बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

रामराज्यको १२औँ शृङ्खला : अमेरिकाको लोभलाग्दो सडक सञ्जाल

बुधबार, २३ असोज २०८१

काठमाडौँ । विश्व शक्ति अमेरिकाप्रति कसको आकर्षण नहोला र ? अमेरिकाको विकासबाट नलोभिने सायदै कमै होलान् । हो, रातोपाटीको साप्ताहिक कार्यक्रम ‘रामराज्य’को १२औँ शृङ्खलामा दुनियाँलाई चकित पार्ने अमेरिकी विकास मोडललाई प्रस्तुत गरिएको छ । 

अमेरिकी सडक सञ्जालमा केन्द्रित यस कार्यक्रममा अमेरिकाको भौगोलिक विविधतासँगै त्यहाँका मानिस र सेवालाई यातायात प्रणालीले कसरी जोडेको छ भनेर प्रस्तुत गरिएको छ ।

भौगोलिक रूपमा विश्वको चौथो ठुलो देश अमेरिकामा सबैभन्दा ठुलो सडक सञ्जाल, अत्याधुनिक रेलवे, जल सेवा र अत्याधुनिक वायुसेवा छ, जहाँको कूल सडकको लम्बाई ४० लाख माइलभन्दा लामो हुन आउँछ । 

हरेक बुधवार राति ७ बजे रातोपाटी टिभीमा प्रसारण हुँदै आएको ‘रामराज्य’ मा विश्वका धेरै देशले विभिन्न क्षेत्रमा गरेका उत्कृष्ट कामहरू समेट्ने सिलसिलामा यो शृङ्खलामा अमेरिकाको यातायात प्रणालीको क्रमिक विकासबारे चर्चा गरिएको छ ।

यसअघि गत बुधवार ११औँ शृङ्खलामा प्रविधिमा दक्षिण कोरियाले चमत्कारिक फड्को मारेकोबारे सामाग्री प्रस्तुत गरिएको थियो ।

‘रामराज्य’को दसौँ शृङ्खलामा भ्रष्टाचार नियन्त्रणमा डेनमार्कले हासिल गरेको उपलब्धि, नवौँ शृङ्खला धनीहरूको देश सिंगापुरको प्रगति, आठौँ शृङ्खलामा फ्रान्सको लोभलाग्दो पर्यटन, सातौँ शृङ्खलामा आइसल्यान्डमा न्यून अपराध, छैटौँ शृङ्खलामा विश्वको समृद्धिशाली मुलुक जापानको प्रगति, पाँचौँ शृङ्खलामा स्विट्जरल्यान्डको विकास मोडल, चौथो शृङ्खलामा  दुनियाँलाई चकित पार्ने क्युबाको स्वास्थ्य क्रान्ति, तेस्रो शृङ्खलामा फिनल्यान्डको सार्वजनिक प्रशासनको सेवा–प्रवाह, दोस्रो शृङ्खलामा ब्राजिलले कृषिमा गरेको हरित क्रान्ति र पहिलो शृङ्खलामा चीनले ८० करोड नागरिकलाई गरिबीबाट मुक्त गरेको चमत्कारिक विकास सम्बन्धी सामाग्री प्रसारण गरिएको थियो ।

यो कार्यक्रममा विश्वका धेरै देशले विभिन्न क्षेत्रमा गरेका उत्कृष्ट कामहरू समेट्ने गरिएको छ । त्यस क्रममा विभिन्न देशका आदर्श शासनको अभ्यास र उदाहरणीय प्रगतिलाई समेटेर कार्यक्रम ‘रामराज्य’ प्रसारण गर्ने गरिएको हो । १२ शृङ्खलासम्म प्रस्तुत हुने यो कार्यक्रममा रामराज्यको कल्पनालाई कुन मुलुकले कसरी वास्तविकतामा उतारेका छन् भनेर १२ देशको कथा समेटिने रातोपाटीले जनाएको छ । विश्व क्रान्तिको इतिहाससम्बन्धी कार्यक्रम ‘उथलपुथल’को शृङ्खलापछि रातोपाटीले अर्को रोचक कार्यक्रम रामराज्य पस्किइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया