बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

किस्ताबन्दीमा विभागहरू विस्तार गर्दै देउवा

५१ सदस्य रहने विधानमा व्यवस्था, हरेक विभागमा १० जना मात्र मनोनीत
बिहीबार, २४ असोज २०८१, ०७ : २७
बिहीबार, २४ असोज २०८१

काठमाडौँ ।  २१ साउन २०८१ मा केन्द्रीय सदस्य उमेशजंग रायमाझी नेपाली कांग्रेसको खेलकुद विभाग प्रमुख मनोनीत भए । सभापति शेरबहादुर देउवाले उनीसहित अन्य ३७ जनालाई विभागीय जिम्मेवारी दिएका हुन् ।

रायमाझीको विभागले मङ्गलवार मात्र अन्य सदस्य पायो । दुई महिना पश्चात् सभापति शेरबहादुर देउवाले उनको विभागमा १० जना सदस्य थपिदिएका हुन् । यसको अर्थ रायमाझीको विभागले अझै पूर्णता पाएको छैन ।

१६ असोजमा सभापति देउवाले केन्द्रीय सदस्य उमेश श्रेष्ठ प्रमुख रहेको कृषि तथा किसान विभागमा सदस्य थप गरे । तर‚ अवस्था उस्तै रह्यो । यो विभागमा पनि १० जनाले मात्र सदस्य बन्ने मौका पाए । ११ असोजमा सभापति देउवाले नैनसिंह महर प्रमुख रहेको शिक्षा विभागमा पनि सदस्य मनोनीत गरे । तर‚ १० जना मात्र ।

माथिका केही उदाहरण हुन् । सत्ता साझेदार दल नेपाली कांग्रेसको विधान अनुरूप गठन हुनुपर्ने विभागहरू विस्तारमा ढिलाइ भएको छन् । विधान बमोजिम विभाग गठन गर्ने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई छ । तर‚ सभापति देउवाले विभाग विस्तार ‘किस्ताबन्दी’मा गरिरहेका छन् ।

पार्टी विधानको दफा ३७ मा पार्टी विभाग सम्बन्धी व्यवस्था गरिएको छ । कांग्रेसले ४८ बाट बढाएर विभागको सङ्ख्या ७२ पुराएको छ । तर‚ हालसम्म ५६ विभाग मात्र गठन भएका छन् ।

विधान बमोजिम विभागहरू महाधिवेशन सकिएको ६ महिनाभित्र बनिसक्नुपर्ने हुन्छ । देउवा २०७८ मङ्सिरमा भएको १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन्। तर‚ उनले गएको साउन २१ गते मात्र ३७ विभाग प्रमुख तोकेका थिए ।

करिब अढाई वर्ष पश्चात् विभाग गठन भए पनि सबै विभागले पूर्णता भने पाएका छैनन् । विधान अनुसार हरेक विभागमा ५१ सदस्य रहन्छन् । केन्द्रीय सदस्यको नेतृत्वमा रहने विभागमा सभापति देउवाले १० जना सदस्य मात्र मनोनीत गरेका छन् । दिनहुँजसो सदस्य थपिरहे पनि गठन भएका प्रत्येक विभागमा १० जना भन्दा बढीको नाम बाहिर आएको छैन ।

पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्मा विभाग गठनमा ढिलाइ भएको र किस्ताबन्दीमा पूर्णता दिने काम भइरहेको स्वीकार गर्छन् ।

‘हामीले जिल्ला र प्रदेश कार्यसमितिलाई विभागमा बस्ने साथीहरूको नाम दिनुस् भनेर माग गरेका छौँ । यस्तै केन्द्रमा रहनुभएका नेताहरूसँग पनि नाम माग गरेका छौँ‚’ विश्वकर्माले भने‚ ‘तलबाट नाम आउन ढिलाइ भएका कारणले १० जना भए पनि साथीहरूलाई जिम्मेवारी दिनुपर्छ भनेर अघि बढेका हौँ ।’

विधानमा लेखिए अनुसार पार्टी सभापति शेरबहादुर देउवालाई विभागका प्रमुख, उपप्रमुख, एक जना सचिव र सदस्यहरूको नियुक्ति गर्ने अधिकार छ ।  विभागका उपप्रमुख, सचिव, सदस्यमा मनोनयन हुन नेपाली कांग्रेसको क्रियाशील सदस्य हुनु पर्ने विधानमा उल्लेख छ । उनीहरूको चयन गर्दा भने समावेशी सिद्धान्तलाई ध्यान दिनुपर्ने उल्लेख छ ।

‘विभागमा मनोनयन गर्दा पार्टी सदस्यहरूको रुचि, विज्ञता, अनुभव र पार्टीमा पुर्‍याएको योगदानलाई आधार बनाइनेछ‚’ विधानमा लेखिएको छ ।

विभागको बैठक कम्तीमा दुई महिनामा एक पटक अनिवार्य बस्नुपर्ने उल्लेख छ । साथै‚ प्रत्येक छ महिनामा विभागले गरेका कामहरूको प्रगति प्रतिवेदन केन्द्रीय कार्यसमितिमा बुझाउनु पर्ने विधानमा लेखिएको छ ।

‘प्रत्येक विभागले आफूसँग सम्बन्धित विषयबारे प्रचलित संविधान र कानुनमा भएका व्यवस्था, नेपाल सरकारले तर्जुमा गरेको नीति, सरकारले तत् सम्बन्धमा गरेको कामहरूको अनुगमन मूल्याङ्कन गरी केन्द्रीय कार्यसमितिलाई जानकारी र सो सम्बन्धमा पार्टीले बनाउनु पर्ने नीति र गर्नु पर्ने कार्यबारे सुझाव दिनेछ‚’ विभागको विषयमा विधानमा उल्लेख छ ।

सक्रिय बन्दै विभागहरू

सभापति देउवाले विभाग गठनमा विलम्ब गरे पनि गठन भएका विभागहरू सक्रिय भएर काम गरिरहेका छन् । केही विभागहरू मुद्दा केन्द्रित हुँदै आम नागरिकसमक्ष पुगेर विषय केन्द्रित काम गरिरहेका छन् ।

विशेष गरी मीन विश्वकर्मा नेतृत्वको प्रचार विभाग‚ केन्द्रीय सदस्य नैनसिंह महर संयोजक रहेको शिक्षा विभाग, अर्का केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा रहेको स्थानीय तह समन्वय विभाग, कल्याण गुरुङ नेतृत्वको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग, गुरु बराल नेतृत्वको आपूर्ति तथा उपभोक्ता विभाग, डा डिला संग्रौला नेतृत्वको पेसागत तथा बुद्धिजीवी विभाग लगायतले आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् ।

‘धेरै साथीहरूलाई जिम्मेवारी दिएपछि उहाँहरू सक्रिय हुनुभएको छ । अहिले किन समयमै विभाग गठन गर्न सकिएनछ भन्ने भान भएको छ‚’ प्रचार विभाग प्रमुख विश्वकर्मा भन्छन् ।

अबको शिक्षा नीति‚ विद्यालय तथा विश्वविद्यालय कस्तो हुनुपर्छ भन्नेबारे केन्द्रित भएर शिक्षा विभागले काम गरिरहेको छ ।

केन्द्रीय सदस्य मधु आचार्यको नेतृत्वमा रहेको स्थानीय तह समन्वय विभागले गत भदौ २६ गते उत्कृष्ट काम गरेका स्थानीय तहका प्रमुखहरूलाई सम्मान गरेको थियो।  विभागको आयोजनामा कांग्रेसबाट २०७९ को स्थानीय चुनावमा टिकट लिई निर्वाचित भएर उत्कृष्ट काम गरेका २० जनालाई सभापति देउवाले सम्मान गरेका हुन् ।

कल्याणकुमार गुरुङ प्रमुख रहेको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले असोज १० देखि १२ गतेसम्मको बाढीले ल्याएको प्लास्टिकलगायत फोहोर सङ्कलन गर्न सरसफाइ कार्यक्रम गरेको छ । विभागले असोज १९ गते गुह्येश्वरी मन्दिरनजिक पशुपति क्षेत्रमा सरसफाइको कार्यक्रम गरेको थियो। यस्तै विभागकै आयोजनामा पार्टी कार्यालय सरसफाइ पनि गरियो ।

केन्द्रीय सदस्य डा डिला संग्रौलाको नेतृत्वमा रहेको पेसागत तथा बुद्धिजीवी विभागले पनि संविधान दिवसको अवसर तथा १११ औँ जन्म जयन्तीको अवसरमा यही भाद्र २५ गते “बिपीको समाजवाद र बुद्धिजीवीको भूमिका” सन्दर्भमा विचार गोष्ठी कार्यक्रम सम्पन्न गर्‍यो ।

केन्द्रीय सदस्य गुरु बराल प्रमुख रहेको आपूर्ति तथा उपभोक्ता विभागले मूल्यवृद्धि नियन्त्रण गर्न पटक-पटक सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ।

 ट्याङ्कर व्यवसायीहरूले इन्धन ढुवानी रोकेका बेला पनि समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराउने‚ विपत्मा हवाई भाडासमेत वृद्धि भएकोमा नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गराउने‚ चाडबाडका बेला मूल्यवृद्धि, कालोबजारी, मिसावट रोक्नुपर्ने भनेर गृहमन्त्री रमेश लेखक, उपप्रधानमन्त्री प्रकाशमान सिंह  र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई राखेर अन्तरक्रिया कार्यक्रम विभागले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोमन आचार्य
रोमन आचार्य
लेखकबाट थप