बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

विश्व दृष्टि दिवस : करिब ११ लाख बालबालिकाहरूमा विभिन्न किसिमका दृष्टि दोषको समस्या

बिहीबार, २४ असोज २०८१, १० : ३२
बिहीबार, २४ असोज २०८१

हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसका रूपमा मनाइँदै आएकोमा यस वर्ष असोज २४ मा नेपालमा पनि ‘आँखालाई माया गरौँ’ -बालबालिकाको आँखालाई विशेष ख्याल गरौँ भन्ने नारा सहित विभिन्न कार्यक्रमहरू आयोजना गरी देशभरि मनाइँदै छ । 

यस नाराले बालबालिकाहरूको आँखा स्वास्थ्यमा सरोकार राख्ने सबै पक्षहरूलाई समुदाय स्तरमै जनचेतना जगाउन, बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिन र नीतिगत तहमा पैरवी गर्न अति आवश्यक रहेको सन्देश प्रदान गर्ने  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो।

पछिल्लो समय बढ्दो डिजिटल स्क्रिनहरूको प्रयोग र घट्दो बाह्य गतिविधिका कारण बालबालिकाहरूको आँखामा विभिन्न समस्याहरू बढिरहेका छन् । विश्व स्वास्थ्य संगठन (WHO) ले समेत सन् २०५० सम्ममा विश्वको करिब ५० प्रतिशत जनसङ्ख्यामा दृष्टि दोषको समस्या देखिन सक्ने पूर्वानुमान गरेको छ । जसको रोकथाम तथा न्यूनीकरणका लागि सबै पक्षहरूले सहकार्य गर्दै समुदाय स्तरमै जनचेतना अभिवृद्धि गर्न आवश्यक छ । 

आँखामा देखिने विभिन्न समस्याहरूले बालबालिकाको सिकाई, वृद्धि र मानसिक स्वास्थ्यमा समेत प्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । बालबालिकाहरूको आँखामा देखिने समस्याहरूको समयमै पहिचान हुन सकेमा अधिकांश समस्याहरू उपचारबाट निको हुने प्रकृतिका हुन्छन् । 

बच्चा जन्मिएको १ महिनामा, ६ महिनामा, १ वर्षमा, विद्यालय भर्ना गर्नुअघि र हरेक वर्ष कम्तीमा एक पटक उनीहरूको अनिवार्य रूपमा आँखा परीक्षण गराउन उपयुक्त हुन्छ । बालबालिकाहरूको आँखामा देखिने कतिपय समस्याहरू परीक्षण बिना पहिचान गर्न नसक्ने प्रकृतिका हुने भएकाले समयमै समस्याको पहिचान र निराकरणका लागि समेत बालबालिकाहरूको नियमित आँखा तथा दृष्टि परीक्षण गराउन जरुरी हुन्छ ।

अहिले विश्वमा करिब ४ करोड ५० लाख बालबालिकाहरूमा दृष्टि सम्बन्धी समस्या रहेको अनुमान गरिएको छ भने त्यसमध्ये धेरै बालबालिकाहरू आँखा उपचार सेवाबाट वञ्चित छन् । त्यस्तै नेपालमा करिब ११ लाख बालबालिकाहरूमा विभिन्न किसिमका दृष्टि दोषको समस्या रहेको अनुमान गरिएको छ, जसमध्ये करिब ७ लाख बालबालिकाहरूमा उपचारको पहुँच पुगेको छैन ।

दृष्टि दोषको समस्या भएका बालबालिकाहरूले समयमै आँखा परीक्षण गरी चस्माको प्रयोग गरेमा त्यसबाट उनीहरूको शैक्षिक उत्तीर्ण दरमा ४४ प्रतिशतले वृद्धि आउँछ । दिगो विकासको लक्ष्य ४ गुणस्तरीय शिक्षा प्राप्तिमा समेत बालबालिकाहरूको आँखा स्वास्थ्यले प्रत्यक्ष रूपमा प्रभाव पार्दछ । दिगो विकासको लक्ष्य प्राप्तिका लागि समेत सबै सरोकारवालहरू बालबालिकाको आँखा स्वास्थ्यमा सजग रहनु जरुरी छ ।

नेपाल सरकारको राष्ट्रिय आँखा स्वास्थ्य रणनीति -२०७९–२०८६_ को दीर्घकालीन सोच “स्वास्थ्य आँखा, सुन्दर समाज“ रहेको छ भने यसको लक्ष्य गुणस्तरीय आँखा स्वास्थ्य सेवामा नागरिकको समतामूलक र सर्वसुलभ पहुँच सुनिश्चित गर्ने रहेको छ ।

आगामी दिनमा बालबालिकाहरूका आँखा सम्बन्धी समस्याहरूलाई सम्बोधन गर्न बालबालिकाहरूका आँखा सम्बन्धी समस्याहरूको रोकथाम  र जोखिम कम गर्न, उनीहरूका परिवार र समाजलाई आँखा स्वास्थ्यका विषयमा सचेत गराउन विभिन्न सम्बन्धित संघीय मन्त्रालय, प्रदेश र स्थानीय तहसम्मको समन्वयात्मक लगानी र  भूमिका आवश्यक रहेको हुँदा सबै निकायहरूले आ–आफ्नो तहबाट प्राथमिकता तय गरी कार्यान्वयनमा जान आवश्यक रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप