असोज २२ सम्म वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ५५ हजार बढी

काठमाडौँ । हिन्दुहरूको महान् पर्व दसैँ घर घरमा भित्रिरहेका बेला वैदेशिक रोजगारीका लागि जाने युवाको सङ्ख्यामा कुनै कमी आएको छैन । असोजमा परेको दसैँ नमनाई यही महिनाको २२ सम्म ५५ हजारले देश छाडेका छन् ।
श्रम स्वीकृति लिएका मध्ये लगभग ५५ हजार युवा दसैँ नमनाई बिदेसिएका हुन् । गत वर्ष दसैँ परेको महिना विदेश जानेको सङ्ख्या ५१ हजार थियो ।
टिकट, भिसा र करार सम्झौता अनुसार बाध्य भएर वैदेशिक रोजगारी जानुपर्ने मात्र दसैँको मुखका विदेश गएका हुन् । वैदेशिक रोजगार विभागका अनुसार देखिन्छ असोजमा विदेश जानेमध्ये ७० प्रतिशत नयाँ रहेका छन् ।
दसैँअघि साउन, भदौ र असोजमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या लगभग १ लाख ७३ हजार पुगेको छ । दसैँको मुखमा विदेश जानेभन्दा दसैँ मनाउन स्वदेश आउनेको सङ्ख्या बढी हुने भए पनि परिवार छोडेर रोजगारीकै लागि विदेश जानेहरूको सङ्ख्या विमानस्थलमा अत्यधिक देखिन्छ ।