बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी महिला टी–२० विश्वकपमा आज

‘गर वा मर’ को स्थितिमा रहेका भारत र श्रीलंका आपसमा भिड्दै

बुधबार, २३ असोज २०८१, १७ : ३०
बुधबार, २३ असोज २०८१

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा बुधबार भारत र श्रीलंकाले आफ्नो तेस्रो खेल खेल्दैछन् । समूह ‘ए’ अन्तर्गतको खेल नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा भारतको तुलनामा श्रीलंका कमजोर देखिएको छ । भारतीय टोली यसअघि खेलिएको दुईमध्ये एक खेलमा विजयी र एक खेलमा पराजित भएको छ । आफ्नो पहिलो खेलमा भारतीय टोली न्युजिल्यान्डसँग ५८ रनले पराजित भएको थियो ।

आफ्नो दोस्रो खेलमा भने भारतीय टोलीले चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई ६ विकेटले हराएको थियो । श्रीलंकाली टोली भने आफ्नो दुवै खेलमा पराजित भएको छ । श्रीलंकाली टोली आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ३१ रनले र दोस्रो खेलमा अस्ट्रेलियासँग ६ विकेटले पराजित भएको थियो ।

समूह ‘ए’ तालिकामा सबै टोलीले दुई–दुई खेल खेलिसक्दा चार अङ्कसहित साबिक विजेता अस्ट्रेलिया पहिलो, दुई अङ्कसहित पाकिस्तान दोस्रो, दुई अङ्कसहित न्युजिल्यान्ड तेस्रो, दुई अङ्कसहित भारत चौथो र हालसम्म अङ्क बटुल्न नसकेको श्रीलंका पाँचौँ स्थानमा छन् ।

श्रीलंका र भारत दुवैले सन् २००९ मा सम्पन्न पहिलो संस्करणदेखि नै लगातार महिला टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । तर, यी दुवै टोलीले हालसम्म महिला विश्वकपको उपाधि भने जित्न सकेका छैनन् ।

भारतीय टोली एकपटक फाइनलमा पुगेको थियो । सन् २०२० मा सम्पन्न महिला विश्वकपको फाइनलमा भारतीय टोली अस्ट्रेलियासँग ८५ रनले पराजित भएको थियो । श्रीलंका भने हालसम्म फाइनलमा पनि पुग्न सकेको छैन ।

भारतीय टोली यसपटक हरमनप्रित कौरको कप्तानीमा रहेको छ । ३५ वर्षीया कौर टोलीकी अलराउन्डर खेलाडी हुन् । उनले देशका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेकी छन् । उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रियमा त शतक पनि बनाएकी छन् । उनी टोलीकी प्रभावशाली बलर पनि हुन् । स्मृति मन्धना टोलीकी उपकप्तान हुन् ।

यसैगरी, श्रीलंकाली टोली चामरी आथापाथुको कप्तानीमा रहेको छ । ३४ वर्षीय चामरी आथापाथु टोलीकी अनुभवी अलराउन्डर हुन् । उनले श्रीलंकाका लागि एकदिवसीय र टी–२० ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् । यी दुवै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा उनले शतक पनि बनाएकी छन् । यसका अतिरिक्त उनले दुवै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा विकेट पनि लिएकी छन् ।

महिला टी–२० विश्वकपको नवौँ संस्करणमा १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।

यसैगरी, समूह ‘बी’ मा बंगलादेश, इङ्ल्यान्ड, स्कटल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका छन् । समूहगत चरणको खेल अक्टोबर १५ तारिखसम्म चल्नेछ । त्यसपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल अक्टोबर १७ र दोस्रो सेमिफाइनल खेल अक्टोबर १८ तारिखमा खेलिने छ ।

सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग र समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा विजयी दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि अक्टोबर २० तारिखमा फाइनल खेल खेलिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप