बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय
क्रिकेट

टी–२० बलिङ वरीयतामा दीपेन्द्र र एकदिवसीय अलराउन्डर वरीयतामा सन्दीपको छलाङ

बिहीबार, २४ असोज २०८१, १२ : ३८
बिहीबार, २४ असोज २०८१

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा जारी पछिल्लो टी–२० अन्तर्राष्ट्रियको बलिङ वरीयतामा नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरी ११ स्थान माथि उक्लिएका छन् । उनी पछिल्लो आईसीसी वरीयताको ५९औँ स्थानमा छन् ।

अघिल्लो वरीयतामा २४ वर्षीय दीपेन्द्र ७०औँ स्थानमा थिए । पछिल्लो वरीयतामा नेपाली बलरहरूमध्ये उनी सबैभन्दा अगाडि छन् । उनी पाकिस्तानका मोहम्मद वसिम, इङ्ल्यान्डका मार्क उड, पाकिस्तानकै मोहम्मद अमिर, इङ्ल्यान्डका क्रिस वाक्स, न्युजिल्यान्डका म्याट हेनरी र माइकल ब्रासवेलभन्दा पनि अगाडि छन् ।

अर्का नेपाली बलर सोमपाल कामी भने चार स्थान तल झरेर ९५औँ वरीयतामा पुगेका छन् । पछिल्लो टी–२० बलिङ वरीयतामा इङ्ल्यान्डका रासिद खान पहिलो स्थानमा आसीन छन् । वेस्ट इन्डिजका अकेल होसैन दोस्रो, अफगानिस्तानका रासिद खान तेस्रो, वेस्ट इन्डिजका गुडाकेश मोटी चौथो र श्रीलंकाका वानिन्दु हसरंगा पाँचौँ स्थानमा छन् ।

तर, पछिल्लो टी–२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा भने दीपेन्द्र एक स्थान तल झरेका छन् । उनी पछिल्लो ब्याटिङ वरीयताको ४४औँ स्थानमा छन् । अघिल्लो ब्याटिङ वरीयतामा दीपेन्द्र ४३औँ स्थानमा रहेका थिए ।

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल भने पछिल्लो ब्याटिङ वरीयतामा पनि यथास्थानमा छन् । उनी पछिल्लो वरीयतामा पनि ६१औँ स्थानमै रहेका छन् । एक स्थान माथि उक्लिएका आसिफ शेख ६९औँ वरीयतामा आसीन छन् ।

यसैगरी, टी–२० अन्तर्राष्ट्रियको अलराउन्डर वरीयतामा भने दीपेन्द्र अहिले पनि दोस्रो स्थानमै आसीन छन् । उनी अघिल्लो अलराउन्डर वरीयतामा पनि दोस्रो स्थानमै थिए । अलराउन्डर वरीयताको पहिलो स्थानमा इङ्ल्यान्डका लियाम लिभिङ्स्टोन रहेका छन् ।

यसैगरी, नेपालका कुशल मल्ल पछिल्लो अलराउन्डर वरीयतामा तीन स्थान तल झरेर ४३ स्थानमा पुगेका छन् । पछिल्लो टी–२० अन्तर्राष्ट्रिय टिम वरीयतामा भने नेपाल १८औँ स्थानमा यथावत् छ । टिम वरीयतामा अमेरिका र यूएई नेपालभन्दा अगाडि छन् । टिम वरीयताको पहिलो स्थानमा भारत रहेको छ ।

यसैगरी, पछिल्लो एकदिवसीय अन्तर्राष्ट्रिय बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने दुई स्थान तल झरेका छन् । उनी पछिल्लो वरीयताको ४८औँ स्थानमा छन् । अर्का नेपाली बलर ललित राजवंशी पनि एक स्थान तल झरेर ५२औँ वरीयतामा पुगेका छन् ।

यसैगरी, एकदिवसीय अन्तर्राष्ट्रियको अलराउन्डर वरीयतामा भने सन्दीप लामिछानेले दुई स्थान सुधार गरेका छन् । उनी पछिल्लो अलराउन्डर वरीयताको ३९औँ स्थानमा उक्लिएका छन् । यसअघि उनी ४१औँ स्थानमा रहेका थिए । एकदिवसीय अन्तर्राष्ट्रियको अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी पनि एक स्थान माथि उक्लिएका छन् । नयाँ वरीयतामा उनी ४८औँ स्थानमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप