बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

‘विमानस्थलको क्षमताअनुसार अन्तर्राष्ट्रिय उडान व्यवस्थापन’

बुधबार, २३ असोज २०८१, २१ : २३
बुधबार, २३ असोज २०८१

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका क्रममा विमानस्थलको क्षमताअनुसार निष्पक्ष र समन्यायिक रुपमा उडान सङ्ख्या व्यवस्थापन गरिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

 प्राधिकरणले २१ घण्टा विमानस्थल सञ्चालन समय १४ घण्टामा सीमित गर्नेे हुँदा हाल भइरहेका राति १० बजेदेखि बिहान ८ बजेसम्मका  सबै उडान कटौती गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पारेको छ ।
     
प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृिद्ध गर्ने उद्देश्यले आगामी कात्तिक २३ गतेदेखि लागू हुनेगरी करिब छ महिना हालको उडान समय १४ घण्टामा सीमित हुने विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
     
प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेका अनुसार नेपाल र सम्बन्धित मुलुकबीचका द्विपक्षीय तथा बहुपक्षीय हवाई सेवा सम्झौताको आधारभूत मान्यताबमोजिम विमानस्थलको क्षमताअनुसार निष्पक्ष र समन्यायिक उडान सङ्ख्या व्यवस्थापन गरिएको हो ।

 हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठकाअनुसार विमानस्थलको पश्चिमतर्फ समानान्तर  ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार हुनेछ ।
     
प्रचलित कानुनले तोकेको सीमाको परिपालना गरी हवाई भाडाको कार्यान्वयन गर्ने सिद्धान्तविपरीत उड्डयन क्रियाकलाप नगर्न/नगराउन सम्बद्ध पक्षलाई आग्रह गर्दै प्राधिकरणले कुनै उड्डयनसँग सम्बन्धित सेवा प्रदायक कम्पनीले कानुनी व्यवस्थाको बर्खिलाप हुनेगरी काम गरेमा कारबाही गरिने जनाएको छ । साथै प्राधिकरणले विमानस्थलमा अहोरात्र खटेर २४सै घण्टा हवाई सेवा प्रदान गर्ने सम्पूर्ण उड्डयनकर्मी तथा राष्ट्रसेवकमा धन्यवादसमेत व्यक्त गरेको छ ।
     
प्राधिकरणले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्न स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीलाई प्राधिकरणले विशेष अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप