बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बुधबार, २३ असोज २०८१, २२ : ००
बुधबार, २३ असोज २०८१

आज २०८१ असोज २३ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • विकासे अड्डामा खैलाबैला

कोशी प्रदेश सरकारले गत भदौ २७ गते ‘सार्वजनिक खर्चको मापदण्ड र मितव्ययिता सम्बन्धी (पहिलो संशोधन) निर्देशिका २०८१’ राजपत्रमा प्रकाशित गरेपछि प्रदेशका विकासे अड्डाहरूमा खैलाबैला मच्चिएको छ । उक्त निर्देशिकाले कन्टिन्जेन्सी खर्चबापत रकम छुट्ट्याइने विगतको अभ्यासमा ‘ब्रेक’ लगाइदिएको छ ।

  • चीनको विकास

चीनमा अहिले राष्ट्रिय बिदाको समय छ । सातदिने बिदा लिएर चीनमा राष्ट्रिय दिवस धूमधामले मनाइरहँदा चीनको आर्थिक गतिविधिमा बढोत्तरी र मजबुती पनि सँगसँगै देखिएको छ । यस्ता बिदाले चिनियाँलाई घुमघाम, किनमेल, मनोरञ्जनको अवसर दिने मात्रै होइन चीनको सामाजिक, सांस्कृतिक र आर्थिक विविधतालाई झल्काउने अवसर पनि प्रदान गर्छ ।

  • प्रधानमन्त्रीमाथि सङ्गिन आरोप

अप्रत्याशित रूपमा सत्ताच्यूत भएको करिब तीन महिनापछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बुधवार राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे आफ्नो विश्लेषण सुनाएका छन् ।राजधानीमा प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँगको भेटमा प्रतिनिधि सभामा प्रमुख विपक्षी दलका नेताले प्रारम्भमा करिब १४ मिनेटमा आफ्ना धारणा सुनाए । त्यसपछि सम्पादकहरूका जिज्ञासा सुने र, जिज्ञासा मेटाउन करिब ४० मिनेट लगाए ।

  • सूर्यदर्शन सहकारी ठगी प्रकरण

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआईजी एवं गोर्खा मिडियाका एक सञ्चालक छविलाल जोशीको बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदन सर्वोच्च अदालतले दोस्रो पटक खारेज हुने फैसला सुनाएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत जोडिएको पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलानमा एमाले नेता राजीव पहारी पनि जोडिएका छन् । उनले उक्त सहकारीबाट विभिन्न समयमा ऋण निकाल्ने गरेको र हाल उनको नाममा १५ लाख रुपैयाँ रहेका प्रतिवेदनमा उल्लेख छ। 

  • धर्मशाला विवाद

मारवाडी सेवा समितिले गौशाला धर्मशाला नछाड्ने अडान लिएको छ । काठमाडौँ महानगरपालिकाले धर्मशाला खाली गर्न भने पनि समितिले आफूहरू मोही भएको जिकिर गर्दै खाली नगर्ने अडान लिएका हुन् ।  समितिले औपचारिक पत्र प्राप्त नभए नहट्ने स्पष्ट पारेको छ । बुधबार महानगरपालिका गौशाला खाली गर्न पुगेसँगै समितिका सदस्यहरू विरोध प्रदर्शनमा उत्रिएका थिए । सो क्रममा दुई पक्षीय वार्ता भएपनि समिति र महानगर आ–आफ्नै अडानमा अडिग भएसँगै कुनै सहमति जुट्न सकेन । 

  • फोटोफिचर

दसैँ सुरु भएसँगै मानिसहरू पिङ खेल्न र चङ्गा उडाउन व्यस्त छन् । काठमाडौँ वरपरका डाँडामा राखिएका पिङमा मानिसहरू झुम्मिएका छन् । 

दसैँको आगमन सँगै राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोड, इन्द्रचोक क्षेत्रमा किनमेल गर्नेको चाप बढेको छ । फूलपातीको अघिल्लो दिन त्यहाँ किनमेल गर्नेको अत्यधिक भिड देखियो ।

  • स्पष्टीकरण

 ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले घिसिङसँग विगत चार वर्षमा प्राधिकरणबाट भए गरेका सबै काम, सहमति सम्झौता, कर्मचारी र वित्तीय विवरण मागेको छ । 

  • नयाँ नोट

नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ ।गत वर्ष राष्ट्र बैंकले काठमाडौँ उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष करिब रु चार अर्बमा सिमित रहेको छ । यो झण्डै २५ अर्बले कम हो ।

 नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरका करिब ३ अर्ब ४० करोड रुपैयाँ बराबरको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिने भएको छ । 

  • पूर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले  स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकाङ्क्षा पुरा नहुँदा आफ्नो बेचैनी बढेको बताएका छन् । विजया दशमीको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने चाहना पुरा हुन नसक्दा आफूलाई दुःख लाग्नु स्वाभाविक भएको बताएका हुन् ।

  • कार्यदल गठन

सहरी विकास मन्त्रालयले जग्गा आवास विकासमा देखिएका समस्या समाधानका लागि सुझाव दिन कार्यदल गठन गरेको छ । सहरी विकास मन्त्रालयका भवन,आवास तथा योजना महाशाखाका प्रमुख दिलीप भण्डारीको संयोजकत्वमा कार्यदल गठन भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप