बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

रिसोर्ट उद्घाटनमा मन्त्रीहरूको लर्को : प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले काटे रिबन

बुधबार, २३ असोज २०८१, २३ : २८
बुधबार, २३ असोज २०८१

काठमाडौँ । साताअघिको विपद्‌का बेला जनताको उद्धार र राहतमा राज्य देखा नपरेको चर्चा भइरहेका बेला बुधबार काठमाडौँको बुढानिलकण्ठमा एक निजी रिसोर्ट उद्घाटनमा भने सिंगो मन्त्रीमण्डल हाजिर भएको छ । 

मन्त्रीदेखि प्रधानमन्त्रीसम्म र सत्तारुढ दलका प्रमुख नेताहरूसमेत लाम लागेर एक निजी रिसोर्ट उद्घाटनमा पुगेका छन् । बुढानिलकण्ठ नगरपालिका-१, मुहानपोखरीस्थित होलिडे इन रिसोर्टको प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्तरूपमा रिबन काटेर उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा अधिकांश मन्त्रीहरु लर्को लागेर सहभागी भएका हुन् । 

उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान श्रेष्ठ, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, सिंचाई मन्त्री दिपक खड्का, पर्यटनमन्त्री बद्री पाण्डे, श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारी लगायतका मन्त्रीहरु एकसाथ रिसोर्ट उद्घाटनमा सहभागी भए ।

WhatsApp Image 2024-10-09 at 7.10.42 PM

प्रधानमन्त्री ओलीले सो रिसोर्टले मुलुकको पर्यटन, रोजगारी र सेवा क्षेत्र बढाउने भएकाले यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार हुनुपर्ने बताएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले पैसा भएपछि त्यसको सदुपयोग र नयाँ सोचसहित उद्यमशीलता र व्यासायिकताको विकास हुने गरी काम गर्नुपर्ने बताउँदै यस्ता होटेलले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताएका छन् । 

उनले कांग्रेसका सभापति देउवा आफ्ना ५० वर्षदेखिका पुराना मित्र तथा अप्ठ्यारा र अँध्यारा दिनमा भेटेका साथी भएको उल्लेख गर्दै आफूहरुले जेलमा रहँदा देखेको लोकतान्त्रिक, सुन्दर र सभ्य समाजको लक्ष्यलाई साकार पार्न अहिले राजनीतिक सहकार्य गरिएको बताएका थिए । 
यस्तै, सत्ता गठबन्धनका सहयात्री सभापति देउवाले सुन्दर ठाउँमा स्थापित अन्तर्राष्ट्रिय चेन होटलका रुपमा रहेको सो रिसोर्टको अत्याधिक प्रचारप्रसार गरेर पर्यटक भित्र्याउनुपर्ने बताएका थिए ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको आकाश सुरक्षित छ भन्ने सन्देशसहित पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताएका थिए । 

रिसोर्टकी अध्यक्ष विनिता थापा खड्काले बीस रोपनी जग्गामा तीन अर्ब ५७ करोडको लगानीमा १०४ कोठायुक्त रिसोर्ट निर्माण भएको जानकारी गराइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप