ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल

ताप्लेजुङ । ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रूपमा, पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । जैविक विविधता र प्राकृतिक मनोरम दृश्यावलोकनले भरिपूर्ण यस तालले जिल्लाका पर्यटकलाई विशेष आकर्षण प्रदान गरेको छ । तालका बारेमा सामाजिक सञ्जालमा प्रचार हुन थालेपछि सिङ्जेमा तालले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थान बनाउँदै गएको हो ।
फक्ताङ्लुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाका अनुसार दसैँतिहारको समयमा आन्तरिक तथा बाह्य पर्यटकले सिङ्जेमा तालको भ्रमण गर्नेको सङ्ख्या बढ्ने छ । उनी भन्छन्, “तमोर करिडोर सडक आलोङचुङ्गोला हुँदै टिप्ताला नाका जोडिएको छ । अब भने सहज रूपमा सिङ्जेमा ताल घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको छ ।”
सिङ्जेमा ताल फक्ताङ्लुङ –७, ओलाङचुङ्गोला क्षेत्रमा पर्दछ । यो ताल ओलाङचुङ्गोलाको बस्तीबाट एक दिनको पैदल दूरीमा अवस्थित छ, समुद्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको यस तालको क्षेत्रफल र गहिराइको मापन भने अझै हुन सकेको छैन । प्राकृतिक रूपमा मनोरम भए पनि, यस ताललाई स्थानीयले धार्मिक महत्वको रूपमा पनि लिने गरेका छन् ।
तालमा भाकलगरी पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वासले स्थानीयलाई तालप्रति धार्मिक आस्थाले आकर्षित गरेको छ । सिङ्जेमा तालसँग जोडिएका पुराना किंवदन्तीहरु पनि छन्, जसले यस तालको धार्मिक र सांस्कृतिक महत्वलाई झल्काउँछन् । स्थानीयवासीका अनुसार तालको किनारमा बसिरहेका बेला एक जना भोटेले तालबाट निस्केको चौँरीको गोबर घरमा लगेपछि उहाँ सम्पन्न भएको थियो ।
यस्तै भेडीगोठ बस्दा तालबाट निस्केको भेडाले बगालको सबै भेडालाई तालमा पसेर हरायो भन्ने किंवदन्ती पनि सुनिन्छ । यसले तालको धार्मिक महत्वलाई थप बलियो बनाएको छ । तालको परम्परागत धार्मिक आस्थाअनुसार, यहाँ पूजा गर्न आउने व्यक्तिले भाकलस्वरुप गरगहना, घडी, औँठी, चुरालगायत वस्तु चढाउने गर्छन् । तर, ती भेटी गहनाको उचित व्यवस्थापन नहुनुले यो धार्मिक परम्परालाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता पनि देखिन्छ । सिङ्जेमा तालमा जाँदा स्थानीय परम्पराअनुसार चोखो मुखमा जाने र आफूसँग भएको वस्तु चढाउने चलन छ ।
तालमा पुग्न जिल्ला सदरमुकाम फुङ्लिङदेखि तमोर करिडोरको कच्ची सडकमार्ग हुँदै गाडीमा ओलाङचुङ्गोलासम्म पुग्न सकिन्छ । ओलाङचुङ्गोला पुगेर भोलिपल्ट जदाक, देउमा हुँदै तालभन्दा दुई (तीन घण्टा मुनिको छेर भन्ने ठाउँको चौँरीगोठमा बास बस्न पुग्नुपर्छ । तालक्षेत्र जाने बाटोमा होटल, चियापसलजस्ता कुनै आवासीय सुविधायुक्त घर छैनन् । यसैले यात्राको तयारी आफैँले गर्नुपर्ने हुन्छ । ताल क्षेत्रको कठिन यात्रा भए पनि यो क्षेत्र प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिपूर्ण छ ।
वैशाखदेखि असोजसम्मको समय सिङ्जेमा ताल भ्रमणका लागि उपयुक्त मानिन्छ । यस अवधिमा गोठ बस्ने भएकाले बास बस्न सजिलो हुन्छ । अन्य समयमा भने गोठ नबस्ने र चिसो मौसममा हिउँ पर्ने भएकाले यात्रा कठिन हुन्छ । तर तालको धार्मिक दर्शन गर्ने परम्परा भने निकै पुरानो हो, यद्यपि विगतमा यो परम्परा ओलाङचुङ्गोला आसपासका बासिन्दामा सीमित थियो ।
पछिल्लो समय, युट्युबर र सामाजिक सञ्जाल प्रयोगकर्ताले तालको प्रचार गरेपछि तालको आकर्षण बढेको छ । सिङ्जेमा तालमा चलचित्र छायाङ्कन र वृत्तचित्र बनाउन आउनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । तथापि, यस क्षेत्रमा चलचित्र, वृत्तचित्र खिच्न र ड्रोन क्यामरा प्रयोग गर्न कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को स्वीकृति आवश्यक रहेको छ ।
तालको संरक्षण र व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकार र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को हो । तालको महत्त्व र यसको संरक्षणको आवश्यकताले गर्दा, यस क्षेत्रमा पर्यटन व्यवस्थापन र विकासका लागि थप प्रयास आवश्यक छ । यसले स्थानीय अर्थतन्त्रमा टेवा पुर्याउनेछ भने धार्मिक र प्राकृतिक सम्पदाको दीर्घकालीन संरक्षणमा योगदान पुर्याउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?
-
सार्कलाई रोक्नका लागि को जिम्मेवार हो,दक्षिण एसियामा सबैलाई थाहा छ : भारतीय विदेश मन्त्रालय
-
गण्डकी सरकारका काममा सत्तारुढ सांसद नै असन्तुष्ट