बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशको खेलकुद विकास कार्यक्रम विज्ञमा थापा मनोनीत

बिहीबार, २४ असोज २०८१, १० : ४७
बिहीबार, २४ असोज २०८१

काठमाडौँ । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापालाई खेलकुद विकास कार्यक्रम विज्ञको रूपमा मनोनीत गरेको छ ।

बागमती प्रदेशका खेलकुदमन्त्री मीनकृष्ण महर्जनले प्रदेशको समग्र खेलकुद क्षेत्रको विकासका लागि सल्लाह सुझाव तथा आवश्यक नीति निर्माणमा सहयोग पुग्ने विश्वाससहित थापालाई उक्त जिम्मेवारी दिएका हुन् ।

खेलकुदसँग सम्बन्धी अल्पकालीन र दीर्घकालीन कार्यक्रमहरूको योजना तयार पार्ने र खेलाडीहरूको चौतर्फी विकासलाई समेत सुनिश्चित गर्ने प्रदेश सरकार र खेलकुद मन्त्रालयको आवश्यकता अनुसार सल्लाह सुझाव दिन थापालाई मनोनीत गरिएको मन्त्री महर्जनले बताए ।

काठमाडौँ महानगरपालिका–१० निवासी थापा काठमाडौँ ब्याडमिन्टन एकेडेमीका संस्थापक पनि हुन् । उनी ब्याडमिन्टनका अन्तर्राष्ट्रिय निर्णायक पनि हुन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

यसैगरी, थापाले ब्राजिलको रियो दि जेनेरियोमा सन् २०१६ मा आयोजित ओलम्पिक खेलकुदमा पनि निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । थापाको अनुभवले बागमती प्रदेशको खेल क्षेत्रमा टेवा पुग्ने विश्वास पनि मन्त्री महर्जनले व्यक्त गरे ।

स्पोर्टस इभेन्ट म्यानेजमेन्टमा मास्टर्स गरेका थापाले खेल र खेलाडीको वृद्धि विकासका लागि विभिन्न कार्यहरू सञ्चालन गर्दै आएका छन् । उनी नेपाल चेम्बर अफ कमर्सको शिक्षा तथा खेलकुद समितिको सह–अध्यक्ष पनि हुन् । मन्त्रालयले यसअघि खेल विज्ञको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलाई समेत मनोनीत गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप