बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपतिद्वारा विजयादशमीको उपलक्ष्यमा शुभकामना व्यक्त

बिहीबार, २४ असोज २०८१, ०६ : १५
बिहीबार, २४ असोज २०८१

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीका अवसरमा आस्था र निष्ठाका साथ गरिने पूजापाठले आध्यात्मिक जीवनलाई सार्थक बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपालीहरूको महान पर्व विजयादशमीको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वले समाजमा नयाँ उत्साह र उमङ्ग छर्ने बताएका हुन् । 

“आनन्द, खुशी र एकताको यो पर्वले सबैको जीवनमा खराब आचरणको अन्त्य गर्दै समाजमा नयाँ ऊर्जा तथा उत्साह सञ्चार गर्न सकोस्”, शुभकामना सन्देशमा उल्लेख छ ।  उपराष्ट्रपति यादवले आख्यानका आधारमा तिथि विशेषमा मनाइने हाम्रा प्रत्येक पर्व–त्योहार आफ्नो मान्यतामा अनौठो र मौलिक रहेका उल्लेख गरे । 

यस्ता पर्वलले हाम्रा सांस्कृतिक परम्परालाई अक्षुष्ण राख्न सहयोग पुग्ने बताउँदै उनले नेपालीका महत्वपूर्ण चाडपर्वमध्ये विजयादशमी पनि एक भएको बताएका छन् । “भूगोल, क्षेत्र, वर्ग र समुदायअनुसार दसैँ, वडादसैँ, दशहरा, दुर्गापूजा, नवरात्रि आदि नामले समेत चिनिने यो महापर्व असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा मनाइन्छ । विजयादशमी सामाजिक मात्र नभइ राष्ट्रिय महत्व बोकेको पर्व पनि हो । यसले कुप्रवृत्तिमाथि सद्वृत्तिको विजय, असत्यमाथि सत्यको विजय, अन्धकारमाथि प्रकाशको विजयको सन्देश दिन्छ”, उपराष्ट्रपति यादवले भनेका छन्,“संसारमा अन्याय र अत्याचार गर्नेहरूको सँधै पराजय हुने तथा न्यायकर्ता र सदाचारीको सँधै विजय हुने शिक्षा पनि यसले दिन्छ । अत्याचारी जतिसुकै शक्तिशाली भए पनि अन्त्यमा उसको सर्वनाश निश्चित भएको सन्देश पनि दिन्छ ।”

उनले विजयादशमीले समाजमा चेतना र सजगता ल्याउँदै सबैलाई मन–बचनबाट सुकर्म गर्न र कुविचार परित्याग गर्न सघाउँ पुगोस् भनि कामनासमेत गरेका छन् ।  यस्तै, विजयादशमीले आपसी शत्रुता र कटुता बिर्सेर एकअर्कामा शुभकामना आदानप्रदान गर्ने अवसर प्रदान गर्दै परिवार र समाजमा एकता, प्रेम र सद्भावना बढाउनमा सहयोग पुग्ने र सामाजिक सम्बन्धलाई बलियो र एकताको भावना अभिवृद्धि गर्नमा सघाउने उपराष्ट्रपति यादवको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप