बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

बाढीले त्रिपुरेश्वरस्थित विश्वनितेकन माविमा एक करोड बराबरको क्षति

बुधबार, २३ असोज २०८१, १५ : ३३
बुधबार, २३ असोज २०८१

काठमाडौँ । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयमा बाढीले एक करोड बराबरको क्षति पुर्‍याएको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको भारी वर्षासँगै आएको बाढीका कारण विद्यालयमा ठुलो क्षति पुगेको हो ।

भारी वर्षाका कारण बागमती नदीको बाढी विद्यालयमा पसेको प्रधानाध्यापक हेरम्बराज कँडेलले जानकारी दिए । बाढीका कारण भुईँतलामा रहेका ५० थान भन्दा बढी कम्प्युटर, फर्निचर, महत्त्वपूर्ण कागजात तथा शैक्षिक सामग्रीहरू नष्ट भएको प्रधानाध्यापक कँडेलले बताए ।

बाढीका कारण विद्यार्थी बोक्ने २ वटा स्कुल बस समेत बिग्रिएका छन् । दुवै बसको इन्जिनमा समस्या आएको छ । त्यस्तै ३० थान ल्यापटप समेत प्रयोग गर्नै नमिल्ने गरी बिग्रिएका छन् ।

भुइँतलामा बाढी पस्दा नर्सरीदेखि कक्षा ३ सम्मका सम्पूर्ण शैक्षिक सामग्रीहरू नष्ट भएका छन् । जसका कारण विद्यार्थीहरूलाई तिहारसम्मका लागि बिदा दिइएको छ । दसैँ बिदा सुरु हुनुअघि नै विद्यार्थीहरूलाई बिदा दिइएको हो ।

‘म आएको ३० वर्ष भयो । १०० वर्ष सम्ममा पनि त्यसरी बाढी पसेको थिएन रे । अहिले कसरी आयो हामी अचम्ममा परेका छौँ,’ कँडेलले भने ।

बाढीका कारण छात्राहरूका लागि किनेर राखिएका १५ बोरा सेनटरी प्याड समेत भिजेका छन् । भुइँतलमा रहेको स्टोरमा भएका सबै सामान भिजेर बिग्रिएको उनको भनाइ छ ।

काठमाडौँ महानगर पालिकासहित शिक्षक कर्मचारी तथा विभिन्न संघ संस्थाको सहयोगमा विद्यालयमा पसेको बाढी सफा गरिएको थियो । विद्यालयले क्षतिको यकिन विवरण सङ्कलन गरेर क्षतिपूर्तिका लागि सरकारलाई पठाइएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप