैँ विशेष

लोक नृत्य तथा गीतमा आधारित झिझिया विकृत हुँदै

बिहीबार, २४ असोज २०८१, १५ : ००
बिहीबार, २४ असोज २०८१

काठमाडौँ । झिझिया नृत्य नेपालको तराई मधेसको सांस्कृतिक लोक नृत्य हो । दसैँ सुरु हुने बित्तिकै तराई मधेसमा झिझियाको रौनक सुरु हुन्छ ।

यो नाच देवी दुर्गाप्रति भक्ति अर्पण गर्न तथा आफ्नो परिवार, बालबच्चा र समाजलाई बोक्सी र कालो जादुबाट बचाउन गरिन्छ भन्ने मान्यता छ । घटस्थापनादेखि विजया दशमीसम्म महिला तथा युवतीको समूहले टाउकोमा माटोको घैँटो राखेर झिझिया नाच्ने गर्छन् ।

टाउकोमा राखिएको घैँटोमा चारैतिर प्वाल पारेको हुन्छ । त्यसभित्र बलिरहेको दियो राखिएको हुन्छ । महिलाले टाउकोमा राखेको घैँटोलाई घुमाइरहनु पर्छ । डायन अर्थात् जादु टुना गर्नेले त्यो प्वाल गन्न सकेमा घैँटो बोकेका महिला ठहरै हुने अर्थात् मृत्यु हुने मान्यता छ ।

त्यही भएर टाउकोमा राखिएको त्यो घैँटोलाई घुमाइरहनु पर्छ भनिन्छ । लोक संस्कृतिको रूपमा परम्परागत रूपमा मनाउँदै आएको झिझिया नृत्यमा पछिल्लो समय विकृति बढेको टिप्पणी भइरहेका छन् । झिझिया नृत्यको मौलिकता र यसको पहिचान समाप्त गरी त्यसलाई आधुनिकताको नाममा अश्लील बनाउन लागिएकोमा चिन्ता व्यक्त गरिएको छ ।

झिझिया गीत महोत्सव आयोजना गरी त्यसको नाममा विभिन्न विकृति जन्माइएको छ । अचेल विभिन्न भोजपुरी, मैथिली, हिन्दीका अश्लील गीतमा झिझिया नृत्य हुने गरेको छ । झिझिया नृत्य कार्यक्रमको नाममा भाडामा नर्तकीहरू ल्याएर अश्लील गीतमा नाच्न लगाएका हुन्छन् ।

झिझिया नृत्य केवल महिलाहरूले नाच्ने, गाउने तथा मनोरञ्जन गर्ने गीत हो । तर अचेल युवा–युवतीलाई साथ राखेर नाच्न लगाएको पनि देख्न सकिन्छ । संस्कृतिकर्मी धिरेन्द्र प्रेमर्षीले संस्कृतिको रूपमा रहेको झिझिया नृत्य बजारको वस्तु हुन गएकोमा चिन्ता व्यक्त गरे ।

‘संस्कृतिलाई संस्कृतिकै रूपमा रहन दिनुपर्छ । त्यसलाई बजारको बिकाऊ वस्तु बनाउनु हुँदैन,’ उनले भने, ‘तर अहिले झिझिया नृत्यलाई तोडमोड गरी व्यापारको वस्तु बनाइएको छ ।’

मुख्यतः श्रमजीवी महिलाले दसैँमा झिझिया खेल्ने गरेको उनले सुनाए । उनले भने, ‘भगवतीको आराधना र समाजलाई नकारात्मक शक्तिबाट बचाउन तथा मनोरञ्जन, आत्मसबलीकरणका झिझिया नृत्य हुन्थ्यो ।’

अहिले लाउडस्पिकर तथा डिजे बाजा बजाएर झिझिया नृत्य हुन थालेकाले लोकनृत्य समाप्त हुन थालेको आमसञ्चार प्राधिकरण, मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव बताउँछन् । उनले भने, ‘केही वर्षदेखि लोकगाथा, लोकनृत्यमा आधारित झिझियालाई आधुनिकताको नाममा विकृत बनाउँदै गएका छन्, जो चिन्ताको विषय हो ।’

झिझियाको लोकधुन, पारम्परिक विषयवस्तुतलाई तोडमरोड गरी भोजपुरी तथा मैथिलीमा दुई अर्थका शब्दहरू राखेर गीत बनाउँदै मौलिक संस्कृतिमाथि प्रहार भइरहेको उनले बताए ।

‘घैँटोभित्र बल्दै गरेको दियो लिएर नृत्य गर्नु आफैँमा साहसको काम हो, त्यसमा पनि डायन तथा तन्त्रमन्त्रको पनि डर हुन्छ । निकै जोखिम हुन्छ । तर, अहिले ती सबै मौलिकता हराइसकेको छ,’ उनले भने, ‘पहिला महिलाहरू समूह बनाएर घरघर गएर झिझियाको गीत गाउँदै, नाच्दै रमाइलो गर्थे । तर, अहिले गाउँगाउँमा मञ्च बनाएर झिझियाका कार्यक्रम गरिरहेका हुन्छन् ।’

झिझिया गीतभन्दा अन्य गीतहरूमा पनि नृत्यहरू भइरहेका हुन्छन् । त्यसमा गाउँघरमा चेलीबेटीलाई पनि प्रयोग गर्न थालिएको छ । अगुवाहरू यसलाई झिझियाको मौलिकतामाथिको प्रहार भन्छन् । त्यसले परम्परादेखिको संस्कृतिलाई विकृत बनाएको उनीहरूको भनाइ छ ।

झिझिया नृत्य प्रारम्भ गर्नुपूर्व त्यसको धार्मिक मान्यता अनुसार तयारी पनि गर्नुपर्छ । घैँटोलाई सफासुग्घर गरी त्यसमा प्वाल बनाएर एउटा ढकनाका साथ दियो बालेर राखिन्छ । टाउकोमा राखी नृत्य गर्नुपूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ । अर्थात् बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा मन्त्रले त्यसलाई बाँधिन्छ ।

सभ्य गुरुक बन्दे पाऊँ । बजर केवाडी ।

बजर बान्हो दशो दुआरी ।

मटिया बान्हो, मसान बान्हो, टोना बान्हो, टापर बान्हो ।।

यसरी मन्त्र पढेर त्यसलाई बाँधेपछि मात्र महिलाहरूले त्यो घैँटो लिएर गाउँको ब्रह्मस्थानमा गएर पूजा गर्छन् । अनिमात्र औपचारिक रूपमा झिझिया नृत्य तथा गायन सुरु हुन्छ ।

घरघरबाट पूर्णाहुतिका लागि अन्न, रुपैयाँ चन्दा माग्ने गर्छन् । घरमुलीले रुपैयाँ वा अन्य दान, चन्दा दिनमा ढिला गरे भने महिलाहरूले त्यही घरमुलीलाई गीतमार्फत गाली दिएर रमाइलो गरिरहेका हुन्छन् ।

जाबे भैया सुनलनि, झिझियाके अबैया

ताबे भैया ठोकलनी केवार ।।

अर्थात् जब झिझिया टोली आउने सुइँको दाइले पाउनुभयो, अनि आफ्नो ढोका बन्द गर्नुभयो ।

यदि कुनै घरमुलीले दान दिएन भने–

एक डिबिया तेलला झिझिया रुसल जाइ छै ।

दू महला के कोन सिंगार ।।

अर्थात् एउटा दियो बराबर तेल दिन नसकेपछि झिझिया रिसाएर फर्कँदा यो घरको के अर्थ भन्ने गरिन्छ ।

झिझिया नृत्य तथा गीतको उद्देश्य नै डायन, धामी झाँक्रीको शक्ति कमजोर गर्नु हो । आफ्ना बालबच्चा तथा समाजलाई डायन, धामी, झाँक्रीबाट बचाउनु हो ।

झिझियाको गीतको माध्यमबाट बोक्सीलाई यसरी गाली गरेका हुन्छन् ।

कोठाके उपर डैनिया, खिडकी लगैले ना,

खिडकी ओत्ते डैनिया, गुनावा चलैले ना ।

आगे किछु होएतौ डैनिया, गदहा पर चढैवौ

गदहा चढाए डैनियां नमुहां हसैबौ ना ।।

अर्थात् खबरदार, यदि तिमीले झ्याल पछाडिबाट टुनामुना गरी जादु चलायौ भने तिमीलाई गधामाथि चढाएर गाउँमा घुमाउँछौँ र नाम बदनाम गराउँछौँ ।

त्यस्तै,

डैनिया बेटा मरल पडल है,

अन्हार घर झिझडी ।

कोइ नै बाँस कटबैया है

अन्हार घर झिझडी ।।

अर्थात् घरमा बोक्सीको छोरा मरेको छ, बाँस काट्नेसम्म कोही छैनन् ।

यसरी घरघर गएर महिलाहरू झिझिया नृत्य गरेर उठाएको चन्दा, दान वा सहयोगले विजया दशमीको दिन पूजापाठ, भोजभतेर र प्रसाद वितरण गरिन्छ अनि झिझिया नृत्य विसर्जन गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप