बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय
सम्पादकहरूसँग प्रचण्ड

रविलाई कारबाहीमा ‘डिस्टर्ब’ गर्दिनँ भन्दै प्रचण्डले लगाए प्रधानमन्त्रीमाथि सङ्गिन आरोप

बुधबार, २३ असोज २०८१, १८ : ५७
बुधबार, २३ असोज २०८१

काठमाडौँ । अप्रत्याशित रूपमा सत्ताच्यूत भएको करिब तीन महिनापछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बुधवार राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे आफ्नो विश्लेषण सुनाएका छन् ।

राजधानीमा प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँगको भेटमा प्रतिनिधि सभामा प्रमुख विपक्षी दलका नेताले प्रारम्भमा करिब १४ मिनेटमा आफ्ना धारणा सुनाए । त्यसपछि सम्पादकहरूका जिज्ञासा सुने र, जिज्ञासा मेटाउन करिब ४० मिनेट लगाए ।

  • तेस्रो विश्वयुद्ध र नेपाल इपिसेन्टर !

प्रचण्डले प्रारम्भमा विश्व भूराजनीति नयाँ ध्रुवीकरणतर्फ उन्मुख भई तेस्रो विश्वयुद्धको आभास मिलेको सुनाए । अमेरिका र चीनबिच आर्थिक र विश्वशक्ति बन्ने प्रतिस्पर्धा चलिरहेको सुनाउँदै उनले रुस पनि सुपर पावरको हैसियत गुम्न नदिन तल्लीन रहेको बताए ।

यो परिदृश्यलाई केहीले तेस्रो विश्वयुद्ध सुरु भइसकेको भनेर त कतिपयले तेस्रो विश्वयुद्धको सङ्घारमा पुगेको भनेर तर्क वितर्क गरिरहेको प्रचण्डको भनाइ छ ।

उनले विश्व भूराजनीतिको असरका कारण दक्षिण एसियाली देशहरूमा लामो समयदेखि राजनीतिक अस्थिरता देखिएको टिप्पणी गरे । श्रीलङ्का र बङ्गलादेशको उदाहरण प्रस्तुत गर्दै उनले नेपालमा सरकार फेरबदल अहिलेसम्म आन्तरिक कारणले भइरहेकोमा भविष्यमा अन्तर्राष्ट्रिय चलखेल र दबाब बढ्दै जाने विश्लेषण उनले सुनाए । 

 

उनले चीन र भारत नेपालका लागि अवसर र चुनौती बन्दै आएकोमा अब भूराजनीति चुनौती बन्दै गएको धारणा राखे । यही कारण नेपाल शीतयुद्धको इपिसेन्टर बन्ने खतरा रहेको उनको बुझाइ छ ।

  • सरकारप्रति नरम, आन्दोलनप्रति मौन 

प्रतिपक्षी दलको हैसियतमा पुगेपछि सरकारविरुद्ध आन्दोलन चर्काउने वक्तव्य दिँदै आएका प्रचण्ड यस पटक भने सम्हालिए । उनले सरकार विरोधी आन्दोलनबारे केही टिप्पणी गरेनन् । 

बरु देश सङ्कटमा रहेको बेला आफूले एकता र समझदारीमा जोड दिने गरेको सुनाए । अहिले सरकारलाई गाली गर्ने पक्षमा नरहेको भन्दै उनले यही असोज १० गतेदेखि १२ गतेसम्म परेको वर्षात् र त्यसले निम्त्याएको विपत्तिमा सरकारको भूमिका भने कमजोर रहेको सुनाए । खोज, उद्धार र राहतको कार्य जारी रहेकोले सतर्कतापूर्वक काम गर्न उनले सरकारलाई सुझाए । 

प्रचण्डले विपत्तिका सुरुमा सरकारका तर्फबाट धेरै कमजोरी भएको गुनासो सुनिएको बताए । उनले तत्काल सरकार फेरबदलमा आफ्नो दल सामेल नहुने तर सत्ता गठबन्धनमा स्थायित्वबारे आशङ्का गरे । 

  • राजनीतिक सङ्कट र पूर्वराजाको भुटान भ्रमण 

प्रचण्डले संसदको दुई ठुला दल मिलेर सरकार बनाउनु नै सङ्कटको सङ्केत भएको टिप्पणी गरे ।

‘पहिलो (नेपाली कांग्रेस) र दोस्रो दल (नेकपा एमाले) को सरकार बनाउनु नै सङ्कटको सङ्केत हो । सामान्यतया संसदीय लोकतन्त्रमा यस्तो हुन्न,’ उनले भने ।

 

प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको हालसालै भएको भुटान भ्रमण र उनले त्यहाँ पाएको स्वागतलाई नेपालको राजनीतिक सङ्कटकै हिस्सा ठानेका छन् ।

‘यो पनि राजनीतिक सङ्कटको अभिव्यक्ति हो । कहाँ पुगेर विस्फोट हुन्छ यसै भन्न सकिन्नँ,’ उनले भने ।

यद्यपि राजा फर्किन चाहिँ उनी र उनको परिवारकै कारण पनि सम्भव नरहेको उनको बुझाइ छ ।

  • ओली संंविधान खारेजीमा लागेको आरोप 

प्रचण्डले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वर्तमान संविधान खारेजीको अभ्यासमा लागेको आरोप लगाए । 

एमालेलाई अहिलेको संविधान घाँडो लाग्ने गरेको उनको बुझाइ छ । ‘संविधान सुरुदेखि मन नपराउने व्यक्ति पार्टी र सरकारको नेतृत्वमा छ । उहाँहरू (एमाले)को चाहना संविधान खारेज हो,’ प्रचण्डले टिप्पणी गरे । आफ्नो तर्कलाई पुष्टि गर्ने क्रममा उनले ओलीले अघिल्लो संसद् दुई पटक विघटन गर्नुको उद्देश्य नै संविधान खारेजीका लागि भएको बताए । 

‘बयलगाडा अपनाउनेलाई यो संविधान मन परेको छैन । समावेशिता, समानुपातिकता, सङ्घीयता उनलाई मन परेकै छैन । र, गणतन्त्र त्यति मन परेको छैन,’ प्रचण्डले भने । ओलीले २०६२/०६३ को जनआन्दोलन ताका बयलगाढा चढेर अमेरिका पुगिँदैन भन्ने अभिव्यक्ति दिएका थिए ।

‘उहाँहरू यो संविधानमा माओवादीको अनुहार देख्नुहुन्छ र खारेजी चाहनुहुन्छ,’ उनले भने ।

906abc57-e6c6-435c-9a01-4584306e6061

यद्यपि प्रचण्डले आफ्नो दल संविधान संशोधनको विपक्षमा नरहेको स्पष्ट पारे । उनले विगतमा दुई पटक आफैले संविधान संशोधनको प्रस्ताव लगेर मधेसवादी दललाई निर्वाचनमा सामेल गरेको स्मरण गरे ।

‘यो संविधान संशोधनको नैतिक र राजनीतिक अधिकार माओवादीसँग छ’ भन्दै उनले अहिलेको प्राथमिकता संविधान संशोधन नभई कार्यान्वयन भएको धारणा राखे ।

प्रदेशलाई अधिकार दिन, सङ्घीय निजामती ऐन, शिक्षा ऐन, प्रहरी समायोजन, स्वायत्त, संरक्षित र विशेष क्षेत्रको मान्यता दिने कुरा संविधानमा रहेकाले यसको कार्यान्वयन आफ्नो दलको प्राथमिकता रहेको उनले सुनाए ।

‘संविधान संशोधन त हलो हड्काउने मेसो मात्र हो, मूल उद्देश्य सरकार गठन थियो’, उनले भने ।

संविधान वृहत् शान्ति सम्झौताको हिस्सा भएकाले सो सम्झौताको एक हस्ताक्षरकर्ता (प्रचण्ड)सँग छलफल नगरी संशोधनमा लगे राजनीतिक बेइमानी हुने चेतावनी उनले दिए । उनले आफूखुसी संविधान संशोधन गरे देश राजनीतिक भुमरीमा पर्ने खतरा पनि देखाए ।

प्रधानमन्त्रीप्रति आक्रामक देखिएका प्रचण्डले ओलीलाई ‘झुट र अनैतिक राजनीति’ गर्ने व्यक्तिका रूपमा चित्रित गरे । उनले एमालेसँग सत्ता समीकरणमा आफू चुकेको स्वीकार गर्दै ओलीले सत्ता समीकरणमा कांग्रेससँग सहमति गरिसकेपछि पनि ‘स्वर्ग र नर्क सँगै जाने’ भनेर आफूलाई झुक्क्याएको बताए ।

‘प्रधानमन्त्री चाहिए छोडिदिन्छु भनेर ३ पटक भनेको हुँ,’ उनले ओलीलाई उति बेला भनेको स्मरण गरे ।

  • रवि लामिछाने र स्वतन्त्र नेताहरुप्रतिको दृष्टिकोण

प्रचण्डले आफूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जोगाउन खोजेको भनी आरोप लागेकोबारे पनि स्पष्टीकरण दिए ।

उनले सहकारीको बचत अपचलन, दुरुपयोग र ठगीबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनमा माओवादी केन्द्रले डिस्टर्ब नगर्ने स्पष्ट पारे । 

अहिले गोर्खा मिडिया नेटवर्कका बारेमा केही प्रश्न उठेको उनको भनाइ थियो । 

‘यो प्रतिवेदन कसरी कार्यान्वयन गर्ने भन्ने सरकारको कुरा हो, यसमा डिस्टर्ब गर्ने पक्षमा हामी छैनौँ,’ उनले भने । 

 

यद्यपि उतिबेला समिति गठनमा ओली नै अनिच्छुक देखिएको भन्दै अहिले पनि प्रतिवेदन कार्यान्वयनमा राजनीतिक चलखेल भइरहेको आशङ्का व्यक्त गरे ।

तत्कालीन अवस्था (प्रधानमन्त्री रहेको) मा कास्की जिल्ला अदालतले रविलाई पक्राउ गर्नुपर्ने पर्याप्त आधार नभएको भनेपछि सरकार पछि हटेको स्मरण गरे । 

प्रचण्डले स्वतन्त्र ढङ्गले राजनीतिमा आएका नयाँ दल र व्यक्तिलाई आफूले कहिल्यै अपमान नगरेको सुनाए । 

संविधान र लोकतन्त्र अन्तर्गत जन्मिएका पार्टी र स्वतन्त्रहरूलाई अपमानित गर्ने, तिरस्कार गर्ने नभई उचित सम्मान दिएर लोकतन्त्र सुदृढ हुन्छ भन्ने मान्यतामा आफू रहेको उनले सुनाए । 

b4bcafef-c780-4263-ae4d-1d9b649a8b65

  • माओवादी फुटको त्रास

माओवादी फुटाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ठुला शक्ति र पार्टी लागेको उनको बुझाइ छ ।

आफ्नो दललाई कमजोर पार्दा देशको राजनीति कमजोर हुने भन्दै पार्टी फुटको प्रयास विरुद्ध प्रतिवाद गरिरहेको बताए । ‘प्रतिवाद गर्नै पर्नेछ, गरिरहेका छौँ,’ उनले भने ।

आफ्नो दल ३२ सिटमा झरेपछि माओवादी केन्द्र सकिएको भनेर टिप्पणी गर्नेहरूप्रति उनी बेखुस देखिए ।

नेपालको राजनीतिमा ऐतिहासिक रूपमा बाहिरी चलखेल र हस्तक्षेप हुने गरेको भन्दै उनले अहिले माओवादी केन्द्र फुटाउन त्यस्तो चलखेल केन्द्रित रहेको अनुभव भइरहेको बताए । 

प्रचण्डले बाहिरबाट पार्टी नेतृत्व छोड्न सल्लाहहरू प्राप्त भएको सुनाउँदै प्रतिपक्षमा पुगेको माओवादी र आफ्नो भूमिका अझै बढेकाले नेतृत्वबाट नहट्ने घोषणा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप