बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

बेकर, डेमिस र जम्परले पाए रसायनशास्त्रतर्फको नोबेल

बुधबार, २३ असोज २०८१, १७ : ४८
बुधबार, २३ असोज २०८१

स्टकहोम । सन २०२४ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरिएको छ । रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले बुधबार डेभिड बेकर, डेमिस हासाबिस र जोन एम जम्परलाई रसायनशास्त्रमा २०२४ को नोबेल पुरस्कार दिने निर्णय गरेको हो । डेभिड बेकरले ‘कम्प्युटेशनल प्रोटिन डिजाइन’का लागि सो अवार्ड पाएका हुन् । डेमिस हासाबिस र जोन जम्परलाई ‘प्रिडिक्शन अफ प्रोटिन स्ट्रक्चर’का लागि छनोट गरिएको हो ।

रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसका महासचिव हान्स एल्ग्रेनले यस वर्षको रसायनशास्त्रको नोबेललाई दुई भागमा प्रदान गरिने बताएका छन् । आधा पुरस्कार डेभिड बेकरलाई दिइएको छ भने अर्को आधा डेमिस हसबिस र जोन एम. जम्परलाई संयुक्त रूपमा दिइएको छ । बेकर सिएटलको वासिङ्टन विश्वविद्यालयमा काम गर्छन् । डेमिस हसबिस र जोन जम्पर लन्डनमा गुगल डीपमाइन्डमा काम गर्छन् ।

  • प्रोटिनमा अनुसन्धानका लागि नोबेल

यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रोटिनसम्बन्धी अनुसन्धानका लागि हो । बेकरले पूर्णतः नयाँ प्रकारको प्रोटिन सिर्जना गर्ने लगभग असम्भव उपलब्धि हासिल गरेको छ । हासाबिस र जम्परले प्रोटिनको जटिल संरचनाको भविष्यवाणी गर्ने ५० वर्ष पुरानो समस्या समाधान गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडल बनाएका थिए ।

 ‘बेकरको अनुसन्धान समूहले धेरै प्रोटिनहरू उत्पादन गरेको छ जुन औषधि, खोप, न्यानोमटेरियल र साना सेन्सरहरूमा प्रयोग गर्न सकिन्छ ।’ रोयल स्वीडिश एकेडेमीले भनेको छ । आफ्नो एआई मोडलमार्फत हसबिस र जम्पर सबै २० करोड प्रोटीनहरूको संरचनाको भविष्यवाणी गर्न सक्षम भएका छन् ।

  •  मानवजातिको लागि महत्त्वपूर्ण खोज

यी आविष्कारहरूले मानव जातिलाई ठुलो फाइदा हुने रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले बताएको छ । ‘वैज्ञानिकहरू अब एन्टिबायोटिक प्रतिरोधलाई अझ राम्ररी बुझ्न र इन्जाइमको छवि बनाउन सक्छन्, हामी अब प्रोटिन संरचनाहरूको सही भविष्यवाणी गर्न सक्छौँ र हाम्रो आफ्नै प्रोटिनहरू डिजाइन गर्न सक्छौँ, जसले मानवजातिको लागि ठुलो फाइदा हुनेछ । ’ एकेडेमीले एक प्रेस विज्ञप्तिमा भनेको छ । एकेडेमीले नोबेल शान्ति पुरस्कार शुक्रबार र अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अक्टोबर १४ मा घोषणा गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप