मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

सरकारकै संरक्षणमा प्राकृतिक स्रोतसाधनको जथाभाबी दोहन भइरहेको छ : साह

बुधबार, २३ असोज २०८१, १९ : २४
बुधबार, २३ असोज २०८१

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्राकृतिक स्रोतसाधनको जथाभाबी दोहन नरोकिए अवस्था भयावह बन्न सक्ने बताएका छन् । नदीखोलामा भइरहेको जथाभाबी उत्खनन बेलैमा रोकिनुपर्ने उनको भनाइ छ । 

दसैँ, शुभ दीपावली एवं छठ पर्वको शुभ अवसरमा रौतहटको प्रतापपुर पलटुवामा आज आजपाद्वारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागी साहले नेपाललाई मरुभूमि हुनबाट जोगाउनका लागि प्राकृतिक स्रोतसाधनको संरक्षण गर्नुपर्नेमाजोड दिए ।  सरकारकै संरक्षणमा प्राकृतिक स्रोतसाधनको जथाभाबी दोहन भइरहेको पनि उनको आरोप छ ।

‘अहिले जथाभाबी भइरहेको प्राकृतिक स्रोतसाधनको उत्खननले नेपाल मरुभूमि बन्न सक्छ । सरकार आफै बिभिन्न कानून बनाई प्राकृतिक स्रोतसाधनको दोहन गरिरहेको छ । प्राकृतिक स्रोतसाधनको संरक्षण गर्नुपर्ने सरकारकै कमजोरीका कारण वातावरणमा परिवर्तन भई विपत्ति निम्तिँदै छ, तर सरकार सचेत छैन’ आजपा अध्यक्ष साहले भने, ‘तराई मधेसमा गर्मीको समयमा चापाकल सुक्ने, तातो हावा आउने, गर्मी बढने गरेको छ । अहिले काठमाडौँ सहित पहाडमा समेत गर्मी बढ्दै गइरहेको छ ।’ 

प्राकृतिक स्रोतसाधनको अति नै दोहन भइरहेको बताउँदै उनले सरकार त्यसमा गम्भीर नभएको बताए । प्राकृतिक स्रोतसाधनको दोहन गरेर सरकार कमाउधन्दामा लागेको आरोप उनले लगाए । नदीखोलाको जथाभाबी उत्खनन रोक्न नसकेको सरकारले नागरिकको भविष्यसंग खेलवाड गरिरहेको उनले बताए । 

तराई मधेसको विकासका लागि नदीमा मजबुत तटबन्धको आवश्यकता रहेको आजपा अध्यक्ष साहले बताए । बाढी, डुबानबाट जोगाउनका लागि तराई मधेसका नदीहरुमा मजबुत तटबन्ध आवश्यक रहेको उनले बताए । 

प्राकृतिक स्रोतसाधनको दोहनकै कारण बाढीपहिरो, डुबान जस्ता विपत्ति आउँने गरेकाले सबैले मिलेर त्यसको संरक्षण गर्न आवश्यक रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप