बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय
अमरनाथदेखि तेन्दुल्करसम्म

रतन टाटाको क्रिकेट साइनो : जसले सयौँ क्रिकेटरलाई खेल्न प्रेरित गरे

बिहीबार, २४ असोज २०८१, १३ : ३१
बिहीबार, २४ असोज २०८१

काठमाडौँ । भारतका चर्चित उद्योगपति रतन टाटाको बुधबार राति ८६ वर्षको उमेरमा निधन भयो । उनी भारतका सफल उद्योगपति त थिए नै, सँगसँगै उनले भारतीय क्रिकेटको विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् ।

त्यसैले भारतीय क्रिकेट पनि रतन टाटाको निधनबाट दुःखी छ । क्रिकेटको भगवान् मानिने सचिन तेन्दुलकरदेखि वर्तमान भारतीय टोलीका प्रमुख प्रशिक्षक गौतम गम्भीरसम्मले उनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

भारतीय क्रिकेटका थुप्रै हस्ती खेलाडीलाई उनले सहयोग गरेका थिए । चर्चित खेलाडी बन्नुअघि भारतका थुप्रै पूर्वक्रिकेटरले उनको टोलीबाट क्रिकेट खेल्ने गर्थे । कुनै समय क्रिकेटमा भविष्य खोजिरहेका सचिनदेखि गम्भीरसम्मलाई उनले आफ्नो कम्पनीमा रोजगारी दिएर खेलजीवन अगाडि बढाउन सहयोग पुर्‍याएका थिए ।

रतन टाटा क्रिकेट खेलाडीहरूलाई टाटा ग्रुपअन्तर्गतको विभिन्न कम्पनीमा रोजगारी दिन्थे र उनीहरूको खेलजीवन अगाडि बढाउन सहयोग पुर्‍याउँथे । भारतलाई विश्वकप क्रिकेटको उपाधि चुमाउने थुप्रै खेलाडीले सुरुवाती दिनमा उनको कम्पनीका तर्फबाट क्रिकेट खेलेका छन् ।

भारतले सन् १९९३ मा आईसीसी एक दिवसीय विश्वकपको उपाधि चुमेको थियो । त्यतिबेला भारतलाई विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका मोहिन्दर अमरनाथलाई पनि सुरुवाती दिनमा खेलजीवन अगाडि बढाउन टाटा ग्रुपले नै सहयोग गरेको थियो ।

आफ्नो समयका चर्चित खेलाडी मोहिन्दर अमरनाथले क्रिकेट खेलेबापत टाटा ग्रुपअन्तर्गतको एयर इन्डियाबाट मासिक पारिश्रमिक पाउँथे । आफ्नो समयको प्रभावशाली क्रिकेट खेलाडीका रूपमा फारुख इन्जिनियरको नाम पनि अग्रस्थानमा आउँछ ।

फारुख इन्जिनियरलाई पनि सुरुवाती चरणमा खेलजीवन अगाडि बढाउन टाटा ग्रुपले नै महत्त्वपूर्ण सहयोग उपलब्ध गराएको थियो । उनी टाटा ग्रुपअन्तर्गतको टाटा मोटर्समा काम गर्थे । यसका अतिरिक्त अन्य थुप्रै खेलाडीलाई पनि रतन टाटाले सहयोग गरेका थिए ।

आफ्नो समयका चर्चित क्रिकेटर सञ्जय मांजरेकरलाई पनि टाटा ग्रुपले नै खेलजीवन अगाडि बढाउन महत्त्वपूर्ण सहयोग गरेको थियो । यसका अतिरिक्त चर्चित खेलाडीहरु रोविन उथप्पा, जवागल श्रीनाथ, युवराज सिंह, हरभजन सिंह र मोहम्मद कैफले पनि रतन टाटाकै सहयोगमा आफ्नो खेलजीवन अगाडि बढाएका थिए ।

यी सबै खेलाडीले टाटा ग्रुपअन्तर्गतको कम्पनीहरूबाट मासिक पारिश्रमिक पाउँथे । तर, उनीहरूको मुख्य काम भने क्रिकेट खेल्नु नै थियो । समयको कुनै कालखण्डमा यी सबै खेलाडीले क्रिकेट खेलको माध्यमबाट भारतको गौरव पनि बढाएका थिए ।

भारतीय टोलीका वर्तमान प्रमुख छनोटकर्ता अजित अगरकर पनि रतन टाटाबाट सहयोग पाउने खेलाडीको सूचिमा पर्छन् । आफ्नो सुरुवाती खेलजीवनमा उनी टाटा ग्रुपअन्तर्गतको टाटा स्टिलबाट पारिश्रमिक पाउँथे । भारतीय टोली सन् २००७ मा टी–२० च्याम्पियन बन्दा अगरकर पनि टोलीका महत्त्वपूर्ण सदस्य थिए ।

यसैगरी, अर्का भारतीय क्रिकेटर सार्दुल ठाकुरलाई पनि टाटा ग्रुपले ठुलो सहयोग गरेको थियो । उनी टाटा पावरबाट पारिश्रमिक पाउँथे र आफ्नो खेलजीवनलाई अगाडि बढाउँथे । यो सूचिमा अन्य थुप्रै भारतीय क्रिकेटरको नाम पनि समावेश छ ।

‘आफ्नो जीवन र निधन दुबैबाट रतन टाटाले देशलाई तरङ्गित बनाएका छन् । मैले उहाँसँग भेटेर समय बिताउने अवसर पनि पाएँ । यस अर्थमा म भाग्यमानी पनि हुँ । तपाईँको आत्माले शान्ति पाओस् । तपाईँको विरासत र तपाईँले फैलाएर गएका संस्थाहरूमार्फत तपाईँ सधैँ हामीमाझ जीवित रहनु हुनेछ,’ रतन टाटाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सचिन तेन्दुल्करले भनेका छन् ।

क्रिकेटको विषयलाई लिएर रतन टाटासँग एउटा अर्को सन्दर्भ पनि जोडिएको छ । सन् २०२३ को आईसीसी एक दिवसीय विश्वकप भारतमै आयोजना भएको थियो । त्यो विश्वकपका क्रममा रतन टाटालाई लिएर एउटा गलत खबर फेलिएको थियो ।

त्यो विश्वकपमा क्रममा रतन टाटाले अफगानिस्तानका स्टार स्पिनर राशिद खानलाई १० करोड रुपैयाँ पुरस्कार दिने घोषणा गरेको खबर फैलाइएको थियो । खासमा उक्त विश्वकपमा अफगानिस्तानले पाकिस्तानलाई हराएपछि यस्तो झुटो खबर फैलाइएको थियो ।

सोही कारणले सामाजिक सञ्जालमा रतन टाटा विवादमा पनि परेका थिए । तर, खबर निकै फैलिएपछि रतन टाटा आफैले भन्नु परेको थियो, ‘क्रिकेटसँग मेरो कुनै सम्बन्ध छैन । मैले कुनै खेलाडी वा टोलीलाई पुरस्कार दिने घोषणा पनि गरेको छैन । त्यसैले यस्ता अनावश्यक खबरको पछाडि दौडनु आवश्यक छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप