बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

तीन सातामा १०९१ स्थानमा अनुगमन, २३ लाखको सामान नष्ट

बुधबार, २३ असोज २०८१, १७ : ४०
बुधबार, २३ असोज २०८१

काठमाडौँ । तीन सातामा खाद्यको गुणस्तर जाँचसम्बन्धी झण्डै एघार सय अनुगमन भएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको नियमित तथा चाडपर्वलक्षित बजार अनुगमनमा १ हजार ९१ वटा उद्योग व्यवसायमा अनुगमन गरिएको हो ।

असोज १ गतेदेखि सुरु गरिएको अनुगमन मंगलबारसम्म चलेको थियो । यो अवधिमा ५ सय २४ वटा खाद्य बजार, २ सय ६९ वटा खाद्य उद्योग र २ सय ९८ वटा होटल तथा रेस्टुरेन्टको निरीक्षण अनुगमन गरिएको विभागले जनाएको छ ।

त्यस्तै, खाद्य स्वच्छता तथा गुणस्तरको अनुगमनका लागि यो अवधिमा १५७ वटा नमुना संकलन गरिएकोमा खाद्य स्वच्छता सर्भिलेन्सका लागि १५१ वटा नमुना संकलन गरिएको थियो । यो अवधिमा ३ सय ५६ वटा नमुना विश्लेषण गरिएकोमा ७ वटा नमुनाको विश्लेषण प्रतिकुल पाइएको विभागको भनाइ छ । यो क्रममा उपभोग्य मिति गुज्रिएका, लेबल नभएका र खाद्य अनुमतिपत्र नलिएका २३ लाख ९७ हजार रुपैयाँ मूल्य बराबरको खाद्य पदार्थ नष्ट गरिएको थियो ।

विभागले पछिल्लो साता मोबाइल खाद्य प्रयोगशाला भ्यान प्रयोग गरी बजार अनुगमन गरेको थियो । यो मोबाइल भ्यान प्रयोगमा आएसँगै प्रशोधित दूध, तेल, प्रशोधित पिउने पानी, घ्यू, पेय पदार्थ लगायत ९० वटा नमुनाको स्थलगत जाँच गरिएको विभागको भनाइ छ ।

  • सात खाद्य व्यवसायीमाथि कारबाही

यो अवधिमा ७ खाद्य व्यवसायी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको छ । ललितपुरको धापाखेलस्थित पचली भैरव पानी प्रशोधन उद्योग, धापासीस्थित सनराइज वेभेरेज, बानेश्वर एकता मार्गको अर्जुन डेरी, गोदावरीको प्रशंसा कलेक्शन एण्ड रिफाईन प्रसोधन केन्द्र, सिनामंगलको प्राप्ति फुड प्रोडक्ट्स लगायत छन् ।

पचली भैरव पानी प्रशोधन उद्योगमा प्रशोधित पिउने पानी उत्पादन मापदण्ड २०७४ बमोजिमका मापदण्ड र अभिलेख नपाइए उत्पादन रोक्का उद्योग सिलबन्दी गरिएको थियो ।

सनराइज वेभेरेज नेपालमा अनुमतिपत्र नवीकरण नभएको र अर्कै कम्पनीको जारमा पानी रिफिलिङ गर्ने गरेको भन्दै प्रशोधन कक्ष सिल गरी अनुमतिपत्र नवीकरण गर्न निर्देशन दिइएको थियो ।

अर्जुन डेरीमा ढुसी लागेको बटर, घ्यू र चिज बिक्री भएको भन्दै सिल गरिएको थियो । पछि स्थानीय जनप्रतिनिधिको रोहवरमा २४० किलोग्राम बटर, २५ किलोग्राम चीज र ४४ किलोगामा घ्यू नष्ट गरिएको  थियो ।

त्यस्तै, प्रशंसा कलेक्शन एण्ड रिफाइन प्रशोधन केन्द्रमा ९५ किलोग्राम नक्कली घ्यू शिलबन्दी गरी स्थानीय प्रतिनिधिको रोहबरमा नष्ट गरिएको विभागले जनाएको छ । प्राप्ति फुड प्रोडक्ट्स घ्यूको नमूना न्यून गुणस्तरको पाइएपछि ८० किलोग्राम घ्यू र ३० किलोग्राम नौनी नष्ट गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप