बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

बैंकमा ०.५ प्रतिशतसम्म सेयर भएकाहरू अब ठुला सेयरधनी

बुधबार, २३ असोज २०८१, १३ : ५२
बुधबार, २३ असोज २०८१

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको कुल सेयरको ०.५ प्रतिशतसम्म हिस्सा भएका व्यक्तिहरू अब ठुला सेयरधनीको रूपमा गणना हुने भएका छन् । राष्ट्र बैंकले यसअघिको एक प्रतिशतको सीमालाई आधा घटाएको हो । अब सो सीमाभन्दा धेरै सेयर धारण गर्ने सेयरधनीले ठुला सेयरधनीले जस्तै नियम पालना गर्नु पर्नेछ ।

यस अन्तर्गत त्यस्ता सेयरधनीले सम्बन्धित आफ्नै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने छैनन् । यद्यपि यस्ता सेयरधनीहरुलाई शत प्रतिशत नगद मार्जिनमा जमानत जारी गर्न, सम्बन्धित संस्थाले तोकेको सीमासम्मको क्रेडिट कार्ड सुविधा प्रदान गर्न, इजाजतपत्र प्राप्त संस्थाको आफ्नै मुद्दती रसिद तथा नेपाल सरकार र नेपाल राष्ट्र बैंक ऋणपत्रको धितोमा कर्जा प्रदान भने सकिने राष्ट्र बैकको निर्देशनमा उल्लेख गरिएको छ ।

यदि यस्तो सेयरधनी संस्था हो भने चाहिँ एक प्रतिशतसम्म सेयर भए पनि सम्बन्धित संस्थाबाट ऋण सुविधा प्राप्त गर्न सक्ने व्यवस्थालाई यथावत् राखिएको छ । निर्देशन अनुसार अब ०.५ प्रतिशत भन्दा धेरै सेयर होल्डिङ गरेको व्यक्तिको नाम अर्धवार्षिक रूपमा राष्ट्र बैंकको सुपरिवेक्षण विभागमा पठाउनुपर्ने व्यवस्था समेत गरिएको छ ।

आफैँले लगानी गरेको संस्थाबाट आफैँले ऋण सुविधा लिँदा स्वार्थ बाझिने भएकोले राष्ट्र बैंकले यस्तो सीमा कायम गर्दै आएको छ । प्रस्तावित बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको संशोधनमा त एक प्रतिशतभन्दा धेरै सेयर होल्डिङ गर्नेले कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप