बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी महिला टी–२० विश्वकप

जित्नै पर्ने दबाबमा रहेका वेस्ट इन्डिज र बङ्गलादेश आपसमा भिड्दै

बिहीबार, २४ असोज २०८१, ११ : ५८
बिहीबार, २४ असोज २०८१

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी महिला टी–२० विश्वकपमा बिहीबार एक खेलमात्र खेलिने छ । बिहीबारको खेलमा समान परिस्थितिसँग जुधिरहेका दुई टोली वेस्ट इन्डिज र बङ्गलादेश आपसमा भिड्दै छन् ।

वेस्ट इन्डिज र बङ्गलादेशबिचको खेल नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । यी दुवै टोलीले आफ्नो तेस्रो खेल खेल्न लागेका हुन् । बङ्गलादेश र वेस्ट इन्डिज प्रतियोगिताको समूह ‘बी’ मा रहेका छन् ।

अङ्क तालिकामा यी दुवै टोलीको अवस्था उस्तै छ । दुवै टोलीले हालसम्म एक जित र एक हारको नतिजा निकालेका छन् । बङ्गलादेशले आफ्नो पहिलो खेलमा नवप्रवेशी स्कटल्यान्डलाई १६ रनले हराएको थियो । दोस्रो खेलमा भने बङ्गलादेशी टोली इङ्ल्यान्डसँग २१ रनले पराजित भएको थियो ।

यसैगरी, वेस्ट इन्डिजको टोली आफ्नो पहिलो खेलमा साबिक उपविजेता दक्षिण अफ्रिकासँग १० विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा भने क्यारेबियन टोलीले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी स्कटल्यान्डलाई नै ६ विकेटले हराएको थियो ।

समूह ‘बी’ तालिकामा तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको दक्षिण अफ्रिका चार अंकसहित पहिलो स्थानमा आसिन छ । आफ्नो दुवै खेलमा विजयी भएको इङ्ल्यान्ड चार अंकसहित दोस्रो स्थानमा छ ।

दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको वेस्ट इन्डिज दुई अंकसहित तेस्रो स्थानमा छ । दुईमध्ये एक खेलमा जित र एक खेलमा हार भोगेको बङ्गलादेश पनि दुई अंकसहित तालिकाको चौथो स्थानमा छ । तीन वटै खेलमा पराजित भएको स्कटल्यान्ड भने उपाधि होडबाट बाहिरिने निश्चित भइसकेको छ ।

समूहगत चरणको खेलपछि अङ्क तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने प्रावधान छ । त्यसैले अङ्क तालिकाको हालको स्थितिलाई हेर्दा बिहीबारको खेलमा वेस्ट इन्डिज र बङ्गलादेश दुवै ‘गर या मर’ को स्थितिमा रहने छन् ।

उक्त खेलमा पराजित हुने टोलीको अगाडि बढ्ने सम्भावना कम हुनेछ । यो खेलमा विजयी हुने टोलीले भने चार अंकसहित अगाडि बढ्ने सम्भावना बलियो बनाउने छ । जारी विश्वकपमा यी दुवै टोलीको अवस्था उस्तै देखिए पनि इतिहास भने वेस्ट इन्डिजको गौरवशाली देखिन्छ ।

वेस्ट इन्डिजले सन् २००९ मा सम्पन्न पहिलो संस्करणदेखि नै महिला टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । वेस्ट इन्डिजले एकपटक उपाधि पनि चुमिसकेको छ । वेस्ट इन्डिजले सन् २०१६ मा सम्पन्न पाँचौँ संस्करणको फाइनलमा अस्ट्रेलियालाई आठ विकेटले हराउँदै उपाधि चुमेको थियो ।

बंगलादेशको भने महिला टी–२० विश्वकपमा यो छैटौँ सहभागिता हो । यो दक्षिण एसियाली राष्ट्रले सन् २०१४ मा सम्पन्न चौथो संस्करणदेखि महिला टी–२० विश्वकपमा सहभागिता जनाउन थालेको हो । तर, बङ्गलादेश हालसम्म फाइनलमा पनि पुग्न सकेको छैन ।

महिला टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा वेस्ट इन्डिज र बङ्गलादेशबिच हालसम्म तीन पटक भिडन्त भएको छ । त्यसमध्ये तीन वटै खेलमा वेस्ट इन्डिजले सफलता हात पारेको छ । तर, यसअघि युएईमा यी दुई टोलीबिच एकपटक पनि भिडन्त भएको थिएन ।

अन्तिम समयमा आएर नवौँ संस्करणको आयोजना गर्नबाट चुकेको बङ्गलादेशी टोली यसपटक निगार सुल्तानाको कप्तानीमा रहेको छ । २७ वर्षीया निगार सुल्ताना टोलीकी प्रभावशाली ब्याटर हुन् । उनले बंगलादेशका लागि एक दिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । उनले हालसम्म टेस्ट क्रिकेटमा भने ‘डेब्यू’ गरेकी छैनन् ।

यसैगरी, वेस्ट इन्डिज यसपटक हायली म्याथ्यूजको कप्तानीमा रहेको छ । २६ वर्षीया म्याथ्यूज टोलीकी अलराउन्डर खेलाडी हुन् । उनले एक दिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । उनले टेस्ट क्रिकेटमा भने ‘डेब्यू’ गरेकी छैनन् । आफूले खेलेको दुवै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा उनले उत्कृष्ट शतक बनाएकी छन् । उनले दुवै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा विकेट पनि लिएकी छन् ।

महिला टी–२० विश्वकपको नवौँ संस्करणमा १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।

यसैगरी, समूह ‘बी’ मा बङ्गलादेश, इङ्ल्यान्ड, स्कटल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका छन् । समूहगत चरणको खेल अक्टोबर १५ तारिखसम्म चल्नेछ । त्यसपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल अक्टोबर १७ र दोस्रो सेमिफाइनल खेल अक्टोबर १८ तारिखमा खेलिने छ ।

सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग र समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा विजयी दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि अक्टोबर २० तारिखमा फाइनल खेल खेलिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप